बनेपा,जिल्लाका पनौती नगरपालिकाको नगरसभा र तेमाल गाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ ।
शुक्रबार र शनिबार सम्पन्न भएको पनौती नगरपालिकाको नगरसभामा पनौती नगरपालिकाकी उप–प्रमुख गिता बञ्जाराले अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । अर्धवार्षिक प्रतिवेदनमा एक विद्यालय एक नर्स कार्यक्रम सुरु भएको, विशेष सामाजिक सुरक्षा भत्ताको रकम वृद्धि भएको, सामुदायिक तथा संस्थागत विद्यालय र उच्च मावि कक्षा थप अनुमतीका लागि स्थलगत अनुगमन गरी अनुमती प्रदान गरीएको, न्यायिक समितिमा आएका २४ वटा विवाद मध्ये ६ वटा फछ्र्योट भएको र ३ वटा वडा तहमा मेलमिलाप गर्न पठाइएको, नगरपालिकाका १४८ योजनामा २९ वटा योजनाको सम्झौता सम्पन्न भएको, ११९ योजना सम्झौता हुन बाँकी, २ वटा योजना सम्पन्न भएको लगाएत प्रतिवेदनमा छ ।
नगरप्रमुख भिम न्यौपानेको सभा अध्यक्षतामा भएको सभामा नगरप्रमुख न्यौपानेले नगरपालिकाले दिर्घकालिन विकासलाई जोड दिएको बताउँदै जनताको तहबाट आएका जायज कार्य पुरा हुदै गएको र बाँकी रहेका कार्य पुरा गर्दै जाने बताएका थिए ।
सभामा न्यायिक समिति सदस्य मधुकृष्ण श्रेष्ठले मेलमिलाप कर्ताको थप नाम सुचिकृत सम्बन्धि प्रस्ताव पेश गरेका थिए । वडा नं. १ का वडा अध्यक्ष गुणनाथ सापकोटाले लामाटार–मानेदोभान र सुर्यविनायक ढाँडाचौर सुरुङमार्ग निर्माण गर्न नगरपालिकाले पहल गर्नुपर्ने बताए । वडा नम्वर २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले प्रस्ताव पेश गरेका छन् ।
वडा नम्वर ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानीले टिपरका कारण बाटो विग्रेको तथा राती सुत्न समेत नपाएको गुनासो गरे । वडा नम्वर ८ का वडा अध्यक्ष केशव बञ्जाराले वडामा पर्याप्त कर्मचारी नहुँदा काम गर्न अप्ठेरो परेको बताए । वडा नम्वर १२ का वडा अध्यक्ष इश्वरराज जंगमले भौतिक र सामाजिक विकासलाई नगरपालिकाले सँगसँगै लानुपर्ने बताएका थिए ।
त्यसैगरी तेमाल गाउँपालिकाको छैठौं गाउँसभा पनि सम्पन्न भएको छ । सभामा गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले अर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
अध्यक्ष सलाम सिं तामाङले विद्यार्थीसँग पालिका कार्यक्रम अन्तर्गत कक्षा १ देखी ५ सम्मका विद्यार्थीलाई स्टेशनरी सहयोग गरिएको, तेमाल अभियान, प्रतिभा पहिचान कार्यक्रम सञ्चालन भएको, सुरक्षित मातृत्व अन्तर्गत ४ पटक गर्भ जाँच गराउनेलाई प्रोत्साहन, सबै वडामा नियमित आमा समुह बैठक सञ्चालनको लागि खाजाको व्यवस्था, अपांग कार्ड वितरण लगायतका काम गाउँपालिकाले गरेको लगायतका अध्यक्ष तामाङले जानकारी दिए । वडा स्तरीय १३४ वटा योजनाहरुको सम्झौता भएको र ती मध्ये ८ वटा योजनाको भुक्तानी भइसकेको छ । पालिकास्तरीय ११ वटा योजनाहरुको सम्झौता भएकोमा २ वटा योजनाको भुक्तानी भएको छ । तेमाल गाउँपालिका प्रवेश गर्ने प्रमुख विन्दु कालिमाटीमा प्रवेशद्धार निर्माण सम्पन्न भएको छ ।
उपाध्यक्ष दुर्गामाया तामाङले सभामा गाउँपालिकाले पहिलो ६ महिनामा भएको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पुस २२ गतेसम्म १९ करोड ९२ लाख ६ हजार ३ सय ३० रुपैयाँ आम्दानी भएको छ । सामाजिक सुरक्षा तर्फ छुट्याइएको बजेट मध्ये हालसम्म २ करोड ५२ लाख ८४ हजार ४ सय खर्च भएको छ । –नव क्षितिज साप्ताहिकबाट