हाम्रो देशमा बेला बेला सुनिने समाचारले हामी सबैलाई अचम्मित बनाउँछ । नेपालमा नौ महिनामा झन्डै चार करोड रुपैयाँबराबरको मोही आयात, करोडौंको जनै, गुन्द्रुक, सालको पातको टपरी जस्ता हाम्रो आफ्नो देशको मौलिक उत्पादन यसरी आयात भएको देखिन्छ । यी त एउटा दुइटा उदाहरण मात्र हुन् । नेपालमा उत्पादन हुने सबैजसो कृषिजन्य पदार्थ ठूलो मात्रामा भारतबाट आयात हुने गर्छन् । नेपाल कृषिप्रधान देश भएर पनि बर्सेनि अर्बौं रुपैयाँको खाद्यान्न आयात हुन्छ । नेपालमा खाद्यान्न उत्पादन नहुने पनि होइन । तर, त्यसले बजार भने पाउन सकेको छैन । नेपालमा उत्पादन हुने खाद्यान्न भारतको तुलनामा महँगो हुँदा बजार पाउन सक्दैनन् । यस कारणले गर्दा पनि कृषि क्षेत्रमा लाग्नेहरूलाई निरुत्साहित बनाएको छ । सरकारले कृषिमा लगानी नगरेको पनि होइन, तर गरेको लगानी भने असली कृषकको हातमा कहिल्यै पर्न सकेन । दिएका सहुलियत जति उत्पादनमा नभएर जग्गामा लगानी हुँदा त्यसले नतिजा दिन सकिरहेको छैन । नेपालमा कृषिक्षेत्रको सम्भावना, चुनौती र अवसरका बारेमा कृषि उद्यमीहरूसँग सरकारले खासै चासो दिएर छलफल गरेको देखिंदैन ।

सबैभन्दा पहिला कृषिप्रतिको सोच परिवर्तन गर्नुपर्ने देखिन्छ। कृषि पेशा भनेपछि गरिब मानिसले गर्ने पेशा हो भन्ने धेरै मानिसको सोच छ । तर अन्य पेशा शिक्षा, स्वास्थ्य, पर्यटन जस्तै कृषि पनि एक उत्कृष्ट व्यावसायिक आर्थिक क्षेत्र हो भन्ने कुरा थाहा हुँदाहुँदै पनि कृषि पेशालाई कहिल्यै सम्मानजनक पेशाको रुपमा हेरिएन । स्वास्थ्य क्षेत्रमा जसरी डाक्टर, नर्स, हस्पिटल, शिक्षण संस्थाहरू जोडिएका हुन्छन्, कृषि पेशामा पनि विभिन्न क्षेत्रका मानिसलाई समेट्न सकिन्छ । त्यस प्रति कहिल्यै कसैको ध्यान जान सकेको छैन। कृषिमा बजारको कुरा गर्न सकिन्छ । कृषिमा इन्जिनियर, लेखा आदि सबै जसो विषय अध्ययन गरेका व्यक्तिहरूलाई जोड्न सकिन्छ । कृषिलाई रोजगारीको क्षेत्रका रूपमा लिने वातावरण तयार गर्न सकिन्छ । यो क्षेत्रमा पत्रकारसम्मले पनि राम्रो स्थान सक्छन् । यसभित्र रहेका सबै कुरालाई समेटेर अगाडि बढ्दा राम्रो गर्न सकिन्छ । उपल्लो तहका नीति बनाउने ब्यक्तिले कृषि क्षेत्रलाई आर्थिक क्षेत्रको रूपमा स्थापित गराउन भूमिका खेल्नु पर्ने हुन्छ ।

नेपालमा कुन उत्पादन कति आवश्यक छ र कति उत्पादन गर्नुपर्छ भन्ने कुरा नै थाहा छैन । यति धान आयात भयो, यति तरकारी र फलफूल आयात भयो भनेको समाचार पढिन्छ । तर यी वस्तुहरूलाई नेपालमा कसरी उत्पादन गर्ने, कुन वस्तुको बजार राम्रो छ भनेर कसैले कहिल्यै अध्ययन गरेको देखिन्न । यसको अध्ययन गर्ने हो भने थुप्रै अवसरहरू सिर्जना हुन सक्छन् । त्यस कारण पनि विभिन्न क्षेत्रका मानिसहरू कृषिमा आउनुपर्छ र यसको बारेमा बुझ्न आवश्यक छ । कृषिमा लगानी धेरै चाहिन्छ । सरकारले कनिका छरेजस्तो गरेर कृषिमा लगानी गरेको छ । तर यसले केही मात्रामा राम्रो गरे पनि खासै राम्रो हुन सकेको छैन । अझै पनि उद्योगको रुपमा कृषि क्षेत्र अगाडि बढ्न सकेको छैन । आउन सक्ने हो भने त्यसले लगानी सुरु हुन्छ । अन्य क्षेत्रमा दुई–तीन वर्षमा प्रतिफल आउँछ भने कृषि क्षेत्रमा पाँच
वर्षभन्दा बढि लाग्न सक्छ । तर हरेक देशको लागि कृषि क्षेत्र एक महत्त्वपूर्ण क्षेत्र हो । तर हामीले हाम्रो देशमा महत्व बुझ्न सकेनौं ।

हाम्रो देशमा उत्पादन भएका बन्दा, काँक्रो, अन्य फलफूल, तरकारी बिक्री नभएको कुरा सुनिन्छ । आयातित सबै बस्तुले हाम्रो बजार डम्माडोल पारेको छ । तरकारीलाई कोल्ड च्याम्बरमा राखेर लामो समयसम्म सुरक्षित गर्न सकिन्छ । तर त्यस्ता कुरामा त हामीहरूले लगानी नै गर्न सकेका छैनौँ । कृषिमा तरकारी नै उत्पादन गर्नुपर्छ भन्ने पनि छैन । नेपालमा राम्रो हावापानी छ र मौसम अनुसारको फरक फरक उत्पादन गर्न सकिन्छ । यहाँ राम्रो फलफूल, तरकारी उत्पादन गरेर भारतमा निर्यात गर्न सकिन्छ । अनि विभिन्न तह र तप्काका मानिसलाई कृषि क्षेत्र भित्र जोड्न सकिन्छ । फरक क्षेत्रका फरक ब्यक्तिहरुलाई यो पेशामा जोडि अगाडि बढाउन सकिन्छ । अब हामीले कृषि पेशालाई सम्मानित पेशाको रुपमा चिनाउन सक्नु पर्छ । अब अलि फरक तरिकाबाट सोच्नु पर्ने बेला आएकोछ । कृषि उत्पादन बढाउने कुरा माटोसँग सम्बन्धित छ । लगाएको बालीलाई मलखादहरू कसरी दिन्छौं ? पानी कसरी लगाउँछौँ ? भन्ने कुराले पनि उत्पादनमा धेरै फरक पार्छ । कृषि उत्पादन नबढ्नुमा यो पनि प्रमुख कारण हो । त्यसैले अब उपलब्ध प्राविधिकहरूलाई साथमा लिएर उनीहरुबाट उपलब्ध सुझावका आधारमा काम गर्ने हो भने उत्पादकत्व बढ्छ । किनकि उनीहरूले त्यसपछाडिको विज्ञान बुझेका हुन्छन् । नेपालको सन्दर्भमा धेरैजसो भूभाग भिरालो छ । एक वर्ष राम्रो माटो बनाए पनि त्यसलाई वर्खामा बगाएर लैजान्छ । त्यो बचाउनका लागि कि त स्ट्रक्चरिङ माटो तयार गर्नुप–यो, हैन भने एक फिट खनेर त्यहाँको माटो माथि राखिदिएर पनि बचाउन सकिन्छ । त्यसो गर्न सकियो भने कृषि उत्पादनलाई बढाउन सकिन्छ ।
तर, नेपालमा कृषि क्षेत्रमा लाग्ने मानिसलाई प्रोत्साहन नै गरिएको देखिँदैन । अन्य खालका विभिन्न बिजनेस अवार्डहरू धेरै सुनिन्छन् , तर, राष्ट्रपति कृषक अवार्डबाहेक अन्य कुनै अवार्डहरू कृषिसँग जोडिएका छैनन् । अन्य पेशाका उद्यमीहरूलाई मिडियाले पनि राम्रो स्थान दिएको हुन्छ। । कृषि पेशालाई कसैले पनि वास्ता गर्दैनन् । त्यस कारणले पनि मानिसहरू कृषि पेसामा आउन रुचाउँदैनन् । यो छुट्टै क्षेत्र हो । यहाँ सबै मानिस अट्छन् भनेर बुझाउन सक्यौँ भने यो एउटा व्यवसायको रूपमा विकास हुन्छ र देशको पनि उन्नति भइ भविष्य राम्रो हुनेछ ।
हाम्रो देशमा फलफूल पनि राम्रो उत्पादन हुन्छ । तर यसमा पनि हामीहरू भर्खर सुरुवाति अवस्थामै छौँ । राज्यले एकदमै यसलाई मात्र समय र लगानी लगाएर मेहनत गरेर लाग्यो भने पनि आत्मनिर्भर हुन अझै पाँच–सात वर्षसम्म लाग्न सक्छ। कृषिमा तत्कालै केही गर्न सकिन्छ भने त्यो चाहिँ तरकारी मात्र हो । जैविक, अजैविक फ्याक्टरहरू मिलेर नै कृषि उत्पादन हुने गर्छ । अहिलेको अवस्थामा नेपाली उत्पादकहरूलाई बजारको एकदमै ठूलो समस्या छ ।
आज नेपालमा उत्पादन हुँदाहुँदै पनि भारतबाट अत्यधिक मात्रामा तरकारी आयात हुन्छ । हाम्रो बारीमा उत्पादन भएको तरकारी र फलफुल बिक्री नभएर बाहिरबाट सस्तोमा आउँछ र यहाँको उत्पादनले बजार नपाएर बारी मै कुहिएर जान्छ । आज कुनै पनि कृषकले लागत अनुसारको मूल्य पाइराखेका छैनन् भन्ने कुरा त छोडौं उल्टो घाटा सहन बाध्य छन् । अब यसरी किन र केका लागि किसान आफू नोक्सानी सहेर काम गर्नु भन्ने प्रश्न उठ्न थालेकोछ । त्यसले देशका आम किसानलाई निरुत्साहन गरेको अवस्था छ । तर पनि पछिल्लो समय कृषिमा युवाहरूको आकर्षण भने केहि बढेको छ । अन्यथा सबैले यो त बाउबाजेले धानेको पेसा हो भन्ने सोचाई रहेको छ । अहिले खाडीमा गएर पसिना बगाउने कृषकले त्यसको महत्व बुझेर नेपाल फर्कि कृषि नै गर्ने भनेर लागेका युवा धेरै नै छन् । तर, लाग्दालाग्दै पनि उनीहरू उत्साहित भए जस्तो लाग्दैन । त्यसैले यदि सरकारले दृढताका साथ अगाडि बढी जिम्मेवारी देखाउने हो भने थुप्रै राम्रा काम हुन सक्छ। यदि सरकारले सकारात्मक सोच राखेर देखाउने हो भने तत्कालै ३०÷४० अर्बको आयातलाई प्रतिस्थापन गर्न सक्छौँ । यसका लागि राज्यले व्यापक रूपमा काम गर्नुपर्छ । राज्यले बजारमा हस्तक्षेप गर्न सक्नुपर्छ । भारतबाट सयौँ ट्रक खाद्यान्न आयात हुने हो भने अहिले कृषिमा लागिरहेका मानिसहरू पनि विस्थापित हुन्छन् । भारतमा बिघामा खेती गरि प्रविधि मैत्री पनि हुन्छ । उनीहरूको प्रविधि हाम्रोभन्दा धेरै राम्रो छ । तर, हामीहरूसँग प्रविधि छैन । हामी हाम्रो परम्परा, पुरानो तरिकाले खेती गरिरहेका छौं र उनीहरुसँग प्रतिस्पर्धा गर्न गार्हो छ । तर अब सधैं यसो भनेर हुँदैन । हामी पनि समयमै लागेर अब अगाडि बढ्नुपर्छ ।

हामी कहाँ उत्पादन भएता पनि बीउ भारतबाट नै आयात गर्नुपर्ने हुन्छ । अर्को कुरा हामीसँग ज्ञानको पनि कमी छ । परम्परागत प्रणालीमा नै खेती गरिन्छ । अहिलेको खेती भनेको हाइब्रिडको खेती हो । त्यसको बीउ पनि सबै बाहिरबाट आयात गर्नुपर्ने हुन्छ, जुन हाम्रो देशमा बनाउन सम्भव छैन । भारतले समेत युरोपबाट खरिद गर्छ ।
त्यस्तै हाम्रो देशमा जग्गा नै थोरै छ। डाँडाकाँडामा खेती गर्न पानीको अभाव छ । अन्नको कुरा तराईमा नै हुने हो । अब त्यहाँ पनि खेती गर्न कम हुन थाल्यो । बाह्रै महिना राज्यले सिँचाइको प्रवद्र्धन गर्ने हो भने हामीहरू खाद्यान्नमा पनि आत्मनिर्भर हुन सक्छौँ जस्तो लाग्छ । हामीहरूसँग समयमा रासायनिक मल, बीउ , औषधि आदिको उपलब्धता समयमा छैन । विश्वका जुनकुनै देशमा हेर्ने हो भने पनि सरकारको सहुलियतबिना कृषिमा नाफा कमाउन सकिँदैन । नेपालमा खाडी मुलुक गएका नेपालीले पसिना बगाएर रेमिट्यान्स पठाउँछन्, त्यसैले भारतबाट किनेर खाइरहेका छौँ । भोलिका दिनमा भारतमा संकट आउने र उसले नेपालमा खाद्यान्न नपठाउने हो भने हामीहरूसँग कुनै विकल्प नै हुँदैन । जब राज्य खाद्यान्नमा आत्मनिर्भर हुन्छ तब मात्र राज्य राज्य रहन्छ र बलियो हुन्छ । यसका लागि राज्यले कृषिलाई हल्का रूपमा लिनु हुँदैन । अब राज्यले बेलैमा सोचेर अगाडि बढ्न आवश्यक छ । तर विडम्बना भन्नुपर्छ अहिलेका अर्थ मन्त्री जनार्दन शर्माले कृषिमा अनुदान भन्ने शब्द नै हटाउने भनेर भाषण गरेको सुनिन्छ । अहिले अलि अलि दिँदा त कृषकले राज्यले दिएको अनुदान नपाएको अवस्था छ । अझ झन बन्द नै गर्दा के अवस्था होला ? संसारको कुनै पनि देशमा सरकारको अनुदानबिना कृषि सम्भव छैन । कहिले समयमा पानी नआउला, कहिले धेरै आउला, कहिले कीराको प्रकोप आउला, कृषकले धेरै कुराबाट जुध्नुपर्ने हुन्छ । अबको कृषिमा प्रविधि प्रयोग गरेर अगाडि बढ्नुपर्छ । सम्भावना धेरै छन् । तर, त्यसलाई हामीले अवसरमा परिणत गर्न सकेको अवस्था छैन ।
नेपालको कृषिमा अथाह सम्भावना छन् । एक त यहाँको वातावरणीय विविधताले सम्भावनालाई बढाएको छ । एक ठाउँमा एउटा तापक्रम हुँदा अर्को ठाउँमा अर्को तापक्रम भइरहेको हुन्छ । अर्थात् बाह्रै महिना हामीहरूले खेतीपाती गर्न मिल्ने भएकोले मौसम–बेमौसमका तरकारीहरू उत्पादन गर्न सक्छौं ।आजकाल हाम्रो देशमा इजरायल वा अन्य कुनै देशमा बसेर कृषिमा काम गरि त्यहाँको अनुभव लिइ यहाँ खेतीपाती गरिरहेको पनि देखिएको छ । बिदेशको त्यस्तो मरुभूमिमा त खेती गरिरहेका छन् भने नेपाल त कृषिका लागि अत्यन्तै उपयोगी स्थान हो । अन्य देशले उत्पादनको ९० प्रतिशत अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिरहेको अवस्थामा नेपालले त्योभन्दा ठूलो मार्केट स्पेस पाउँन सक्छ । नेपालमा हामीहरूले ४० अर्ब बराबरको तरकारीजन्य वस्तु, २० अर्बको फलफूल, १३–१४ अर्ब बराबर त डेरी र महजन्य वस्तुको आयात भैरहेको छ । हामीहरूले विदेश पठाउने कुरा मात्र बिर्सियौँ र व्यवस्थित तरिकाले हाम्रो उत्पादनलाई बजार मिल्ने व्यवस्था सरकारले बनाइदिने हो भने पनि हाम्रा उत्पादन विदेशसम्म पठाउनु नै पर्दैन । नेपालमै ठूलो सम्भावना छ । प्रत्येक किसानले व्यावसायिक किसान बन्ने अवस्था रहन्छ ।
साढे दुई लाख लिटर त बाहिरबाट मोही मात्र आएको तथ्यांक देखिन्छ । हिजो गाउँघरमा सित्तैमा बाढ्ने मोही आज विदेशबाट ल्याउनुपर्ने अवस्था त होइन नि । हामीहरूले विलासिता रुचाउँदै गयौँ । विदेशी उत्पादनलाई एकदम राम्रो भन्दै गर्दा हाम्रो आफ्नै दाजुभाइले फलाएका चिजहरूलाई तिरस्कार गर्ने संस्कृति बढेको छ । त्यसलाई रोक्न सरकारको भूमिका ठूलो रहन्छ । किसानले उत्पादन गरिरहेका छन् । तर बजारमा ठाउँ पाइरहेका छैनन् । अहिले यश वर्ष भने एलसीले गर्दा त्यति आयात भएको छैन । अन्यथा यो समयमा भारतबाट उच्च मात्रामा केरा लगायतका उत्पादन आउँथ्यो । जसले गर्दा यहाँका किसानलाई राम्रो रेटमा केरा बेच्न सक्ने अवस्था रहँदैनथ्यो । भारतबाट आउने फलफूल, तरकारीहरू किन सस्तो हुन्थ्यो भन्दा त्यहाँ सरकारले दिने सहुलियत धेरै छ । किसान र व्यवसायी सबैलाई राज्यको पुरै संरक्षण छ । यहाँ हामी जे जति प्रविधि आदि भन्छौँ, त्यहाँ सरकारले अनुदान दिएको अवस्था छ । त्यहाँ कृषिको क्षेत्रमा भन्सार भ्याट केही लाग्दैन। त्यसैले उनीहरूको लागत कम छ । तर, हामीले कृषिमा उपयोग हुने यन्त्र, उपकरण सामग्रीहरू केही पनि ल्याउँदा भन्सार बढी छ । अर्कातिर खुला सिमाना भएका कारण तरकारीजन्य सामानको बढी आयात हुन्छ । त्यो कारणले नेपालका कृषकहरूले उत्पादन गर्ने वस्तुको लागत मूल्य र भारतबाट आउने वस्तुको मूल्य सस्तो हुने भएकाले हाम्रा किसानहरू मारमा परेको अवस्था छ । सरकारले पहिला नौ प्रतिशत भन्सार लगाउँथ्यो । अहिले त्यसलाई घटाएर पाँच प्रतिशत बनाएको छ । आयातित तरकारीजन्य वस्तुमा २० प्रतिशत भन्सार दर लगाउने हो भने हाम्रा किसानलाई राहत हुन्थ्यो । अनावश्यक अनुदानभन्दा भन्सार नीतिलाई कडा बनाउन सकियो र आयातित बस्तुमा विषादी परीक्षण गर्ने व्यवस्था बनाउने हो भने आत्मनिर्भर बन्न सक्छौँ ।
केही समय पहिले काँक्रो बिक्री भएन भनेर एउटा समाचार आइरहँदा काठमाडौंमा ८० रुपैयाँ प्रतिकेजी काँक्रो किन्नुपरेको थियो । कतै न कतै केही कुराको कमी छ । इजरायल जस्तो देशमा पनि बिचौलिया निकायहरू छन् । तर, उनीहरूलाई सरकारले यति रुपैयाँमा कृषकबाट उठाउने, यतिमा बजारमा बिक्री गर्ने भनेको हुन्छ, जसलाई सरकारले अनुगमन गर्छ । नेपालमा पनि किसानहरूले आँफै बजारसम्म पु–याउन सक्दैनन् । कोहि न कोहि त बिचमा चाहिन्छ । उनीहरुले आफ्नो जिम्मामा उत्पादन भएका सामानहरू बजार लिएर आउँछन् । बाटोमा केही होला, जस्तै— तरकारी कुहिएला, त्यसको कुनै ग्यारेन्टी छैन । त्यस कारणले उसले धेरै मार्जिन राख्न बाध्य छ । यदि सरकारले त्यसको अनुगमन गरि उनीहरुको पनि संरक्षण गरि सबैको हितमा काम गर्ने हो भने सबैलाई राम्रो हुने थियो । किसानको अभिभावक नै सरकार हो । कृषि नीति कागजमा मात्र होइन, कार्यान्वयन हुनुपर्यो ।
नेपालमा कृषिको निकै ठूलो सम्भावना छ । हामीहरूले वार्षिक दुई खर्ब बराबरको कृषि र कृषिजन्य वस्तुको आयात गरिरहेका छौँ । यसले नेपालमा कृषिको कति ठूलो बजार रहेछ भन्ने कुरालाई देखाउँछ । एउटा आयातमात्र प्रतिस्थापन गर्ने हो भने सम्भावना नै छन् । त्यसमाथि नेपालका कृषि उत्पादनलाई निर्यात गर्न हामीहरूले केही न केही प्रयास गरिरहेका छौँ । इजरायलदेखि कोरियासम्मका विभिन्न देशमा पढेर, नेपालमै पनि पढेर नेपाली युवाहरू प्रविधिसँग अभ्यस्त भइसकेका छन् । नयाँ–नयाँ युवाहरू पनि कृषिक्षेत्रमा आकर्षित भइरहेका छन् । कृषि भनेको दुःखी पेसा मात्र होइन, यसमा अथाह सम्भावना छन् भन्ने कुरा केही हदसम्म भए पनि चिरिएको छ । यो क्षेत्रमा लागेर अलि अलि भए पनि गौरव महसुस हुन थालेको छ । नेपालमा भोलिको दिनमा हेर्ने हो भने पनि कृषिदेखि पर्यटनकै भविष्य छ भनिन्छ । सरकारले पनि विभिन्न किसिमका वस्तुहरूमा प्रतिबन्ध लगाएको छ । शतप्रतिशत मार्जिनको कुरा गरेको छ । कृषिजन्य वस्तुको आयातमा पनि थोरै कडाइ गर्दिने हो भने आन्तरिक उत्पादनले बजार पाउँछ र यहाँ उत्पादन बढ्न सक्छ । हुन त पछिल्लो समय आर्थिक तथा मौद्रिक नीतिमा पनि कृषिलाई स्थान दिन थालिएको छ । विभिन्न पार्टीका घोषणापत्रहरूमा पनि कृषिका कुराहरू आउन थालेका छन् । त्यसले पनि कृषि क्षेत्रलाई उत्साहित बनाउन मद्दत गर्छ । विदेशमा नेपाली उत्पादनहरूको माग छ । त्यसलाई पूर्ति गर्न सक्ने हो भने हामीलाई धेरै अवसर छ । तर, यसका साथसाथै कृषि क्षेत्रमा अवसरभन्दा धेरै चुनौतीहरू पनि छन् । केही समय अघि मात्र विदेशी केरा यहाँ १ सय ५० मा बिक्यो भनेको सुनियो । तर, चितवनमा किसानले केरा फाल्नु परेको अवस्था छ । बजारमा ५० रुपैयाँमा काँक्रो बेचिरहेको हुन्छ । तर फेरि उत्पादन गर्ने किसानले ५ रुपैयाँमा पनि काँक्रो बिक्री गर्न सकेको हुदैन । राज्यले यस्तो अवस्थामा विशेष भुमिका खेल्न आवश्यक छ । यसमा राज्य लाग्नु पर्यो र राज्यले काम गरेको देखिनु पर्यो । एउटा उखु किसानले आँफैले उत्पादन गरेर बिक्री गरेको पैसा लिन काठमाडौंको सडकमा आई रोएर बस्नुपर्ने अवस्था छ । त्यो समाचार हेरिरहँदा पनि उत्पादनमा राज्यको भूमिका के, त्यसको सप्लाइमा र बजारको व्यवस्थापनमा राज्यको भूमिका के हो भन्ने नै अहिलेसम्म प्रस्ट छैन । नेपालमा कृषि उत्पादनहरूको ठूलो माग छ । भारतबाट खर्बौंको आयात हुन्छ । त्यसलाई प्रतिस्थापन गर्न सकिन्छ भन्दा युवाहरू उत्साहित हुन्छन् । तर, फेरि अर्कातिर पाँच रुपैयाँमा काँक्रो बिकेन भन्ने समाचारले निराश भइरहेका छन् । राज्यले कृषिमा लगानी नगरेको पनि होइन । तर, त्यसको प्रतिफल आएन । राज्यको एकद्वार प्रणाली पनि भएन । जसले अनुदान पाउनुपर्ने हो उसले नै पाउन सकेका छैनन् । अर्थात् प्रभावकारी वितरण हुन सकेन । राज्यले कृषिमा अनुदान दिन्छ, त्यो उत्पादनमा नभएर जग्गामा लगानी भइरहेको अवस्था छ । उत्पादन गर्न राज्यको तर्फबाट सहज बनाई उत्पादित बस्तु विक्रीको व्यवस्था राज्यले मिलाउनै पर्छ । यति चुनौतीहरू राज्यले जिम्मा लिने हो भने हाम्रो देशको कृषि पेशा ह्वात्तै माथि उठ्न सक्छ । अहिले भनेको समयमा मल बीउ पाइँदैन । खण्डीकृत जग्गा भएकाले एउटा प्लट लिएर काम गर्छु भन्दा त्यो पाइँदैन । त्यसको बाबजुद बजारीकरणका लागि खासै काम नै गर्न सकिएको छैन । त्यो पनि ठूलो चुनौतीको रूपमा रहेको छ । तर अत्यन्तै सम्भावना भएको क्षेत्र भएकोले राज्यले यसमा लगानी गर्नै पर्छ । जुन देशले कृषि क्षेत्रमा लगानी गर्दैन त्यो देश अगाडि बढ्न सक्दैन । –नव क्षितिज साप्ताहिकबाट