काभ्रेमा एमाले-गोकुलको पक्षमा २ संघीय,२ प्रदेश सदस्य सहित ८४ प्रतिशत

नवराज बजगाई, बनेपा

 

एमाले विभाजनपछि बिशेष रुपमा हेरिएको र चर्चा गरिएको काभ्रे जिल्लामा एमाले फुटको असर नगन्य रुपमा मात्रै परेको छ । बिशेष गरी केन्द्रिय राजनितिमा प्रभाव राख्ने नेता, पूर्वमन्त्री गोकुल बाँस्कोटाको जिल्ला भएको र बाँस्कोटा आफ्नै जिल्लामा कमजोर छन भन्ने हल्ला चलाईएको कारण काभ्रे जिल्ला चर्चामा रहेको थियो ।
तर मंगलबार नेकपा एमालेबाट निर्वाचित १६ प्रतिशत जनप्रतिनिधिले मात्रै पार्टी परित्याग गरी नयाँ पार्टीमा सनाखत गरेपछि हल्ला हल्लामै सिमित भएको हो । दल रोज्ने अन्तिम दिनसम्म एमालेबाट निर्वाचित ३५० जनप्रतिनिधिमध्ये ५६ जनालेमात्र नेकपा एसको पक्षमा सनाखत गरे । यो भनेको करीव १६ प्रतिशत हो ।

यसअघि एमाले जिल्ला कमिटीका ६३ मध्ये अध्यक्ष टोकबहादुर वाईवा र अन्य २ जना सदस्यबाहेक बाँकी ६१ जना पदाधिकारी र सदस्य एमालेमै रहेका थिए । काभ्रेबाट एमालेका प्रतिनिधिसभामा गोकुल बाँस्कोटा र नविना लामा दुई सांसद छन् । त्यस्तै प्रदेशसभामा लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, चन्द्र लामा र गोमा भुर्तेल छन् ।

प्रतिनिधिसभाका दुवै सांसद एमालेमा छन् भने प्रदेशसभाका लम्साल र हुमागाईले नेकपा एस रोजेका छन् । त्यस्तै स्थानीय तहमा एमालेले १३तहमध्ये सातवटा जितेको थियो । तीमध्ये नेकपा एसको पक्षमा मण्डनदेउपुर नगरका मेयर टोकबहादुर वाइबा, नमोबुद्ध नगरपालिका उपमेयर रामदेवी तामाङ र भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठले सनाखत गरेका छन् ।

अन्य सबै स्थानीय तहका प्रमुख–उपप्रमुख एमालेमै रहेका छन् । एमालेले ५६ वटा वडा जितेकोमा माओवादी र स्वतन्त्रबाट जितेका समेत थपिदा ५८ जना वडाध्यक्ष छन् । तीमध्ये ११ जना वडाध्यक्ष नेकपा एसको पक्षमा उभिएका छन् भने बाँकी ४७ वडाध्यक्ष एमालेमै रहेका छन् । जिल्ला समन्वय समितिका प्रमुख उद्धब केसी र उपप्रमुख मञ्जु गौतम जिससका प्राय सबै एमालेमै रहेका छन् ।

काभ्रेमा सबैभन्दा बढी चर्चा मण्डनदेउपुर नगरपालिकामा रहेको थियो । मण्डनदेउपुर गोकुल बाँस्कोटाको गृहनगर हो भने हाल प्रदेशसभा सदस्य रहेका लक्ष्मण लम्साल पनि यहि नगरपालिका हुन् । संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटा, बिदुर सापकोटा र मेयर वाइबासहित गोकुल बाहेक अरु सबै नेता नेकपा एसमा लाग्दा पनि नगरपालिकाका बहुमत जनप्रतिनिधि भने बाँस्कोटाकै पक्षमा लागेका छन् । अरु नेता धेरै रहेकाले यो नगरका जनप्रतिनिधिमा आफुनो पकड हुने नेकपा एसको आशा थियो तर त्यो पुरा नहुदा नयाँ पार्टी प्रतिको आर्कषण छैन भन्ने पुष्टी भएको छ भने मतदातामा एमाले प्रतिको आर्कषण बढेको छ ।

गोकुलको वडा–४ का वडा अध्यक्ष भुवनप्रसाद बजगाईले पार्टी परित्याग गरेनन् । उक्त वडाका वडाध्यक्षसहित सबै जनप्रतिनिधि नेकपा एसमा लागेको भनिए पनि सनाखत गर्ने बेलासम्म एकजना सदस्यले मात्र नेकपा एस रोजे । वडाध्यक्षसहित अन्य तीनजना एमालेमै रहेका छन् । वडाध्यक्षसहित यस अधि माधव लाईनका रुपमा चिनिन्थे ।
यस्तै मेयर टोकबहादुर वाइबाको वडा नम्बर ३ बाट वडाअध्यक्ष दिलबहादुर तामाङमात्र नेकपा एसमा लागेका छन् भने प्रदेशसभा सदस्य लक्ष्मण लम्सालको वडा नम्बर ७ बाट वडाध्यक्षसहित २ सदस्यले नेकपा एसमा सनाखत गरे । मण्डनदेउपुरमा नेकपा एमालेले मेयर र उपमेयरसहित ४३ जनप्रतिनिधि जितेकोमा अब उपमेयर निर्मला शाहीसहित २९ जनप्रतिनिधि एमालेमा रहेका छन् भने १४ जनाले नेकपा एसमा सनाखत गरेका हुन् । अब मण्डनदेउपुरमा २९ सिटसहित एमाले पहिलो दलमै कायम रहेको छ भने कांग्रेस १७ सिटसहित दोस्रो र १४ सिटसहित नेकपा एस तेस्रो दल बनेको छ । नयाँपार्टी एसका अध्यक्ष समेत रहेका मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा अब मण्डनदेउपुर नगरपालिकामा तेश्रो दलका नेता बनेका छन् ।

एमाले परित्याग गर्नेमा मण्डनदेउपुर वडा नम्वर १ का वडा अध्यक्ष लक्ष्मण बस्ताकोटी, वडा नम्वर ३ का अध्यक्ष दिलबहादुर तामाङ, वडा नम्वर ६ का अध्यक्ष डिल्लीप्रसाद आचार्य, वडा नम्वर ७ का अध्यक्ष नारायण लम्साल र वडा नम्वर ११ का अध्यक्ष माधव न्यौपाने छन् ।

एमालेबाट निर्वाचितमध्ये खानीखोला गाउँपालिकामा अध्यक्ष कृष्णबहादुर खुलाल, उपाध्यक्ष रुक्मिणी गुरुङसहित एकजना सदस्यले पनि एमाले छाडेनन् । धुलिखेल, पनौति, बनेपा नगरपालिकामा पनि मेयर र उपमेयर एमालेमै रहेका छन् भने भुम्लु गाउँपालिकाका अध्यक्ष पनि एमालेमै बसेका छन् । पनौती वडा नम्वर ४ का अध्यक्ष बुद्धसीं थापा, बनेपा ६ का अध्यक्ष सचितानन्द केसी, पाँचखाल ६ का अध्यक्ष रामशरण दुलाल, महाभारत ८ का अध्यक्ष टंक आले, भुम्लु गाउँपालिका वडा नम्वर २ का अध्यक्ष कृष्णकुमार कार्की र वडा नम्वर ८ का अध्यक्ष मोतीलाल तामाङ रहेका छन् ।

एमालेबाट निर्वाचित १६ प्रतिशत जनप्रतिनिधिलै पार्टी परित्याग गरीरहदा नेकपा अलग भएपछि माओवादी केन्द्र र एमाले रोज्दा माओवादी छोड्ने जिल्ला कमिटीका प्रभावशाली २० जना भन्दाबढी नेताहरू एमालेमै रहेका छन । जसमा २०७० सालमा माओवादी केन्द्रबाट उमेद्वार बनेर एमालेसँग झिनो मतले हारेका नारायण बानियाँ, मण्डनदेउपुर नगरमा मेयरमा हारेका रिता ढकाल, महिला नेतृ रुकमणी गुरुङ, नोर्वु लामा, रुप योञ्जन माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य, बटालियन कमाण्डर विनोद गौतम, अरुण गौतमलगायत छन् ।

माओवादी केन्द्रका वाईसिएल अध्यक्ष, बिद्यार्थी अध्यक्षलगायत कमिटिका धेरैनै एमालेमा रहेका छन । त्यसैगरी विप्लप समूहका केन्द्रीय सदस्य चुडामणि गौतमले पनि एमाले रोजेका छन । केहि वडा अध्यक्षसहित जनप्रतिनिधि एमालेमा रहेका छन ।
एमालेको १६ प्रतिशतघाटालाई माओवादी केन्द्र र विप्लव समूहबाट पुर्ति भै सकेको छ । संगै राप्रपा नेता पूर्व राज्य मन्त्री रेशम लामालगाएत धेरै जना एमालेमा सक्रिय भैसकेका छन ।

प्रतिक्रिया दिनुहोस्