चितवनमा आज भएका छुट्टाछुट्टै तीन दुर्घटनामा ३५ जना घाइते भएका छन् । चितवनको राप्ती नगरपालिका र इच्छाकामना गाँउपालिका स्थित राजमार्गमा सवारीसाधन आफै अनियन्त्रित भई दुर्घटनामा परेका हुन् । चितवनको इच्छाकामना गाँउपालिका ४ कुरिनटारमा चारवटा सवारीसाधन एक आपसमा ठोक्किदा दुर्घटना भएको छ ।

फिस्लिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ ज ८३२८ नम्वरको म्याजिक विपरित दिशावाट जाँदै गरेको बा २१ च ३०३९, बा ६ च ८३४५ नम्वरको स्कारपियो र ना १ ज ८००५ नम्वरको म्याजिक एक आपसमा ठक्कर खाएका हुन । सो दुर्घटनामा ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । घाइते सबै म्याजिकमा सवार थिए । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनिहरु सबैको अवस्था मध्यम छ । चारवटै सवारीसाधन र चालक प्रहरीको नियन्त्रणमा छन् ।

यस्तै इच्छाकामना ४ कुरिनटारमै गुडिरहेको बस अनियन्त्रित भई पल्टदाँ ११ जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारी अनुसार काठमाडौंबाट बुटबल जाँदै गरेको लु २ ख १५७९ नम्बरको बस आफै अनियन्त्रित भई पल्टेको हो । घाइतेको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहको छ । घाइते मध्य एक जनाको अवस्था गम्भिर र अन्यको अवस्था मध्यम र सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै चितवनको राप्ती नगरपालिका ६ हर्दीमा बस अनियन्त्रित भई पल्टदाँ १८ जना यात्रु घाइते भएका छन् । विरगन्जबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख ८४९० नम्बरको बस आफै अनियन्त्रित भई पल्टेको हो । दुर्घटनामा बसमा सबार २३ जना मध्य १८ जना घाइते भएका छन् । घाइतेमध्य १० जनाको पुरानो मेडिकल कलेज र ८ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसका चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा छन् ।