अहिले देशैभरको वायु प्रदूषित हुँदा आमनागरिकको दैनिकी असहज बन्दै गएको छ । वनमा लागेको डढेलो, कृषकहरुले खेतबारीमा सङ्कलन भएका झारपातमा लगाइने आगो, औद्योगिक धुवाँ, निर्माणबाट उड्ने धुलोलगायतले हावाको गुणस्तर बिगारेर प्रदूषण बढाइरहेको छ ।
अहिले देखिएको प्रदूषणले तत्कालीन रूपमा खोकी र श्वास फेर्ने समस्याबाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने तथा रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको बिज्ञले बताएका छन । विशेषगरी बालबालिका, वृद्धवृद्धामा मुटु र मिर्गौलाका रोगीलाई यो प्रदूषणबाट जोगाउनुपर्नेमा चिकित्सकको जोड छ । विशेषगरी, चैत–वैशाखमा अत्यधिक सुक्खा हुने भएकाले हावाहुरी चल्ने हुन्छ । जसका कारण धुलो–धुवाँ धेरै उड्छ । त्यसैले वायु प्रदूषणका कारण स्वास्थ्यमा विभिन्न जटिल समस्या देखिने गरेको पाइन्छ । सवारीसाधनको चाप र यसबाट निस्कने फोहोरले सहरी क्षेत्रका मानिसको स्वास्थ्यमा गम्भीर असर पु¥याएको छ ।
वायु प्रदूषणका कारण भाइरल इन्फेक्सन, निमोनिया, एलर्जी र रुघाखोकीजस्ता समस्या देखा परेको छ । अहिलेको समयमा श्वासप्रश्वास र दमका बिरामीको संख्यासमेत बढेको पाइन्छ । पहिलेदेखि फोक्समा समस्या भएका बिरामीलाई सिकिस्त बनाएको छ । दमका बिरामी प्रायलाई अस्पतालमा भर्ना गर्नुपरेको छ । धेरैलाई छाती कसिएको जस्तो हुने, सास फेर्न गाह्रो हुने, चाँडै रुघाखोकी लाग्ने, नाक बन्द हुनेजस्ता लक्षण देखा परेको छ । कतिपयलाई ज्वरो आउने, घाँटी दुुख्ने, खोकी लाग्ने, नाकबाट पानी बग्नेजस्ता लक्षण देखा परेको छ ।
त्यसैले अहिलेको अवस्थामा प्रदूषणबाट बच्नु सबैभन्दा बुद्धिमानी हो । त्यसैले धुलो–धुवाँबाट बच्न अनिवार्य रूपमा मास्क लगाएर हिँड्नुपर्छ । अफिसमा अनिवार्य मास्क लगाउने । परिवारमा कसैलाई रुघाकोखी लागेको छ भने उसको नजिक नजाने । संक्रमणबाट बच्न धेरै भिडभाडमा नजाने । बालबालिका र वृद्धवृद्धालाई झन् भिडभाडमा नलैजाने । खानपान र जीवनशैलीमा विशेष ध्यान दिने । आफूवरपरको वातावरण सधैँ सफा राख्ने । तीन–चार दिनसम्म ज्वरो आयो भने अस्पताल गएर चेक गराउने । डाक्टरको सल्लाहअनुसार औषधि सेवन गर्ने । पाकेको खकारमा रगत देखेमा तुरुन्त अस्पताल जाने । लगातार खोकी लागिरहनु राम्रो होइन । जसले छाती खराब गर्न सक्छ । तीन–चार दिनसम्म खोकी लागेमा अस्पताल गएर एक्सरे गरेर औषधि सेवन गर्ने ।