गिरिगाउँ, बनेपा नगरपालिका वडा नम्बर २ गिरिगाउँमा रहेको सिद्धेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आयोजित स्वर्णिम श्रीमद् भागवत भक्ति सत्संग अनुष्ठान २०८१ जारी रहेको छ । माघ १८ गतेदेखि शुरु भएको अनुष्ठान माघ २५ गतेसम्म सञ्चालन हुने छ ।
जारी अनुष्ठानमा भक्तजनहरुको सहभागिता बढी रहेको संकल्पकर्ता मुमुक्षु उद्वव शर्माले बताउनु भयो । अनुष्ठानमा राष्ट्रिय विभुषित कथा व्यास नारीरत्न विदुषी आचार्य सुश्री अनुराधा देवीजीको मुखाराविन्दबाट कथा वाचन भैरहेको छ । वसन्त पञ्चमीको अवसर पारेर आध्यात्मिक चिन्तनद्वारा राष्ट्र शान्ति, लोक कल्याण समस्त जीवात्माहरुको सुख शान्ति एवं समस्त ज्ञात–अज्ञात आत्माहरुको मोक्ष प्राप्ति हेतु एवं जेष्ठ नागरिक दिवासेवा केन्द्र निर्माणका लागि सिद्धेश्वर महादेव मन्दिरमा महायज्ञ आयोजना गरिएको बनेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । उक्त मन्दिर पुनर्निर्माण र जेष्ठ नागरिक सेवा केन्द्र निर्माणका लागि करिब ५० लाख रुपैंयाँ लाग्ने मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष नकुल गिरिले बताउनुभयो । भक्तजनको सहयोगबाट उक्त मन्दिर र आश्रमको निर्माणका लागि रकम जुट्ने विश्वासका साथ महायज्ञ गर्न लागिएको उहाँको भनाइ थियो ।
पत्रकार सम्मेलनमा १०८ भागवत संकल्प अनुरुप मुमुक्षु उद्वव शर्मा हुमागाईंले बसन्त पञ्चमीको पावन अवसर पारेर उक्त स्थानमा जेष्ठ नागरिक दिवा सेवा केन्द्र र सिद्धेश्वर महादेव मन्दिरको पूर्वाधार विकासका लागि सप्ताहको आयोजना गरिएको बताउनुभयो ।