बनेपा, जिल्ला सहकारी संघ लि. काभ्रेले जिल्लाका सञ्चारकर्मीहरूसँग सहकारी क्षेत्रका समस्या, सञ्चार क्षेत्रविच समन्वय र सहकार्यका साथै सहकारी क्षेत्रका समसामयिक बिषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा संघका अध्यक्ष अमन पोटे श्रेष्ठले सहकारी क्षेत्रमा आवश्यक सुधार र सुसाशनको लागि सञ्चार क्षेत्रले भूमिका खेल्न सक्ने बताउँदै काभ्रेली सञ्चार क्षेत्रसंग सहकार्य बढाएको बताए । संस्थाका गतिविधिलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सञ्चार क्षेत्र र सहकारीकर्मीबीच अनुभव आदानप्रदान, तालिम, असल शासनका अभ्यास विस्तार गर्ने बताए । संघका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले जिल्ला सहकारी संघका गतिविधि, हालसम्म भएका काम तथा आगामी कार्यक्रमका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । काभ्रे जिल्लामा ६४६ वटा सहकारी संस्था सञ्चालनमा रहेका र तीमध्ये ५८५ वटा सहकारी जिल्ला सहकारी संघमा आबद्ध रहेको श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले संघले हाल ऋण लगानी तथा बचतसम्बन्धी कार्य रोकिसकेको र सञ्चालनमा रहेका सेवा केन्द्रहरू पनि क्रमशः बन्द गर्दै लगिरहेको बताए ।
पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने, पूर्व अध्यक्ष ईश्वरी ओझा, महेश पौडेल, र मोतिराम तिमल्सिनालगायतले सम्बोधन गरेको कार्यक्रममा जिल्लामा कार्यरत सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । संघका वरिष्ठ उपाध्यक्ष शान्ति लामा वाइवाले स्वागत, सचिव प्रकाश बञ्जाराले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष अर्जुन सापकोटालगायत सञ्चालक र कर्मचारीहरुको सहभागिता रहेको थियो ।