नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले मातृभाषामा समेत लिने कुन भाषामा शपथ लिने हो त्यसबारे तीन दिन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने छ । यही चैत १२ मा हुने शपथलाई १० गते अगावै जानकारी दिनु पर्ने प्रावधान रहेको संसद् सचिवालयका सहसचिव एकराम गिरीले जानकारी दिए ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूमध्ये जेष्ठ सदस्यले चैत ११ गते नै राष्ट्रपतिसँग शपथ लिनेछन् । त्यसपछि उनै जेष्ठ सदस्यले बाँकी सदस्यहरूलाई शपथ खुवाउँछन् । शपथ सम्बन्धी ऐन २०७९ को दफा ५ मा शपथको भाषासम्बन्धी व्यवस्था छ । जहाँ ‘शपथ लिँदा वा शपथ गराउँदा सरकारी कामकाजको नेपाली भाषामा गरी कामकाजक लिनु वा गराउनु पर्नेछ ।’ भनिएको छ । साथै, कुनै सार्वजनिक पदधारण गर्ने व्यक्तिले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन सक्ने प्रावधान पनि सँगै छ । ‘त्यसरी मातृभाषामा शपथ लिने भएमा अनुसूचीमा उल्लिखित शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी त्यस्तो अनुवाद आफैंले प्रमाणित गरी शपथ गराउने पदाधिकारी समक्ष शपथ लिनु अगावै पेश गर्नु पर्नेछ’ दफा ५ को उपदफा २ मा भनिएको छ ।
सार्वजनिक पदधारण गरेको व्यक्तिले नेपाली भाषामा शपथ लिएकोमा सो शपथको दुई प्रतिमा र मातृभाषामा शपथ लिएकोमा सो मातृभाषाको शपथको समेत दुई प्रतिमा हस्ताक्षर गरी शपथ गराउने पदाधिकारी समक्ष पेश गर्नु पर्ने व्यवस्था पनि छ । शपथमा सांसदहरूले शपथमा पहिचान झल्किने पोशाक लगाउन पाउनेछन् । शपथसम्बन्धी ऐनको दफा ४ मा औपचारिक पोशाकमा उपस्थित हुनु पर्ने प्रावधान छ । जहाँ भनिएको छ, ‘सार्वजनिक पदधारण गर्ने व्यक्तिले शपथ लिँदा वा शपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनु पर्नेछ ।’