बनेपा, नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी मंसिरको ९ गतेदेखि १३ गतेसम्म हुने भएको छ । शनिबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले तल्ला तहको अधिवेशन भने भदौ १८ गतेदेखि नै सुरु गर्ने भएको छ । भदौ १८ गते वडा अधिवेशन, २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, ५ गते प्रतिनिधिसभा क्षेत्रीय समिति र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन र १० गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ ।
सहमहामन्त्री प्रकाशसरण महतले भदौ १८ बाट तल्लो तहको अधिवेशन गर्ने र मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भएर्को जानकारी दिए । आगामी असोज २३ गते कांग्रेसको वैधानिक कार्यकाल सकिँदै छ । पार्टीको वैधानिकता पनि जोगिने र महाधिवेशनका लागि समेत हतारो नहुने गरी मंसिरका लागि कार्यतालिका ल्याइएको नेताहरूको भनाइ छ । कांग्रेसले यसअघि भदौको १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो ।
महाधिवेशनको नयाँ कार्यतालिका अनुसार क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने २०७८–५–२ गते । निर्वाचन निर्देशिका बुझाउने २०७८–५–२ गते । वडा अधिवेशन २०७८–५ – १८ गते । गाउँ–नगरपालिका २०७८–५– २७ गते । प्रदेश क्षेत्र क–ख २०७८–६–१ गते । संघीय निर्वाचन क्षेत्र २०७८–६–५ गते । जिल्ला २०७८–६–१० गते । प्रदेश २०७८–७–१० देखि १२ गतेसम्म र केन्द्रीय २०७८–८– ९ देखि १३ सम्म रहेको छ ।
त्यसैगरी नेकपा एमाले काभ्रेको शनिबार बसेको जिल्ला कमिटी बैठकले असोज ९ भित्र पालिका स्तरको अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय बनेपामा अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षता र केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज पुर्व मन्त्री गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा बसेको बैठकले विद्यान संशोधनका लागि जिल्ला कमिटी सचिव नारायण पाण्डेको संयोजकत्वमा सुझाव संयोजन कमिटी गठन गरेको र आगामी असोज ३ भित्र जिल्लामा रहेका १३ वटा पालिकाका १ सय ३५ वटै वडाको अधिबेशन सम्पन्न गर्ने र असोज ९ भित्र पालिका स्तरको अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।
विद्यान संशोधन सुझाव कमिटीमा संयोजक नारायण पाण्डे, सदस्यहरुमा रिता ढकाल, राजन भुर्तेल, सुदर्शन थापा, हरिशरण दाहाल र कुमार भट्टराई रहनु भएको छ । संगठित सदस्यहरुको जारी नविकरण अभियान र नयाँ सदस्यता वितरण कार्य अन्तिम चरणमा पुगेकाले भदौको पहिलो साता भित्र सबै पालिकाहरुबाट प्राप्त सदस्यहरुको नामावली टुङ्गयाउने निर्णय भएको जिल्ला कमिटी सचिव नारायण पाण्डेले जानकारी दिनु भयो । साथै बैठकले जिल्ला कार्यालयको कार्यालय सचिबको जिम्मेवारी हरिकुमार मैनालीलाई दिने निर्णय गरेको छ । – नव क्षितिज साप्ताहिकबाट








