बनेपा, सोनाम ल्होछारको अवसरमा बनेपाको उग्रतिर्थेश्वर मन्दिर प्राङ्गणमा बुधबारदेखि शुरु भएको ‘सोनाम ल्होछार मेला तथा महोत्सव–२०८१’ जारी रहेको छ ।
बुधवार बागमती प्रदेशका संस्कृती पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यतामा उद्दघाटन भएको महोत्सवमा मन्त्री ठकुरीले यस्ता मेला तथा महोत्सवले लोप हुने अवस्थामा पुगेका कला संस्कृतीको जगेर्ना हुनुका साथै कृषि र पर्यटन क्षेत्रमा टेवा पुग्ने बताए । तामाङ जातीको उल्लेख्य बसोबास रहेको काभ्रे जिल्लामा सांस्कृतिकरूपमा संरक्षण, प्रचारप्रसार गर्ने र सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले आयोजना गरिएको मेलामा कृषि क्षेत्रको प्रवद्र्धन तथा आधुनिक कृषितर्फ किसानहरुलाई उजागर गराई स्थानीयस्तरमा तथा स्वदेशमै उत्पादित वस्तु र सेवाको विकास तथा बजार विस्तार गर्न, सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा प्रवद्र्धन गर्न र घरेलु, साना तथा मझौला उद्योगहरुले उत्पादन गरेका वस्तुको बजार प्रवद्र्धनमा टेवा पुर्याउने मेलाको मुख्य उद्देश्य रहेको संयोजक क्षेत्रबहादुर वाइबाले जानकारी बताए ।
मेलामा ग्रामिण क्षेत्रमा उत्पादन हुने हस्तकलाका सामग्रीहरु, सीपमुलक तालिम र तालिमबाट उत्पादित वस्तुको प्रवद्र्धन, लघु उद्यम प्रदर्शनी, अटो प्रदर्शनी, कृषि प्रदर्शनी, गार्मेन्टका उत्पादन, जुत्ता चप्पल, वैकल्पिक ऊर्जा, पर्यटन प्रवद्र्धन, गुणस्तरिय दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री तथा औजार लगायतका स्टलहरु रहेका छन् । साथै मेलामा सांस्कृतिक कार्यक्रम, हास्यव्यङ्ग्य, स्थानीय पहिचान झल्काउने झाँकी तथा जातीविशेषका नाच, पर्यटन क्षेत्रको विस्तृत जानकारी, स्थानीय खानाका विशेष परिकारहरु पनि विशेष आकर्षक रहेका छन् । यस्तै बाल उद्यानहरु, तामाङ समुदायका रहनसहन, भेषभुषा र खानाका परिकार तथा नृत्य मेलामा प्रस्तुत भैरहेका छन ।