बनेपा, आज वसन्त पञ्चमी अर्थात सरस्वती पुजा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास पनि रहेको छ ।
वसन्त पञ्चमीको अवसरमा विद्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । केहि विद्यालयहरुले नयाँ भर्नाहुन आउने बालबालिकाहरुलाई निःशुल्क भर्ना गर्ने समेत व्यवस्था गरेका छन् । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ । श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वाणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख गरिएको छ ।
माता सरस्वतीकी जन्मोत्सवलाई हामी सरस्वती पूजाको रुपमा मनाउने गर्छौं । विधि–विधानपूर्वक पूजा गर्नाले विद्या, वाणी र प्रसिद्धिको आर्शिवाद प्राप्त हुने विश्वास गरिन्छ । आज वसन्त ऋतुको आगमनको उपलक्ष्यमा वसन्त श्रवण गरिन्छ । वैदिक युगदेखि नै कामदेव र रतिको पूजा गरेर मनाउने गरिएको वसन्त पञ्चमी आधुनिक कालमा काठमाडौं हनुमान ढोकाको नासल चोकमा मनाइन्छ । यस दिनमा लक्ष्मी र विष्णुको पूजा गर्ने चलन रहेको छ । हिन्दुहरुमा १२ महिना १२ देवी देवताको पूजा गर्ने प्रचलन रहेको छ जसअनुसार मङ्सीरमा श्री, पौषमा लक्ष्मी, माघमा कमला, फागुनमा सम्पत, चैतमा पद्मा, वैशाखमा नारायणी, जेठमा धृति, आषाढमा स्मृति, श्रावणमा पुष्टि, भदौमा तुष्टि, आश्विनमा सिद्धि, कार्तिकमा क्षमाको पूजा गरिन्छ । यसबाट सौभाग्य, लक्ष्मी, विद्या प्राप्त हुने विश्वास गरिन्छ । भनिन्छ एकपटक सबै ऋतुहरुले ऋतुराज वसन्तलाइ ८–८ दिन सम्म भेट गरेका थिए र जसमा ४० दिन लागेको थियो । त्यसै कारणले वसन्त पञ्चमी चैत कृष्ण प्रतिपदामा नभइकन ४० दिनअघि माघ शुक्ल पञ्चमीमा मनाउन थालिएको परम्परा रहेको छ ।
हिन्दू धर्मावलम्वीहरु विद्याका देवी सरस्वतीको पूजा यसै दिनमा सम्पन्न गर्दछन् । सरस्वती शिवकी पुत्री र गणेश र कुमारकी बहिनी रहेकी छन् । सस्वतीको मन्दिरमा यस दिन दर्शनार्थीको भीड लाग्दछ । आजलाई बसन्त पञ्चमी पनि भनिन्छ । वसन्तको शाब्दिक अर्थ हो, मादकता । यस समयमा धर्तीमा उत्पादन क्षमता बढ्छ, रुख बुट्यानमा नयाँ पालुवा पलाउँछ । संस्कार, सभ्यता र संस्कृतिकी श्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्नेदेखि अन्य शुभकार्यहरू आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन । सरस्वतीको सेवाले व्यक्ति हरेक क्षेत्रमा सफल हुने मान्नेता समेत रहिआएको छ ।