बनेपामा फागुन ६ गते टिपर आगजनीमा संलग्न १३ जना पक्राउ परेका छन् । बनेपा टेलिकम चोकमा टिपर जलाउने कार्यमा संलग्न काभ्रेका ११ सहित १३ युवालाई प्रहरीले पक्राउ गरि उनीहरुको नाम सार्वजनिक गरेको हो ।
बनेपाबाट साँगातर्फ गइरहेको बा.प्र.०१–००४ क ३४२३ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको बा.प्र.०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो । दुर्घटनामा स्कुटर चालक धुलिखेल नगरपालिका–५ का ३० वर्षिय ओमन प्रधानको मृत्यु भएपछि आक्राशित भिडले टिपरमा आगजनी गराएका थिए । साथै अनुसन्धानका लागि खटिएको प्रहरी टोलीमाथि ढुंगामुढा गरी अनुसन्धान कार्यमा अवरोध पनि गरेका थिए । सो टिपरमा आगजनी गरी क्षति पुर्याउने १३ जना पक्राउ परेका हुन् ।
उनीहरुलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट गत फागुन ६ गतेबाटै लागू हुने गरी दिन ७ को म्याद अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पक्राउ पर्नेमा विदुर बुढाथोकी, विकाश राय, श्याम मानन्धर, नवीन तामाङ, उमेश खत्री, सिजन श्रेष्ठ, सुदर्शन तिमिल्सिना, रामबहादुर माझी, रेनुशा मोक्तान, कविता रसाइली, सरोज पराजुली, रवि थापा र नगेन्द्र शाह छन ।








