काठमाडौं विश्वविद्यालयको कानून सङ्काय अन्तर्गतको नेपाली कानूनी साहित्य समितिले सामाजिक प्रतिरक्षा समाज नेपाल (पिडिएस् नेपाल) सँगको सहकार्यमा बिहीबार काठमाडौं विश्वविद्यालयको सि भि रमन सभाकक्षमा सम्माननीय पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँगको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू अधिवक्ता हुँदाको समयदेखि नेपालको प्रधान न्यायाधीशजस्तो गरिमामय पदमा बहाल रहँदासम्मको कानूनी क्षेत्रको जीवनयात्रा आफूले भोगेका र सिकेका कुराहरुका बारेमा गहकिलो मन्तव्य व्यक्त गर्नुभएको थियो । न्यायिक शुद्धिकरणमा आफूले निर्वाह गरेको भूमिका र आफू सर्वोच्च अदालतको न्यायाधीशको रुपमा कार्यरत रहँदा आफ्नै नेतृत्वमा तयार पारेको प्रतिवेदनको बारेमा प्रकाश पारिरहँदा न्यायिक क्षेत्रमा विद्यमान समस्या, चुनौती एवम् समाधानका सन्दर्भमा पनि उल्लेख्य कुराहरु व्यक्त गर्नु भएको थियो । उहाँले हाम्रो कानूनमा भएका केही कमी कमजोरी माथि पनि प्रकाश पार्नु भएको थियो । उहाँले हाम्रो कानूनले न्यायाधीशलाई धेरै तजविजी अधिकार प्रदान गरेको छ जसका कारण न्याय सम्पादनमा एकरुपता नरहन सक्ने समस्याप्रति पनि ध्यानाकर्षण गराउनु भएको थियो ।
कानून विषय अध्ययनरत विद्यार्थीहरुको बाहुल्यता रहेको उक्त कार्यक्रममा पुस्तकका ठेलीबाट पनि उजागर नहुने जीवन उपयोगी व्यवहारिक शिक्षा प्रदान गरेर कानूनका विद्यार्थीको उदीयमान भविष्यको पानसमा ज्ञानको दियो प्रज्जवलित गर्न मद्दत गर्नुभएको थियो ।
समारोहमा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति र विश्वविद्यालयको स्कुल अफ ल का डिनको समेत गरिमामय उपस्थिति भएको थियो । –नव क्षितिज साप्ताहिकबाट