बनेपा,सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक विध्यालयको गुणस्तर सुधार गर्न प्रधानाध्यापकसँग करार सम्झौता गर्नुपर्ने बताएका छन ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेपलाञ्चोकद्वारा आयोजित प्राध्यापक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्री र मन्त्री ले सचिवहरुसँग करार सम्झौता गरेझैं शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकसँग सम्बन्धित माथिल्लो निकायले करार सम्झौता गर्नुपर्ने बताएका हुन ।
१८ प्रतिशतको गरीबी पाँच वर्षभित्र १३ प्रतिशतमा झारिने बताउदै उनले नेपालको व्यापार घाटा घटाउन कृषिमा व्यापकरूपले आधुनिकीकरण गर्दै तीव्रता दिइने र अनुसन्धानतर्फ स्रोत र सीमालाई प्रवद्र्धन गर्दै लैजाने भन्दै मन्त्री बाँस्कोटाले शिक्षामार्फत श्रमलाई उत्पादनको सम्बन्धसँग जोडेपछि मात्रै राष्ट्रिय पूँजी निर्माण हुने बताए ।
भारतसँग रु १४ सय खर्बको व्यापारघाटा ब्यहोर्दै आएकोमा यस वर्ष पहिलो पटक रु एक खर्बको निर्यात हुन सफल हुने मन्त्री बाँस्कोटाको भनाई थियो । मन्त्री बाँस्कोटाले गुणस्तरीय शिक्षाभित्र ‘श्रमलाई सम्मान गर्नुपर्छ’ भन्ने चेतना दिन नसकेकामा दुख व्यक्त गर्दै सरकारलाई रोजगारीको अवसर सिर्जना गरेन भनेर आलोचना गर्ने संस्कार बसेको बताउँदै गरगहना, प्लम्बिङ, पुनः प्रयोग हुने सामग्री सङ्कलन, मेशिनरी मर्मत, कपडा डिजाइनका काममा नेपाली जनशक्ति लाग्नुपर्ने आवश्यकतो औँल्याए । मन्त्री बाँस्कोटाले शिक्षकले कर्तव्य र जिम्मेवारी पूरा नगर्दा ‘भ्रष्टाचार’ हुने बताउदै आर्थिक, सामाजिक, भौतिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा शैक्षिक अवस्था कहाँ पुग्यो भनेर त्यसको अध्ययनबाट शिक्षामा थप सुधार गर्न सकिने बताएका थिए । -नव क्षितिज साप्ताहिकबाट