धुलिखेल, काभ्रेपलाञ्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको छ । आइतबार जिल्लाभरका १३ वटै स्थानीय तहमा पुर्ण खोप सुनिश्चितता प्रक्रिया पूरा भएपछि, जिल्लालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय काभ्रे, स्थानीय तह, विभिन्न संघ÷संस्था तथा समुदायको समन्वय, स्वामित्व, सहभागिता र स्थानीय स्रोतको भरपूर उपयोगमार्फत जिल्लाले यो उपलब्धि हासिल गरेको हो । स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता–पुर्ण खोप सुनिश्चित जिल्ला हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ यो अभियान शूरु गरिएको थियो । खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता राख्दै काभ्रेपलाञ्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना जिल्ला घोषणा गरिएकोे हो ।

बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ । स्वास्थ्य क्षेत्रमा सार्वजनिक पहुँच विस्तार, रोग नियन्त्रण तथा दीगो स्वास्थ्य प्रणाली निर्माणतर्फ यो कदम महत्वपूर्ण भएको छ ।

घोषणा समारोहमा सहभागीलाई स्वागत गर्दै जनस्वास्थ्य कार्यालय काभ्रेकी प्रमुख रागश्री कक्षपतिले जिल्लाको वस्तुगत अवस्था, प्रगति र समर्पणका पक्षहरू प्रस्तुत गर्नुभयो । घोषण समारोहलाई सम्बोधन गर्दै बाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र कुमार झाले बागमती प्रदेशमा तेस्रो जिल्लाका रूपमा काभ्रेलाई घोषणा गरिएका भन्दै अब बाँकी जिल्लाहरू पनि तयारी अवस्थामा राखेर प्रदेशस्तरीय घोषणा गर्ने लक्ष्यमा रहेको बताउनु भयो । उहाँले देशभर हाल १६ हजार खोप केन्द्रहरूमार्फत नियमित खोप सेवा सञ्चालन भइरहेको जानकारी दिँदै, खोपको खेर जाने दर घटाउन र सुनिश्चिततासँगै दिगोपनालाई कायम राख्न सबैमा अपिल गर्नुभयो ।
१३ वटै स्थानीय तहका खोप कार्यकर्ता, जनस्वास्थ्यकर्मीहरू तथा अन्य तीन जना स्वास्थ्य कर्मचारीलाई सम्मानसमेत गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम, निर्देशक डा. झा, जनप्रतिनिधिलगायतले बोलेका थिए ।