शिक्षा र ज्ञान मृत्यु नहुँदासम्म निरन्तर चलिरहने प्रक्रिया हो । यो कहिल्यै पनि पूर्ण हुँदैन र कहिल्यै बाँडेर पनि सकिँदैन । यो मर्नु अगाडि कसैलाई पूर्ण रुपमा हस्तान्तरण गरौंभन्दा पनि सबै मिल्दैन। बाँचुन्जेल कहिँ कसैलाई भाग लगाएर बाड्नु वा अंशमा दिनु पनि पर्दैन् । बाल्यावस्था नै मानव जीवनको सबैभन्दा महत्वपूर्ण र गम्भिर अवस्था हो । हरेक मानिसको गर्भावस्था देखि नै वंशाणुगत गुणहरू, शारीरिक, मानसिक र संवेगात्मक क्षमताको विकास शुरु भएको हुन्छ । मानव जिवनमा शिक्षा औपचारीक, अनौपचारीक र अनियमित रूपबाट प्राप्त भइरहेको हुन्छ । शिक्षा विभिन्न स्रोत र व्यक्तिहरूको माध्यमबाट प्राप्त हुन्छ । हरेक ब्यक्तिले शिक्षा प्राप्त गर्ने क्रममा शिक्षक, अभिभावक, समाजिक र पारिवारीक वातावरण लगायतको महत्वपूर्ण भूमिका रहन्छ । प्रत्येक मानवले बाल्यकालदेखि शैक्षिक यात्रामा हेरक पक्षको भूमिका फरक फरक र महत्वपूर्ण रूपबाट प्राप्त गर्दै आएको हुन्छ । सामान्यतया गर्भावस्थादेखि आठ वर्ष सम्मको उमेरमा शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकास भएको हुन्छ । त्यसैले आमाबाबुले यस उमेरका बालबालिकालाई विशेष ध्यान दिनु पर्दछ । यस उमेरसम्म बालबालिका विभिन्न व्यक्तिहरूको प्रभाव तथा सम्पर्कमा आएका हुन्छन् । उनीहरूले परिवारका सदस्यहरू, समाजका विभिन्न व्यक्तिहरू, नातेदारहरू, साथिभाइहरू र शिक्षकसँगको सम्पर्कमा रहेर उनीहरू प्रति एक प्रकारको धारणा बनाएका हुन्छन् । आफ्नो सम्पर्कमा आएका व्यक्तिहरूको विभिन्न भूमिकाबाट धैरे कुराहरू प्रत्यक्ष र अप्रत्यक्षरूपबाट सिकिरहेका हुन्छन् । विशेष गरि अभिभावक, शिक्षक र साथिहरूले उनीहरू माथि प्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन् । अभिभावक, शिक्षक र साथीहरूको भूमिका फरक फरक रहनुका साथै प्रभाव भने प्रत्यक्ष परेको हुन्छ ।
प्रारम्भिक बाल्यावस्था मानव जीवनको सबैभन्दा महत्वपूर्ण अवस्था हो । गर्भावस्थादेखि नै शिशु आफ्नो वंशाणुगत गुणहरू र क्षमताको विकास गर्न सक्षम हुन्छन् । उनीहरूले जन्मेदेखि नै इन्द्रियको अनुभवले सिक्न थाल्छन् । प्रारम्भिक बाल्यावस्थामा (गर्भावस्थादेखि आठ वर्षसम्म) बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकास हुन्छ । शिशु गर्भमा रहँदा, जन्म वा सुत्केरी अवस्था र शिशुको जन्मपछि बालबालिकाको उचित स्याहार र विकासको अवसर प्रदान गर्ने जिम्मेवारी अभिभावकहरूको हो । अभिभावक भन्नाले आमा बाबु, हजुरआमा हजुरबुबा, दाइदिदी र अन्य स्याहारकर्ताहरू हुन् । शिशु ÷बालबालिकाको पहिलो माया, सहारा, गुरु, संरक्षक, साथी उनको आमा बाबु नै हुन् । अभिभावक बिना शिशुको लालनपालन कठिन हुन्छ । उनीहरूले आफ्ना शिशुहरूलाई पालन पोषण, स्याहार सुसार, स्वास्थ्य, सरसफाई, सुरक्षा, उत्प्रेरणा, खेल, कुराकानी र स्नेहपूर्ण व्यवहारले बालबालिकाको वृद्धि विकासमा प्रत्यक्ष सहयोग पुच्याउँछन् । विशेषगरी, उनीहरूको भावना, संवेदनशीलता, आचरण, व्यवहार, स्वभाव, आत्मविश्वास, आत्मसम्मान, सिक्ने क्षमता, सामाजिक सम्बन्ध कायम गर्ने सीप विकासमा अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले भनिन्छ “बालबालिकाको पहिलो विद्यालय उनीहरूको घर“ नै हो । अभिभावक पहिलो शिक्षक हुन् । बालबालिकाको वर्तमान र भविष्य अभिभावकमा भर पर्दछ । उनीहरूको व्यवहार, सम्बन्ध र सहयोगमा बालबालिकाले आफ्नो सीप विकास गर्दछन् । यसर्थमा बालबालिकाको आवश्यकता (बालअधिकार) घरपरिवारमा आमाबाबुले माया, ममता, पालनपोषण, उत्प्रेरणा, सुरक्षा र संरक्षण गरेर पु¥याउने गर्दछन् । यसै सन्दर्भमा आफ्ना शिशु, बालबालिकाको शारीरिक वृद्धि, व्यवहार, मनोभावना, बौद्धिक विकास लगायत उमेर तथा क्षमता अनुसार सिकाइ गर्न उचित स्याहार गर्ने ज्ञान, सीप र दक्षता अभिवृद्धि गराउने अनौपचारिक शिक्षालाई अभिभावक शिक्षा भनिन्छ । विद्यालयले समय समयमा अभिभावक शिक्षा सञ्चलन गर्नु पर्दछ । यसले बालबालिकाहरू धेरै समय घरमा विताउने हुँदा अभिभावकको कर्तव्य के के हो भन्ने कुरा जानकारी गराउन सजिलो हुन्छ र बुझ्ने र बुझाउने अवसर प्राप्त भएको हुन्छ। शिक्षा विद्हरूको भनाइमा बालबालिकाहरू विद्यालय आउँदा कलम, कापि र झोला मात्र बोकेर आउँदैनन् ।उनीहरू घरको संस्कार र व्यवहारपनि बोकेर आउदछन् । बालबालिकाले विद्यालयमा गर्ने क्रियाकलाप तथा देखाउने व्यवहार शिक्षकले देखेर उक्त बालबालिकाको घरको आनीबानी, व्यवहार, संस्कार तथा चालचलन थाहा पाउन सक्दछन् । विद्यालय जानु अघि तीन वर्ष जति बालबालिका घरको परिवेश, रहनसहन,छरछिमेकका बालबालिकाहरूको सम्पर्कबाट धेरै कुरा जानिसकेका हुन्छन्। त्यसैले घरलाई पहिलो पाठशाला भनेको हो । यसर्थ आम अभिभाकले बालबच्चा कसरी हुर्काउने, हेरचाह गर्ने, कस्तो र कसरी बोल्ने, व्यवहार गर्ने, कस्ता कृयाकलाप गर्ने वा गराउने कुरामा धेरै ध्यान पु¥याउनु पर्दछ । वालबालिकाहरूले अभिभावकले भनेकोभन्दा पनि अरुले गरेको हेरेर धेरै कुराहरू जान्ने र सिक्ने गर्दछन् । पाँच वर्षसम्मका बालबालिकाहरूको शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक र सामाजिक विकास लगायतका प्रारम्भिक सिकाइ सीपको विकास हुने भएकाले अभिभावकले यो उमेरसम्म बालबालिकाहरूको विविध पक्षमा ख्याल गर्नुपर्दछ ।
जुन अभिभावकहरूले अभिभावक शिक्षा प्राप्त गरेका वा लिएका हुन्छन् उनीहरुलाई आफ्ना शिशु हुर्काउनु पूर्व ज्ञान र थप सीप जान्ने भएकाले आफ्ना शिशुलाई आत्मविश्वासका साथ लालनपालन गर्न सक्षम हुन्छन् । अभिभावक शिक्षा पाएका अभिभावकले बालबालिकालाई स्नेहपूर्ण व्यवहार गर्ने, कुराकानी गर्ने, सरसफाइमा ध्यान दिने, पोषण युक्त खाना खुवाउने, भेदभाव, सजाय, दुव्र्यवहार नगरेको विभिन्न अध्ययनले देखाएको छ । यस्ता अभिभावकले सबै (सवलाङ्ग वा दिव्याङ्ग) बालबालिकालाई विना भेदभाव माया, उत्प्रेरणा, स्वास्थ उपचार, पोषिलो खाना, सकारात्मक अनुशासन र सहयोग तथा प्रारम्भिक सिकाइमा उल्लेखनीय व्यवस्था र अवसर दिएको पाइएको छ । अभिभावक शिक्षा नलिएका वा प्राप्त नगरेका अभिभावकहरूमा बालबच्चा हुर्काउने क्रममा चिन्ता, डर, अन्यौलको वातावरण सिर्जना भएको अध्ययनले देखाएको छ । यस्ता अभिभावकबाट हुर्केका बालबालिकाहरू सानै उमेरदेखि डराउने, संकोच मान्ने, दण्ड सजाय, दुव्र्यवहार, असुरक्षाको कारणले पढाइमा ध्यान कम दिने, काममा रुचि नदेखाउने, एकान्त मनपराउने र यि यस्ता बालबालिका अलि भेदभावमा समेत हुर्कनु परेको देखिएको छ । यसकारण सबै आमाबाबु तथा अभिभावकले सम्भव भएसम्म अभिभावक शिक्षा लिँदा उत्तम हुन्छ । अभिभावक शिक्षा लिएका अभिभावकले बालबालिकाको मनोभावना बुझेर बालअनुकुल व्यवहार गर्न सक्षम हुन्छन् र उनीहरूलाई सहयोग पुग्दछ । घरपरिवारमै सस्तो, दिगो, सहज पहुँच हुने प्रारम्भिक बालविकास अभिभावकबाट नै सम्भव हुन्छ । राम्रो अभिभावकत्व प्राप्त गरेका बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक विकास पनि समान रूपले भएको हुन्छ । बालबालिकालाई आमाबाबु तथा अभिभावकले राम्रो पथ पर्दशन गरेमा र उनिहरूको चाहनालाई साथ दिएमा मात्र बालविकास सहि दिशामा र गतिमा अगाडी बढ्दछ । बालबालिकालाई आधारभूत सिकाइमा सहयोग गर्न र भावी शिक्षाको जग बनाउन बालबालिकाभन्दा जाने बुझेको वयस्क हुने भएकोले अभिभावक आवश्यक हुन्छ । आम सबै अभिभावकले बालबालिकालाई सिकाइको लागी आवश्यक पर्ने विविध सामग्री र अवसर उनीहरुको आवश्यकता अनुसार जुटाइदिनुपर्दछ ।
हामीले जसरी बोटविरुवा र सानो विरुलालाई शुरुदेखिनै राम्रो मलजल गरेमा स्वभाविकरूपले पछि त्यसको बृद्धि र विकास राम्रो हुन्छ र उक्त विरुवा रुखमा परिणत भएर राम्रो फल दिन शुरु गर्दछ । त्यसरी नै हामीले बालबालिकालाई राम्रो संस्कार र पथ प्रदर्शन गर्दै राम्रोसँग हेरचाह गरेमा भविष्यमा उनीहरूले राम्रो उन्नती प्रगति गर्नेकुरामा दुइमत हुन सक्दैन । राम्रो र प्रगति हुन अभिभावकको मात्र होइन शिक्षक र स्वयं वालबालिकाको पनि भूमिका उत्तिकै हुने गर्दछ। बालबालिकाको शैक्षिक विकासमा शिक्षकको अतुलनिय भूमिका र जिम्मेवारी रहेको हुन्छ । त्यो चरण भनेको पहिलो पाठशाला (घर) बाट जव कुनै बालबालिका स्वस्थ शरिर, मस्तिस्क र संवेग लिएर विद्यालय प्रवेश गर्दछन् । विद्यालय शिक्षामा शिक्षकको राम्रो, असल, सकारात्मक, उत्प्रेरणमूलक, उर्जामूखि निरन्तर शिक्षणले बालबालिकाको शैक्षिक विकासमा थप महत्वपूर्ण र गहन भूमिका रहेको हुन्छ ।
शिक्षक, अभिभावक र विद्यालय बिचको सम्बन्ध पनि राम्रो हुन उत्तिकै जरुरी छ । आजकल अभिभावकहरू विद्यालयमा गएर स–साना कुराहरूमा पनि प्रधानाध्यापक तथा शिक्षकहरूसँग गुनासो पोख्ने र आफ्ना बालबालिकालाई यसो भनिदिनु प¥यो, उसो भनिदिनु प¥यो भनेका हुन्छन् । आजभोलि बालबालिका अभिभावकले भनेको नमान्ने गर्दछ्न् । उनीहरु कपाल काट्न, नुहाउन, कपडा धुन, घरमा बसेर पढ्न त्यति धेरै मन नगर्ने हुन्छन् । उनीहरू यताउता गाँउमा धेरै हिड्ने, धेरै खेल्ने, मोबाइल चलाउने, अनावश्यक घरमा नभनी घुम्न जाने आदि गरिरहेका हुन्छन् । यसले के देखाउँदछ भने अभिभावकले आफ्नो बच्चालाई आफूले भनेको मान्ने बनाउन नसकेको देखिन्छ । यसो हुनु भनेको अभिभावकमा अभिभावक शिक्षाको कमी भएको हो । आफ्नो कमी कमजोरी सकभर अरूलाई देखाउनु हुन्न भन्ने सोच आम हामी सबैमा हुन्छ। तर त्यसो भने होइन । हामी सबैजना सबै कुरामा पोक्त हुँदैनौं । नजाने र नसुनेको कुरा अरुसँग सिक्दा र जान्दा केहि फरक पर्दैन । आम अभिभावकले मुख्य आफूले गर्नु पर्ने कुरा गरेर मात्र शिक्षक र विद्यालयलाई भन्ने गर्नुपर्छ । घरमा भने पुरै अस्त व्यस्त बन्ने अनि बच्चाले पढेन, मोवाइल धेरै हे¥यो, गृहकार्य गरेन, भनेको मानेन भनेर विद्यालयमा भनिरहँदा त्यसले कहिल्यै सहि समाधान निस्कन सक्दैन । आम अभिभावकले घरमा हेर्न नसक्ने भएपछि होस्टेलमा राख्ने गर्दछन् । आफ्नो बच्चालाई अरूको जिम्मा दिनुभनेको घरमा राम्रोसँग नहेरेको भन्ने बुझिन्छ । अभिभावक भएर गर्नुपर्ने काम, कर्तव्य, जिम्मेवारी र भूमिका सहज रूपबाट निर्वाह गर्न सकिएमा मात्र हामी राम्रो अभिभावक बन्न सकिन्छ । राम्रो अभिभावक हुनका लागि हामीले अभिभावक शिक्षा लिनु जरुरी हुन्छ । त्यसका लागि विद्यालयले राख्ने अभिभावक भेला, अभिमुखिकरण तथा अन्तरक्रिया र नतिजा प्रकाशन जस्ता कार्यक्रममा निरन्तर सहभागी हुनुपर्दछ । अभिभावक शिक्षा सम्बन्धि कितावहरू, लेखहरू पढ्नुपर्दछ । हाम्रो जिवनको अमुल्य धन सम्पत्ति जे भने पनि हाम्रा बालबालिका नै भएकाले जहाँ जसरी जे गरेर भए पनि आफ्ना बालबालिकालाई समय निकालेर उनीहरूको आवश्यक अनुसार रेखदेख गरि असल बनाउन लागिपर्नुपर्छ ।