धुलिखेल, मोफसलको पत्रकारीतामा स्थापित नव क्षितिज साप्ताहिकको रजत वर्ष शुरु भएको । गत सोमबार २५औं वर्षमा प्रवेश गरेको अवसरमा धुलिखेलको फूलबारी स्थित दुसित थानी रिसोर्टमा रजत वर्ष शुभारम्भको भव्य समारोह आयोजना गरिएको थियो ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले डिजिटल ब्यानरको रिमोटद्धारा उद्घाटन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले गत असोज १० देखि १२ को अविरल वर्षापछिको बाढी र पहिरोले वी.पी राजमार्गमा पु¥याएको क्षति को स्मरण गर्दै प्रकृतिको बारेमा कलम चलाउन सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो । राजनीतिक इतिहासलाई ऐनाको रूपमा प्रस्तुत गर्न सञ्चारमाध्यमलाई अनुरोध गर्दै मुलुकमा गणतन्त्र प्राप्ति पछाडि स्थापित समावेशिताका कारण २५ हजार २ सय २८ जनाले समावेशी कोटामा निजामती सेवा प्रवेश गरेको तथ्य पढ्न पाउँदा आफूलाई खुसी लागेको उहाँले बताउनुभयो । सहिदका योगदानहरूबारे सञ्चारमाध्यमले कलम चलाउनुपर्ने भन्दै प्रथम राष्ट्रपति डा.रामवरण यादवले साप्ताहिक पत्रिकाहरूले देशको राजनीतिक, ऐतिहासिक र सामाजिक घटनाक्रमलाई गहिरो ढंगले विश्लेषण गर्दै तथ्यमा आधारित निष्पक्ष समाचार प्रकाशन गर्नुपर्ने आवश्यकता औंल्याउदै नव क्षितिजलाई सत्य, तथ्य र निष्पक्षतामा आधारित पत्रकारिताका लागि शुभकामना व्यक्त गर्नुभयो । पत्रकारिताले हिमाल, पहाड तराईको साझा समस्या बाहिर ल्याउन आवश्यक रहेको भन्दै उहाँले मानव सभ्यताको ऐतिहासिक विकासक्रमको बारेमा चासो दिनुपर्ने बताउनुभयो । चुरे, प्राकृतिक सम्पदाको संरक्षणमा चासो दिन आवश्यक छ । प्रकृतिको संरक्षणको बारेमा पत्रकारिताले ध्यान दिनु पर्छ । त्यस्तै स्वास्थ्यको समस्याको बारेमा पत्रकारिताले केही लेख्न सक्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
पत्रिका सञ्चालक संस्था काभ्रे नव क्षितिज प्रकाशन प्रालिका अध्यक्ष नवराज बजगाईंको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रममा पूर्व माननीय एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाई, प्रदेशसभा सदस्यहरू रत्न ढकाल, लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रेस सम्वद्ध संघ, संगठनका प्रतिनिधि, जिल्लाका सञ्चारकर्मीलगायत राजनीतिक दलका नेतागण, समाजका विभिन्न क्षेत्रमा सक्रिय विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।
सो अवसरमा नव क्षितिज साप्ताहिकको रजत लोगोको कोट पिन सार्वजनिक गरिनुका साथै रजत स्मारिका विमोचन र रजत गीतको भिडियो सार्वजनिक समेत गरिएको थियो । कार्यक्रममा पत्रिकाका स्तम्भकार प्रल्हाद दाहालको कृति ‘अनुभूतिको संगालो’ र दिपा गुरुङ ‘समभाव’ को कथा संग्रह ‘कथा काठमाडौँको समेत विमोचन गरिएको थियो ।
गायक रामहरी न्यौपाने र गायिका सरु गौतमको सञ्चालन, रविन्द्रनाथ सिग्देलको स्वागत मन्तब्य तथा अरबिन्द्र गौतमले धन्यवाद व्यक्त गरेको कार्यक्रममा पत्रिकामा संलग्न रहि विभिन्न कोणबाट समाजलाई योगदान पु¥याउँदै आएका रविन्द्रनाथ सिग्देल, दीपक राउत, अमृत अधिकारी, प्रल्हाद दाहाल र राजेन्द्र बजगाईंलाई सम्मान गरिएको थियो । त्यस्तै पत्रिकाका सह–सम्पादक अरविन्द्र गौतमलाई २५ हजार नगदसहित सम्मान गरिएको थियो ।