डिभिजन वन कार्यालय नुवाकोटले बेलकोटगढी नगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष डिल्लीराम सिलवाल, भृकुटी कटुवा मोटरबाटो निर्माण समितिका अध्यक्ष भरत सिलवाल र बिदुर नगरपालिका वडा नम्वर ५ का किसन चित्रकारलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पत्राचार गरेको छ ।
नुवाकोट जिल्ला अदालतले अनुसन्धानका लागि नियन्त्रणमा लिन आईतबार पक्राउ अनुमति दिएसंगै सोमबार प्रहरीलाई पत्राचार गरिएको डिभिजन वन कार्यालय नुवाकोटका अनुसन्धान अधिकृत मधुकुमार न्यौपानेले जानकारी दिए ।
नुवाकोट जिल्ला अदालतले आइतबार डिभिजन वन कार्यालयको हिरासतमा रहेका ट्रकका चालकहरू बेलकोटगढी नगरपालिका वडा नं. १२ का ४२ वर्षीय प्रवीण श्रेष्ठ र सोही स्थानका २६ वर्षीय वसन्तकुमार श्रेष्ठलाई दोस्रो पटक पाँच दिनको म्याद थप गरी अनुसन्धानको दायरामा आएका वडाध्यक्ष सिलवालसहित ३ जनालाई पक्राउ अनुमति दिएको थियो ।
बेलकोटगढी नगरपालिका वडा नम्वर १० बाट सदरमुकाम विदुरतर्फ लैजाँदै गर्दा मंगलवार साँझ प्रहरीले नियन्त्रणमा लिएको दुई ट्रक काठको अनुसन्धानको क्रममा लिलामी प्रकृयामा संलग्न वडाध्यक्ष सिलवाल, सडक निर्माण समितिका अध्यक्ष सिलवाल र काठ लिलाम सकार्ने चित्रकारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिने समेत अनुसन्धान अधिकृत न्यौपानेले बताए ।
यसअघि मंगलबार जिल्ला प्रहरी कार्यालय नुवाकोटले बा. ३ क. १४५२ र बा. ४ ख. ९४०७ नम्वरको दुई वटा मिनीट्रकमा एकसय ३० दशमलव ४० घनफिट बराबरको २५ गोलिया साल र ६ दशमलव ७७ घनफिट असना नामको ३ गोलिया काठ नियन्त्रणमा लिई डिभिजन वन कार्यालय नुवाकोटमा बुझाएको थियो ।
प्रतिबन्धित सालको काठ अधिकार नहुँदा नहुँदै लिलाम गरेको बेलकोटगढी नगरपालिकाको वडा नम्वर १२ ले काठ लिलाम बापतको रकममा समेत हिनामिना गरेको पाइएको छ ।
काठ लिलाम सकार्ने बिदुर नगरपालिका वडा नम्वर ५ का किसन चित्रकारसंग तीनलाख ७६ हजार बुझेर भरपाई समेत गरेपनि नगदी रसिदमा भने दुईलाख १७ हजार मात्र बुझेको उल्लेख गरेको छ ।
यस संबन्धमा जिज्ञासा राख्दा वडाध्यक्ष सिलवालले सडक निर्माणका क्रममा लडेपडेका रुखहरुको ब्यवस्थापनमा भएको खर्च उक्त रकमबाट ब्यहोरिएको बताएका छन् । नगर कार्यपालिकाको राजश्व खातामा जम्मा हुनुपर्ने रकम यसरी आफूखुशी खर्च गरिनु भ्रष्टाचारजन्य काम भएको नगरपालिका सम्बद्ध स्रोतले बताएको छ ।







