नेपाल डेरी एशोसिएसनले शुरु गरेको मोही अभियानले सार्थकता पाउँदै गएको छ । धेरै अघिबाट शुरु भएको मोही सेवन गराउने कार्यक्रमले गति लिंदै गरेकोमा नेपाल डेरी एशोसियसनका अध्यक्ष प्रल्हाद दाहालले खुशी व्यक्त गर्दै आफ्नो फेस बुकमा मोही अभियानलाई साथ दिनुहुने सबैलाई धन्यवाद दिंदै आफ्ना विशेष महोत्सवमा सबैलाई मोही राख्न आग्रह पनि गरेका छन् ।
शनिवार दशरथ रंगशालामा भएको “राइट टु प्रोटिन हाफ म्याराथन कार्यक्रम“ मा सबै म्याराथन धावकहरुलाई आयोजकले मोही सेवन गराइएको थियो । अत्यन्तै खुशी हुँदै आयोजक नेपाल भेटनरी एसोसिएसनको टिमलाई विशेष धन्यवाद दिंदै नेपाल डेरी एशोसियसनले शुरु गरेको मोही अभियानको प्रभाव बिस्तार शुरु भएको अध्यक्ष दाहालले बताए । नेपाल भेटनरी एसोसिएसनको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीलाई महि सेवन गराइएको हो ।
अहिले पनि नेपाल डेरी एसोसिएसनले प्रत्येक शनिवार दरबार मार्गमा रहेको ओरेण्ट क्याफेमा लाग्ने रैथाने कृषि उपजको बिक्री मेलामा ठेकीमा प्रत्यक्ष तुल्याई मेलामा आउने सबैलाई अभियानकै रुपमा मोही सेवन गराइने गरेको छ । नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियानले सार्थकता पाएको बताउँदै दाहालले मोहि सेवन गराउन र अभियानलाई साथ दिएकामा सबैलाई धन्यवाद दिंदै अब हुने सबै खाले कार्यक्रममा मोही अनिवार्य राख्न सबै नेपाल डेरी एसोसिएसन परिवारलाई विशेष आग्रह गरेका छन । –नव क्षितिज साप्ताहिकबाट








