बनेपा, काभ्रे जिल्लाको औद्योगिक व्यापार, परम्परागत कला संस्कृति, कृषि, घरेलु, पर्यटन प्रवद्र्धनको निमित्त महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा बनेपामा आयोजित तीज बनेपा महोत्सव २०८२ को सोमबार उद्घाटन गर्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादे श्रेष्ठले बनेपाको डुबान समस्या कम गर्न पहल गर्ने बताए ।
सुमांगल शान्तिनगर टोल विकास संस्था, बनेपा नगरपालिका–८, काभ्रेको आयोजनामा सोमबारदेखि भदौ २२ गतेसम्म इलाका प्रहरी कार्यालय अगाडि (सुमांगल शान्तिनगर टोल) मा शूरु भएको महोत्सवको उद्घाटन गर्दै मन्त्री बादेले मेला महोत्सव उत्पादनको प्रोत्साहन र संस्कृतिको सम्वर्दनमा महत्व पूर्ण हुने बताए । आयोजक संस्थाका अध्यक्ष दिलिप प्रधानको अध्यक्षता र सनम सुवालको सञ्चालमा भएको कार्यक्रममा बनेपा–८, का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, बनेपा–१०, का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य नवराज बजगाई, सञ्चारकर्मी पुजन धिताल, सुमांगल शान्ति नगर टोल विकास संस्थाका सचिव भरत तिमल्सिनालगायतले महोत्सव बारे बोलेका थिए ।
इलाका प्रहरी कार्यालय अगाडि (सुमांगल शान्तिनगर टोल) मां, भईरहेको महोत्सवमा १०० भन्दा बढी स्टलहरु दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडाहरु, खाद्यान्न, अटोमोबाइल, जुत्ताहरु, कषि तथा हस्तकलाका सामग्रीहरु, कृषि औजारका सामग्रीहरुको प्रदर्शनी, सांस्कृक्तिक, व्यापार तथा पर्यटकीय सामाग्रीहरुको स्टल रहेका छन । महोत्सवमा बालउद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, बाटर बल्व, मिकी माउस, टेम्पालिङ, स्करपियो आदि रहने व्यवस्थापन संस्थाका संगम लामाले जानकारी दिए । साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हास्यव्यङ्ग्य तथा गीत गायनको बेजोड प्रस्तुति प्रत्येक दिन रहने उनले जनाए । महोत्सवलाई व्यवस्थित बनाउन विद्यार्थीहरुका लागि रु.५० र सर्वसाधरणका लागि रु.७० प्रवेश शुल्कको व्यवस्था गरिएको छ । वृद्धवृद्धाहरुको लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।








