सर्व प्रथम त “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने मूल नाराका साथ मनाई रहेको ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सम्पूर्ण प्रिय पाठकहरुमा धेरै धेरै शुभकामना । हरेक वर्ष चैत्र २० गतेका दिन राष्ट्रिय सहकारी दिवस भनेर मनाउँने गरिन्छ । यो वर्ष पनि केन्द्रीस्तर देखि स्थानीयस्तरको तल्लो तह सम्म यो दिवस मनाई रहेको छ । सक्ने र संभव हुनेले सामुहिक रुपमा त नसक्नेले कार्यालय तथा घरघरमै दीपावली गरेर हिजो मात्र हामीले ६५ औं सहकारी दिवस मनायौं । नेपालमा सहकारीको अवधारणा विकास भएपछि ढिलै भए पनि जनतामा सहकारी प्रतिको पहुँच राम्रैसंग बढ्न पुगेको छ । आर्थिक रुपमा विपन्न र ऋण लिनु पर्दा धितो राख्न नसक्ने जनताको सारथी पनि सहकारी बनेको छ । यसले समुदायस्तरमा सहकार्यको अवधारणा विकास गरेको छ । विपन्न नागरिकलाई सहकारीले गर्दा दैनिक जिविकोपार्जन गर्ने तथा साधारण आम्दानीको श्रोत बढाउन पनि सफल भएको छ । जसका कारण सहकारी प्रति आम मान्छेको चासो दिन प्रतिदिन बढ्दै गएको छ ।

नेपालमा विक्रम सम्बत २०१३ साल चैत्र २० गते चितवनको बखानपुरमा ‘बखान सहकारी संस्था’ गठन गरेर बचत गर्ने र आवश्यक पर्नेलाई कर्जा दिन थालिएको ईतिहास हाम्रो सामु छ । यसै तथ्यलाई आधार मानेर पत्येक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउँन थालिएको हो । यसरी हेर्दा नेपालमा सहकारीको शुरुवात भएको ६५ वर्ष पुगेको छ । सहकारीको अभियान शुरु भएको ६५ वर्ष पुग्दा झण्डै २ करोड जनता सहकारीको सदस्य बन्नु र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाखौंले रोजगार पाउनु स्वरोजगार बन्न सक्नु सानो कुरा पक्कै पनि हौईन ।

नेपालमा सहकारी मार्फत जनताको सम्पत्तीको सुरक्षा गर्ने र आवश्यक परेको बेला ऋण दिने व्यवस्था स्थानीयस्तरबाटै हुनु असाध्यै राम्रो कुरा हो । २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा गाउँ गाउँमा सहकारी र घरघरमा भकारी भन्ने नाराका साथ जव राज्यको नजरमा सहकारी पनि देश विकास र समृद्विकौ अर्थतन्त्र मध्यको एउटा खम्बा मानियो र देशको मूल कानूनमा नै समावेस गरियो । सहकारी मार्फत पनि देशको अर्थतन्त्रलाई बलियो बनाउँन सकिन्छ । सहकारी मार्फत जनताको छरिएर रहेको ससानो पूँजीलाई संकलन गरेर आयमूलक काममा लगाउन सकिन्छ । बेरोजगार रहेका राज्यका हरेक तह र तप्काका जनतालाई उत्पादन, उद्योग, व्यापार, व्यवसायमा गर्न प्रेरित गर्दै लगानी गरिदिन सकियो भने नागरिक धनि बन्दै जान्छन् । देशका नागरिक धनि हुनु भनेको देश धनि हुनु नै हो ।

सामान्य जनताले बैंकसम्म पुगेर बचत राख्ने र त्यहि बचत निकाल्ने काम गर्दछन् । बैंक तथा ठूला वित्तिय संस्थाले जसरी बचत लिने काम गर्छ त्यसरी नै ऋण दिन काम भने गर्न सक्दैनन् । उनिहरुको नियम आआफ्नै हुन्छ । बैंकमा ठूला प्रकारका ऋणीले मात्र ऋण पाउने सम्भावना बढि हुन्छ भने साना तथा विपन्नको सजिलो पहँुच बैंकसंग हुदैन पनि । भैहाले पनि बैंकको ऋण लगानी प्रकृया झन्झटिलो छ । त्यति मात्र हैन सेवाग्राहीले ऋण प्राप्त गर्न लामो समय कुर्नु पनि पर्छ । समुदायसतरमा चलेको सहकारीमा भने त्यस्तो हुदैन । आफ्नै समुदायमा आफ्नै सहभागीतामा चलाईएको सहकारीले ऋणीको आवश्यक्ता र अवस्था हेरेर लगानी हुने हुँदा छिटो छरितो र आवश्यकै भएको बेलामा दिन वा लिन सकिन्छ । त्यसैले दिनप्रतिदिन सहकारीको कारोबार बढ्दो छ । जति सेवा वा सुविधा सहकारीले दिन्छ त्यस बराबरको सुविधा कुनै पनि बैंक वा वित्तिय संस्थाले दिनै सक्दैन । त्यहि भएर त जनताको सारथी बन्न पुगेको छ सहकारी । सहकारीमा कारोबार गर्दा छिट्टै र सजिलै जेजति सुविधा पाउन सकिन्छ त्यो सेवा अरु वित्तिय क्षेत्रबाट नपाउँने भएपछि सहकारीमै जनताको आकर्षण हुनु स्वभाविकै हो ।

तर अचम्मको कुरा यो छ कि सहकारीका सैद्वान्तिक र ब्यबहारिक कुरा भने कमै सदस्यहरुले बुझेका हुन्छन् । सहकारीमा कारोबार गर्ने अनि बुझ्न नखोज्ने सदस्यहरको कारोबार डुब्ने खतरा बढेर जान्छ । कत्ति सदस्यले त ब्याज बढि पाउने लोभले साँवा नै गुमाउनु परेको घटनाका समाचार दिनप्रतिदिन हेर्दै र सुन्दै आएका छौं । अहिलेको अवस्था सहकारीमा खाता नखोल्ने व्यक्ति कमै छन् । सहकारकिो बारेमा सामान्य भन्दा सामान्य ज्ञान नलिने तर संस्थाको खाता सय वटै खोलेर पनि के काम हुन्छ ? । सदस्यले कम्तिमा पनि संस्थामा सदस्यता लिंदा वा कारोबार गर्दा संस्था कस्तो छ ? सञ्चालक कोको छन् ? कार्य क्षेत्र कहाँ सम्म छ ? कुल पूँजी कति छ ? जस्ता न्यूनतम कुराहरु हरेक सदस्यले जान्नै पर्दछ । यदी आफ्ना सदस्यहरले संस्थाको बरेमा जान्न वा सिक्न खोजे भने त्यस्ता कार्यक्रमको आयोजन गर्नु जरुरी पनि हुन्छ । संस्थामा कारोबार गर्नु पूर्व सदस्यले सहकारीका न्यूनतम कुराहरु जान्नु नितान्त आवश्यक छ । –नव क्षितिज साप्ताहिकबाट