नालाको ब्रम्ह्मा पार्कमा हरियालीले घेरिएको मनमोहक वातावरणमा भुइँमान्छे विशेष कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजनामा वर्तमान कविता समूह र शब्दाङ्कुर मासिकले सहकार्य गरेका थिए।

कार्यक्रमको शुभारम्भ सम्पूर्ण उपस्थित कविहरूले शब्दाङ्कुर मासिकको छोटा कविता विशेष अङ्क सार्वजनिक गर्दै गरिएको थियो। उद्घोषक कवि विश्व सिग्देलले आफू लगायत वर्तमान कविता समूहमा भएका साथीहरूको परिचय दिएर यस्ता साहित्यिक गतिविधिले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा थप कार्यक्रम आयोजना गर्ने योजना रहेको जानकारी दिएर कवितावाचन कार्यक्रम सुरु गरेका थिए ।

कार्यक्रमका प्रमुख वक्ता एवं शब्दाङ्कुर मासिकका प्रधान सम्पादक धीरकुमार श्रेष्ठले नेपाली साहित्यको उन्नयनमा यस्ता कार्यक्रमहरूको योगदान महत्त्वपूर्ण रहेको बताए। यो तेस्रो संस्करणको कार्यक्रमअन्तर्गत २६ जना कविहरूले कविता वाचन गरे। वाचन गर्ने कविहरूमा मोहन दुवाल, केशव सिलवाल, भीष्म उप्रेती, हरिहर तिमिल्सिना, पुरूषोत्तम बजगाईं, निर्मला श्रेष्ठ, प्रोल्लास सिन्धुलिय, अभय श्रेष्ठ, रामसुन्दर देउजा, सुमन संगम, शैलेन्द्र सकार, केशव ज्ञवाली, लक्ष्मी थापा, रमेशप्रसाद सागर, नवराज दाहाल, दियेशरत्न शाक्य, सन्तोष पौडेल, शारदा घिमिरे भैल, टेकेन्द्रराज चेम्जोङ, प्रमोद सारङ्ग, चन्द्रबहादुर लामा, छबि श्रेष्ठ, धीरकुमार श्रेष्ठ, विश्व सिग्देल, रमी प्रिया, र सञ्जय सुमन रहेका थिए।

कविताहरूमा विशेषतः भुइँमान्छेको संघर्ष, जीवनका चुनौतीहरू र उनीहरूको मौन आवाजलाई प्रकट गरिएको थियो। कविताहरूले गहिरो भावनात्मक प्रभाव छोड्दै समाजको यथार्थ चित्रण प्रस्तुत गरे। कार्यक्रमको अन्त्यमा आयोजकहरूले सहभागी कवि र दर्शकहरूलाई धन्यवाद ज्ञापन गरे।