अलिक र्दुगमता भएको बिभिन्न सन्दर्भहरुमा त्यहाँका मानिसहरुले घुर्काउने सन्दर्भमा भन्ने गरेको सुनिने गरिएको थियो की–हामी त फलानो ठाउँका कर्णालीका मान्छे । त्यो के भनेको होला भन्ने लाग्ने गर्दथ्यो । त्यो त खास अर्थमा कर्णालीको विवशता नै रैछ र कर्णालीका नागरिकहरुले भोगिरहेको जीवनशैली प्रतिको प्रतिबिम्ब नै । देशको राजधानि काठामाडौंबाट ४ दिनकमो यात्रा तय गरेपछि मात्र पुग्न सकिने र छिचोलेर फर्कनु पर्दा त १ हप्ता गाडीमै बिताउनु पर्ने गन्तब्य रैछ कर्णाली ।
एउटा अवसर भनौं वा सन्दर्भ । पाँचखाल भ्याली संस्थागत विद्यालय अर्गनाइजेशन अर्थात भिसो ९एख्क्ष्क्इ० को नामले आफ्नो छुट्टै खालको पहिचान बनाउन सफल संस्था भित्र संगठित विद्यालयहरुको प्रिन्सिपल सरहरुको अध्ययन अवलोकन भ्रमणले कर्णालीको वास्तविकता सहितको चित्र सदैब मानशपटलमा झल्काइदिएको छ ।
समय पौष २४ गतेको थियो । मण्डनदेउपुर स्थित श्री न्यू लिटिल स्टर ईङ्गलिस स्कूल, मण्डनभ्याली एकेडेमी, विज्डम कम्यूनिटी स्कूल, नवप्रतिभा ईङ्गलिस स्कूल चण्डेनीमण्डन, पाँचखाल स्थित गोल्डेन फ्यूचर मा.वि., सरस्वती शिक्षा गृह, पाँचखाल भ्याली मा.वि., नव प्रतिभा मा.वि., नमस्ते ईङ्गलिस स्कूल, दिपशिखा ईङ्लिस स्कूल, नव जनहित ईङ्गलिस स्कूल, ध्रुवतारा ईङ्गलिस स्कूल र भुम्लु गाउँपािलकाको दोलालघाट स्थित बालज्योती ईङ्कलिस स्कुलका प्रिन्सिपल सरहरु कमल श्रेष्ठ, सुशिल सापकोटा, विशाल घिमिरे, टिकाराम रम्तेल, डि.बि. ऐडी, सरोज न्यौपाने, बद्रि आचार्य, रामप्रसाद कोइराला, यदुनाथ ढुंगाना, यादवप्रसाद बडाल र छबिरमण पराजुली सरहरु र पब्लिकेशनको तर्फबाट मदन ढुंगाना, लोकमणी सापकोटा र रामसुन्दर भट्टराईको साथै प्रतिभा स्टेशनरीका सुवास अधिकारी र कृति कम्प्युटरका निरन्जन अधिकारी सहितको टोली कर्णाली प्रदेश र खास गरी रारा ताललाई गन्तब्यको केन्द्र बनाएर अघि वढिरहेको थियो । यात्रामा यात्राको प्रमुख सारथीको रुपमा २ जना चालक दल जिम्मेवार रहेका थिए ।
यात्राको क्रममा रारा घुम्दा राम्ररी कर्णाली प्रदेश र त्यसमा पनि सुर्खेतको देउती बजै, बुलबुल ताल र काँक्रेहिाबर लगायतका ठाउँहरु नियाल्दा त मन झनै चङ्गा भैरहेको थियो । त्यस क्रममा काभ्रेपलाञ्चोक स्थित पाँचखालका सफल युवा व्यबसायी जयकृष्ण सापकोटाको सुर्खेत डेरीले त झनै मन छुन सफल भएको थियो । ६ हजार लिटरभन्दा वढी दुध संकलन गर्न सफल सापकोटाको रारा दुध कर्णालीमा मात्र नभएर देशभरी चलेको दुध भित्र पर्दो रहेछ । सुर्खेतको औद्योगिक क्षेत्रमा व्यवस्थित ढंगले दुग्ध व्यवसाय संचालन गर्न सफल उनको भनाइले त हामीलाई झनै आश्चर्य चकित तुल्याएको थियो । जमिन भएरपनि खेती नगर्ने, उत्पादित परालको वास्तै नगर्ने र गाई भैंसी पाल्दै नपाल्नुका साथै दुध र दुग्धजन्य पदार्थ सिंगो कर्णालीभरी नपाउने ठाउँको कायापलट गर्न सफल उनको व्यवसायिक सफलतको कथा त झनै रोमाञ्चक देखिन्थ्यो ।
त्यतिमा मात्र सिमित थिएन त्यो त सफलताको सिंगो कथा नै थियो । हाम्रो टोली जयकृष्ण दाइकोमा जाँदा र फर्कँदै २ पटक खाना खान समेत वाध्य हुन पुग्यो । दाइको त्यो सौहार्दतालाई स्वीकार गर्दै हामी उनको व्यवसाय, व्यवसायिक सफलताको जीवन र सिंगो कर्णालीको जीवन पढ्न सफल भयौं ।
पौष २४ गते प्रारम्भ भएर माघ १ गते बेलुकी १२ बजेसम्म चलेको कर्णाली यात्रा, यात्रा स्मरणका हिसाबले अविसमरणीय त छँदै छ । यसको छुट्टै खालको अध्ययन जीवनभर अमिट रहनेमा कुनै दुविदा छैन ।
पौष २४ गते वुटलवल बासबाट चलेको यात्राले बास बस्ने क्रममा २५ गते कर्णालीको राजधानी सुर्खेत, तेस्रो रात कालिकोटाको सदरमुकाम मान्मा बजार, चौंथो बासको रुपमा मुगुस्थित प्रकृति सुन्दरताले भरिपूर्ण रारा ताल स्थित रारा मुर्मो होमस्टेमा पुगेर एकसरो यात्राको अन्त्य हुन पुगेको थियो । यात्राको क्रममा सुर्खेतमा देखिएको बुलबुल ताल,
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मुगुको रारा तालको दृश्यावलोकन सहितको मनोरञ्जन सहित घोडचढी मार्फत फिर्ती यात्रा प्रारम्भ भएको यात्राको क्रम नाग्मा, जुम्ला बजार, जुम्लाको चन्दननाथ मन्दिर, चन्दनेश्वर बहुउद्देश्यीय सहकारी, जुम्लाको स्याउबाट वाइन बनाउने उद्योग, चन्दननाथ नमूना माध्यमिक विद्यालय, जुम्ला स्थित तातोपानी लगायतका ठाउँहरु घुम्दै फिर्ती यात्रा अगाडी वढेको थियो ।
जति र जसरी यि कुराहरुले मन छोएको र सफलताको पाठ पढाएको थियो त्योभन्दा वढी त खास अर्थमा कर्णालीको जीवनशैलीले मन छोएको थियो । खास गरी भन्नु पर्दा कर्णाली प्रदेश भौगोलिक हिसाबले असहज र बिकट त छँदै छ त्योभन्दा पनि उदेक लाग्ने त त्यहाँको वातावरण रैछ । छिनमै घाम लाग्ने त छिनमै पानी छिट्टयाउन थाल्नु र हिउँपरेपछि महिनौसम्म जाम भएर बस्नुपर्ने र डोजर मार्फत बाटो सफा गर्नु पर्ने कुरा सुन्दा त मन झै गह्रुङगो हुन पुगेको थियो ।
कर्णालीका प्रायः कुनैपनि पसलहरुमा दुध चिया पाउने कुरा संकटपूर्ण रैछ । ७ दिनमा चियाको त न्यास्रै लाग्यो । प्रायः मैलो कलरको कपडा लगाउने त्यहाँको विशेषता नै रैछ । चिसो मौसम भएरपनि कालो वर्णका मानिसहरुको उपस्थिति रहने कर्णाली प्रदेशलाई अर्को बिचित्रताको रुपमा नियाल्न सकिन्थ्यो । त्यसलाई सायद वातावरण र मानिसको रङसंग दाज्नेभन्दा पनि त्यहाको कष्टपूर्ण जीवनशैली हुनु पर्दछ भन्ने विश्वास गर्न सकिन्थ्यो । खास गरी कर्णाली नदी र तिला नदीको आसपाशको बाटो पर्ने कर्णाली भौगोलिकताको हिसाबले साँच्चै दूर्गम मात्र नभएर त्यहाँको जीवनशैली कष्टकर नै देख्न सकिन्छ । धेरै दाउरा थुपार्न सक्ने घर परिवारलाई धनी मान्ने, युवा उमेर समूहका मानिस देख्नै नपाइने, मुहारमा चमक नभएका मानिसहरुको बाहुल्य उपस्थिति देखिंदापनि बोलिमा मिठास भएका र सहयोगी मनका धनी मानिसहरु देख्दा भने असाध्यै खुसि महसुश गर्न सकिन्थ्यो ।
सडकको माथी डरलाग्दो तारे भीर, बाटोमुनी कहाली लाग्दो दृश्य र त्यसभन्दा तलको कतै कर्णाली त कतै तिला नदी, यो सब देख्दा लाग्दथ्यो देश जान्न र दूर्गम भेगका मानिसहरुको जीवनशैली बुझ्न एक पटक कर्णाली त सबैले पुग्नै पर्छ । सिधा साधा मानिसहरु, जुम्ला बेहेक प्रायः खेतीयोग्य जमिन देख्नै नपाउने ठाउँहरु, स–साना झुपडी घरहरु, प्लाष्टिक राखेर माटोको ढलानजस्तो देखिने घरहरु कर्णालीको विशेषता नै रैछ । कतै केहि जमिन देखिएको ठाउँमा पनि पानी जमेर टल्ल टल्किएका बरफयुक्त हिंउँहरु देख्दा एक मनले खुसी सोच्न सकिन्थ्यो भने अर्कोतर्फ कारुणिक दृश्यको रुपमा चित्रित गर्नपनि । ४ महिनासम्म हिंउले ढाक्ने जमिनहरुमा बल्ल तल्ल लगाएको खेतीले मुस्किलले ६–८ महिना खान पुग्ने भएकोले त्यहाका प्रौढ उमेर समूहका मानिहरु एकाद देशभित्रकै सुर्खेत, कोहलपुर, नेपालगञ्ज लगायतका ठाउँहरुमा त धेरै भारतका बिभिन्न ठाउँहरुमा गई ज्याला मज्दूरी गरी जहान पाल्न विशव हुनु पर्ने वास्तविक कुरा सुन्दा मन झनै भारी हुँदो रैछ ।
हुन त मौसम पुस मसान्तको भएरपनि होला, रारा पुगेर हिंउ परेको खण्डमा महिनौंसम्म गाडी त्यहिं रोकिने गरेको, बसको ट्यांकीमा आगोले तताएर पेट्रोलियम पदार्थ तताएपछि मात्र गाडी गुडाउन सकिने जस्ता डर लाग्दा कुराहरु सुन्दा त मन झनै भारी हुन्थ्यो । भोली फर्कनै पर्ने हामीहरु कतै राराको हिउँमा महिनौं अडेकिने त हैनौं भन्दै रात बिताइरहेका थियौं । यसरी कतै खुसी त कतै भारी मनका साथ १ हप्ते कर्णाली प्रदेशको भ्रमणले हामी, हाम्रो टीम मात्र नभएर हामी निकट समुदाय, विद्यालय जस्ता थुप्रै ठाउँहरुमा कर्णाली र कर्णालीको जीवनशैलीको चित्रण र त्यहाँको पाठबाट धेरै कुरा सिकेर अगाडी वढ्न पर्छ भन्ने निचोडका साथ हामी जय कर्णाली, जय त्यहाँको जीवनशैली भन्दै हाम्रो एक हप्ते कर्णाली यात्राको समापन गर्न सफल भयौं ।