बनेपा,प्रदेश ३, प्रदेश सभाको हिजो बसेको बैठकले प्रदेशको नाम ‘बागमती’ र स्थायी राजधानी हेटौंडा कायम गरेको छ ।
बैठकले प्रदेशको नाम बागमती कायम गरियोस् भन्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो । नामाकरणबारे प्रदेशसभा बैठकमा एकमात्र प्रस्ताव परेको थियो । नेपाली काँग्रेस पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले उक्त प्रस्ताव पेश गरेका थिए । बानियाँले पेश गरेको प्रस्तावको पक्षमा १०८ मत परेको छ । प्रदेशसभामा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा १०८ सांसद उपस्थित रहेकामध्ये सबै सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
त्यसैगरी प्रदेश ३ को स्थायी राजधानी हेटौंडा कायम भएको छ । हिजो प्रदेश नं ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पारित गरेको हो । राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरे । ३ सांसदले भने हेटौंडा स्थायी राजधानी बनाउन नहुने पक्षमा मत जाहेर गरेका थिए ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो । त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।
त्यसै क्रममा साझा पार्टीका सांसद रमेश पौडेलले प्रदेश राजधानी काभ्रेपलाञ्चोकको धुलिखेल तोकियोस् भन्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सांसद पौडेलले फिर्ता नलिएपछि मत विभाजन हुँदा दुई तिहाइ बहुमतले अस्वीकृत भएको थियो । १०४ जनाले मतदानमा भाग लिएकोमा प्रस्तावको पक्षमा ३ र विपक्षमा १०१ मत परेको थियो । –नव क्षितिज साप्ताहिकबाट