नेपाल डेरी एसोसिएसनले खेलाडीको डाइटमा दुध तथा दुग्ध जन्य पदार्थ समावेश गर्नका लागि अनुरोध गरेको छ । एसोसिएसनले एक अनुरोध पत्र सार्वजनिक गर्दै खेलाडीको डाइटमा दुध तथा दुग्धजन्य पदार्थ समावेश गर्नका लागि आग्रह गरेको हो ।

अनुरोध पत्रमा खेलकुद मन्त्री, खेलकुद सचीव, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचीब, सबै प्रदेशका खेलकुद परिषद, सबै जिल्ला खेलकुद समितिका अध्यक्ष तथा सबै स्थानीय तहका शिक्षा तथा खेलकुद शाखालाई सम्बोधन गरेर सार्वजनिक गरिएको पत्रमा दुध एक मात्रै पूर्ण पौष्टिक आहार भएको भन्दै सबै समूहका व्यक्तिले सेवन गर्न मिल्ने भन्दै दुधलाई खेलाडीको डाइटमा पनि समावश गर्नका लागि आग्रह गरिएको छ ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल र महासचिव हेमचन्द्र खनालको हस्ताक्षर रहेको अनुरोध पत्रमा यस वर्ष दुग्ध क्षेत्रमा कहिल्यै नभोगेको नसुनेको ठूलो समस्या भोग्नु परेको र धेरै मात्रामा दुध स्टक रहेकाले खेलकुदका निकायले सहयोग गरेको खण्डमा व्यवसायीहरुलाई थोरै भए पनि सहज हुने बताइएको छ ।

सिजनको समयमा पनि दुध उपभोगका लागि माग कम भएकाले व्यवसायी र किसानहरुलाई समस्या भएको पत्रमा उल्लेख गरिएको छ । यस्तो अवस्था आउनुमा आर्थिक मन्दी, लम्पी स्किन रोग, शहरबाट मानिस विस्थापित, आर्थिक मन्दी आदि अनेकौं कारण भएको बताइएको छ । त्यस्तै होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस नचल्नाले पनि खपत कम हुन गएको छ । अर्को कुरा यहाँ दुधको मूल्य बढ्दा भारतको भन्दा केही महङ्गो भएर भारतको सीमाबाट नेपाल तिर दुध तथा दुग्ध पदार्थ आयात हुनु पनि अर्को कारण बनिरहेको छ । यी यावत कारणले गर्दा यहाँ खपत कम हुन गई मिल्क होलिडे रोक्न हाम्रो देशका डेरी उद्योगहरूले किसानको दुध निरन्तर खरिद गरी पाउडर दुध बनाएर राख्नु पर्ने बाध्यता बनेको बताइएको छ ।

एसोसिएसनले पाउडर बनाउँदा बटर पनि निस्कने हुँदा हाल डेरी उद्योगहरूमा बटर र धुलो दुध गरि ५ अर्ब रकम बराबरको स्टक भएर बसेको अवस्था छ । जसले गर्दा धेरै डेरी उद्योगहरूले किसानको भुक्तानी समयमै गर्न सकेका छैनन् । यस्तो अवस्थामा किसान र व्यवसायीहरुलाई निकै समस्या भएको पत्रमा भनिएको छ ।

“समयमा भुक्तानी नपाउँदा दैनिक जीवन अस्तव्यस्त हुनुका साथै गाई भैँसीलाई नियमित दाना पानीसमेत खुवाउन किसानलाई कठिन भएको छ । सामान स्टक भएर चालु पुँजी नभएका कारण डेरी उद्योगमा यस्तो आर्थिक समस्या भएको हो,’ पत्रमा भनिएको छ । त्यस्तै नेपालमा रहेका किसान र उद्योग बचाउनु हामी आम नेपाली सबैको कर्तव्य हो । त्यसैले सबै मिलि दुध तथा दुग्ध पदार्थ बढीभन्दा बढी खपत गर्ने र कतै जाँदा कोसेलीको रूपमा पनि दुध तथा दुग्ध पदार्थ नै लगी नेपालका किसान र उद्योग बचाउने अभियानमा साथ दिन आमजनसमुदाय सबैलाई एसोसिएसनले अनुरोध गरेको छ । साथै सहकारी लगायत अन्य संघ संस्थाको साधारणसभा लगायतका अन्य कार्यक्रममा आउने अतिथिलाई मायाको चिनो दिँदा पनि दुध तथा दुग्ध पदार्थ घिउ, पनिर, गुद्पाक, पुस्टकारी, छुर्पी, खुवा आदिको प्रयोग गरिदिन पनि एसोसिएसनले आग्रह गरेको छ ।

यसरी सबै नेपालीले कुनै पनि व्यवसायमा परेको समस्या हल गर्न एकअर्कामा साथ दिँदा यसले ठूलो टेवा पुग्नुको साथै यसले विशेष महत्व राख्ने विश्वास एसोसिएसनको छ ।