आर्सी भट्टराई
शिक्षा मानव जीवनको एउटा अपरिहार्य आवश्यकता हो । सभ्यताको उषाकालदेखि हालसम्म आउँदा मानिसले शिक्षा लिने दिने क्रममा विभिन्न चरणहरु पार गरिसकेको छ । समाज विकासको गति, भूराजनीतिक वास्तविकता, धर्म, भाषा तथा परम्परा र संस्कारका कारण संसारभरि शैक्षिक विकास समान गतिमा भएको पाइँदैन। यद्यपि विश्वभरि कुनै न कुनै प्रकारको शैक्षिक गतिविधि मानव समाजमा चलि नै रहेको छ। तुलनात्मक रुपमा अध्ययन गर्ने हो भने आधुनिक शैक्षिक बिकास पूर्वीय सभ्यतामा भन्दा पाश्चात्य सभ्यतामा द्रुतगतिमा भइरहेको पाइन्छ। तथापि दार्शनिक गहनता, भाषिक गहिराही ,उच्चतम नैतिक आदर्शका दृष्टिकोणले हेर्ने हो भने संस्कृत गुरुकुल शैक्षिक गतिविधिलाई विश्वकै उच्च कोटीको मान्न सकिन्छ। सामाजिक, राजनीतिक, आर्थिक तथा मनोवैज्ञानिक विकास न्याय प्रणालीको सुरुवात तथा शासकीय परिपाटीको विकासमा ग्रिसेली तथा रोमेली सभ्यताको समेत महत्वपूर्ण योगदान मानव जातिको अमूल््य सम्पत्तिका रूपमा रहेकै छन, यसप्रकार परम्परागत शैक्षिक प्रणालीमा धर्म अथवा धार्मिक शिक्षा प्रारम्भिक कालको प्रस्थान बिन्दुका रूपमा रहेको पाइन्छ त्यतिबेला शिक्षाको एक मात्र उद्देश्य चारित्रिक तथा नैतिक विकास गर्नु थियो। व्यवस्थित पाठ्यक्रम, पाठ्यपुस्तक, विद्यालय ,,पुस्तकालय शिक्षक जस्ता कुराहरूको सर्वथा अभाव थियो र आवश्यकता पनि ।
केवल गुरुकुलमा विद्यार्थीहरु भेला हुन्थे र शास्त्रीय ग्रन्थका श्लोकहरु कण्ठ गरेर गुरुलाई बुझाएर दीक्षित हुने गर्दथे र आवश्यकताअनुसार जीवनको व्यावहारिक मार्गमा प्रवेश गर्दथेँ जसले त्यस समयमा सामान्य शैक्षिक गोरेटोको काममात्र गर्दथ्यो ।
नेपालको सन्र्दभ नेपालको शिक्षा प्रणालीमा विगतदेखि वर्तमानसम्म कुनै न कुनै रूपमा संस्कृत गुरुकुल शिक्षा प्रणालीका अवशेषहरु देख्न सकिन्छ। नेपालको राजनीति शासनप्रणालीमा जङगबहादुरको उदयः पश्चात उनले बेलायत भ्रमण गरेपछि बेलायती शैक्षिक गतिविधिबाट प्रभावित भई दरवार स्कुल स्थापना भएपछि शिक्षा प्रणालीले आधुनिकताको स्पर्श गरेको आभाष हुन थालेको हो।
तैपनि राणाहरूको पारिवारिक स्वार्थ तथा सत्ता टिकाइराख्ने चालबाजीका कारण शैक्षिक प्रणालीमा पहुँच हुनेहरु साक्षर बन्ने झिनो अवस्थाबाट गुज्रन पुग्यो। जब २००७ सालमा प्रजातन्त्रको स्वर्णिम बिहानीको स्पर्श भयो तत्पश्चात मात्र नेपालको शिक्षा र स्वतंत्रता सँगसँगै अगाडि बढ्न खोज्दा खोज्दै पञ्चायतकालीन कालरात्रि सुरुवात भयो। शैक्षिक विकासमा गुणात्मक प्रगति हुन सकेन ।
२०४६ साल पछि देशमा संस्थागत र सामुदायिक गरी दुई धारको शैक्षिक प्रणाली कायम भयो। निजीकरणको बढ्दो शैक्षिक दबाबका कारण क्रमशः सामुदायिक शिक्षा प्रणाली तहसनहस बन्नपुग्यो। एकातिर निजी लगानीका स्कूलहरु वर्षामा उम्रिएका च्याउसरी स्थापित भए।
त्यसले परीक्षा मुखी घोकन्ते शिक्षाका कारण सामाजिकीकरणको प्रक्रियामा सुस्त तर लब्धाड्ढ पत्रका दृष्टिले उत्कृष्ट विद्यार्र्थी उत्पादन गरि समाजमा सकारात्मक विभेदको जन्म हुन पुग्यो। अर्कातिर सामुदायिक विद्यालयमा पार्टीका कार्यकर्ता शिक्षकका रुपमा भर्ना हुन थाले। विद्यालयलाई राजनीतिक प्रचारको केन्द्रविन्दु बनाइयो आयोगबाट शिक्षक छनौट गर्ने बाटोमा काँडे तार लगाइयो ।
पढाइ हुन छाड्यो शक्तिका आधारमा नियुक्त अयोग्य प्रधानाध्यापकले बागडोर सम्हाल्न सकेनन्। परिणम दुवैथरी विद्यालय पोषणको एउटै परिभाषामा समेटिने जस्ता भए ।सामुदायिक विद्यालय कुपोषण भएर करङ मात्र भएका संस्थागत विद्यालय पोषण बढी भएर बोसो मात्र भएका जस्ता भए। शैक्षिक गुणस्तर शून्यप्राय भयो ।
विनाशकारी महाभूकम्प २०७२
शैक्षिक क्षेत्रमा अनेक बहस छलफल निरन्तर भइरहेकै थिए। सुधारका संकेत पनि नदेखिएका होइनन सामुदायिक कतिपय विद्यालयमा अंग्रेजी माध्यमको पढाइ पनि भइरहेको थियो शिक्षक सेवा आयोगले देशैभरि प्रतिस्पर्धाबाट छानिएका स्थायी शिक्षक विभिन्न तहमा नियुक्त गरिरहेको अवस्था थियो।
बिस्तारै सामुदायिक विद्यालयहरु तङ्ग्रिदै थिए। विनाशकारी महाभूकम्प २०७२यसरी आयोग कि सामुदायिक विद्यालयका जति कक्षाकोठा तहस नहस भएर रातो स्टिकर लागेका मात्र भए। संस्थागत विद्यालयका भवनमा सामान्य क्षति पनि पुगेन रातो स्टिकर को त कुरै भएन। अवस्था यस्तो बन्यो सामुदायिक विद्यालयमा विद्यार्र्थी र शिक्षक सबै टि एल सी मा र संस्थागत विद्यालयमा शिक्षक क्याबिनमा विद्यार्र्थी सुविधासहितका कक्षाकोठामा पुगे।
पुनर्निर्माणको काम सुरु भयो सरकारले केन्द्रमा सी एल पि आइ यु र जिल्लामा डि एल पि आइ यु गठन गर्यौ। देशभरी जताततै पहेलो रंगका भवनहरू बन्न थाले बने र बन्दैछन। स्थानीय तहले माध्यमिक शिक्षाको संवैधानिक जिम्मेवारी सम्हाले पछिका सकारात्मक नकारात्मक टिप्पणी होलान् तर विद्यालय मर्ज र स्थानीय तहबीच हुने प्रतिस्पर्धाले सामुदायिक विद्यालयहरु सुधारको फड्को मार्ने अवस्थामा पुगेका थिए।
संस्थागत विद्यालय मोहको भेल त उर्लेर आइरहेको थियो। धनि सम्पन्न र मध्यम वर्गका अभिभावकहरुका छोराछोरी संस्थागत विद्यालयमा र गरिब तथा निम्न आयस्तर भएका तल्लो वर्गका अभिभावकका छोराछोरी सामुदायिक विद्यालयमा पढ्ने परिपाटीमा कुनै परिवर्तन आएको छैन ।
कोभिड १९ र विद्यालय,
शैक्षिक वर्ष २०७६ को उत्तराद्र्धतिर प्रकृति सुनसान थियो। मानव निर्मित कृत्रिम प्रणालीहरु पनि चलायमान नै थिए। मानिसहरू आआफ्ना गतिविधि निर्वाध सञ्चालन गरिरहेकै थिए। विषयवस्तुमाथिको समर्थन, पत्रकारिता रोजगारी ,ब्यवसाय, पर्यटन, विश्व यात्रा, छलफल, भेला, गोष्ठी, शुभ अशुभ मानवीय कर्मकाण्ड ,प्रबचन, भाषण, परीक्षा सञ्चालन, पढाइ, जग्गा दलाली, किनबेच ,शेयर कारोबार, जन्म मृत्यु, हत्या, आत्महत्या र पोष्टमार्टम आदि सबै एकनास चलिरहेकै थिए। विश्वमानव सभ्यता एउटा अत्यासलाग्दो गतिमा हिँडिरहेको थियो।
सन् २०१ को डिसेम्बर महिनाको एक बिहान एउटा यस्तो समाचार विश्वब्यापी बन्यो कि चीनको वुहान राज्यमा एउटा भाइरस देखा पर्या जसको नाम कारोना हो। यो मानवमा पहिलोपटक देखा परेको हो। यो तुरुन्तै एउटा मानिसबाट अर्का मानिसमा सर्छ। यस समाचारले तुरुन्तै खासै प्रभाव पारेन तर बुहान प्रान्त बन्दा बन्दीमा गयो।
लाखौ मानिसहरु संक्रमणको शिकार भए हजारौं मानिस मरे त्यहाँका सम्पूर्ण मानवीय गतिविधिहरु ठप्प प्रायः भए ।विश्व स्वास्थ्य संगठनले यस भाइरसको नाम राख्यो कोभिड १९। तत्पश्चात दुई महिना पूरा हुँदा नहुँदै यसले यति व्यापक रुपमा विश्वव्यापी रुप लियो कि सम्पूर्ण मानवीय गतिविधि कोभिड १९, क्वारेन्टिन ,आइसोलेसन,आस डि टि,पि कोभिड अस्पताल, लकडाउन, संक्रमण ,भ्याक्सिन, टेसिङ्, र रोकथाम उपचार र व्यवस्थापनमा मात्रै केन्द्रित बन्न पुगे। नेपालमा पनि चैत्र १० गते २०७६ बाट पूर्ण हुँदै आंशिक लगाउनको श्रृंखला सुरु भयो र शुरुभयो त्यसपछि शैक्षिक कालरात्री पनि।
केही दिन हप्ताका लागि कल्पना गरिएको लगाउन आजसम्म पनि उस्तै नै छ। केही समयको सन्नाटापछि निर्देशिका जारी भए। वैकल्पिक शिक्षा सुरुवात भयो। कोरोनाका विरुद्ध विद्यालयले अपनाएका उपाय प्रभावकारी बन्न सकेका छैनन। यसबीचमा विद्यालय खोल्ने र बन्द गर्ने विषयमा स्वयं शिक्षक तथा शैक्षिक अभियन्ताका बीचमा नै मत भिन्नता देखापर्र्यो। एकथरि भन्छन् विद्यालय खोल्नु पर्छ अर्काथरी भन्छन्, विद्यालय बन्द गर्नुपर्छ। आज देशभरका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द छन् कारण एउटै छ कोभिडको विश्वव्यापी महामारी र यसले सिर्जना गरेको त्रास। यही त्रासका बीचमा सुरु गरिएका विद्यालय शिक्षाका वैकल्पिक गतिविधि सुरुमा रहर र पछि बाध्यताले केही समय चल्ने र पछि स्थानीय तहले सिकाइ केन्द्रका रुपमा खोलिएका विद्यालयमा प्रत्यक्ष पठनपाठन भइरहेकाले तत्काल विद्यालय बन्द गर्न परिपत्र जारी गर्र्यो। विद्यालय बन्द भए। विद्यालय खोल्न नचाहनेले दबाब दिएर पत्र लेखाइ छाडेको हल्ला पनि नसुनेको होइन।
महिना महिनाको गणना गर्दा छ महिना आधा वर्ष लामो समय हो ।विद्यालय परिसर भग्न प्रायः देखिन्छन्। पुस्तकालयमा मुसाको राज छ। वर्षाको पानी कक्षाकोठामा भरि छ । बत्तीको लाइन सर्ट छ। पियनले चावि हराएछ जस्ता कुरा सुनिन्छन् । शिक्षकलाई विद्यालयमा जान मिति निर्धारण गरिएको छ। फेरि बन्दको सूचना जारी हुन्छ। निर्देशन आउँछ, प्रश्नपत्र बनाउने, कार्ययोजना बनाउने, पाठ योजना बनाउ,अधुरा काम पूरा गर ,एकाइ योजना बनाउर विद्यालय जाऊ ।अनौठो कुरा के छ भने विद्यालयमा क्वारेिन्टन छन। शिक्षक चैत्र महिनामा घर गएका लामो दुरीका बस चलेका छैनन्। आउनु कसरी। यस पंक्तिकारले नियमित विद्यालय गएका शिक्षकलाई जिज्ञासा राख्दा उहाँहरुलको प्रति प्रश्नले म अवाक भएँ गा्रहक बिनाको पसल, यात्री बिनाको जहाज, खानेकुरा बिनाको भान्साकोठा, लगाउने मान्छे बिनाको लुगा श्रोता बिनाको पण्डित,करेन्ट बिनाको बल्ब तथा लास विनाका मलामि अनि बेहुलो बिनाका जन्ती तपाइलाई कस्तो लाग्छ । झण्डै झण्डै बिद्यार्र्थी वीनाको विद्यालय पनि त्यस्तै हुन्छ।
समाज र सामाजिक सञ्जालमा अनेक सुनिन्छन् र पढिन्छन्। शिक्षकले सरकारी कोश रित्याए सित्तैमा ,तलब, खाए काम गरेनन्। के शिक्षक आफैं विद्यालय नगएका हुन् एउटा सोचनीय प्रश्न हो। विद्यालयमा शिक्षक मात्र होइन विद्यार्थी पनि अनिवार्य उपस्थित हुनुपर्छ भन्ने खालको सूचना जारी भएको ४८ घण्टामा शिक्षक विद्यालयमा पुगेर कामको काँध थापेनन् भने कारवाही गर्न सकिन्छ तर शिक्षकलाई सम्मान गर्न नसक्नु सामाजिक रुपमा र शिक्षक आफै सम्मानित हुन नसक्नु शिक्षककै कमजोरी हुन् ।कोरोनाको भ्याक्सिन पत्ता लागेर सर्वसाधारणलको पहुचमा नआउँदासम्म कारोना कहर समाप्त हुँदैन। महामारी समाप्त नभएसम्म विद्यालय नखोल्ने सपना कसैले देखेको भए यो दुर्भाग्यपूर्ण हो। अब पनि यो वा त्यो नाममा विद्यालय बन्द गराएर शिक्षकलाई सत्तोसराप गर्नुभन्दा सम्पूर्ण सुरक्षा प्रबन्ध गरी विद्यालय सञ्चालन गर्ने तर्फ सोच्नु आवश्यक छ।
युनिसेफको प्रतिवेदन अनुसार आजसम्म १०६ वटा देशका विद्यालय बन्द छन् ५५ वटा मुलुकका स्कूलहरु स्थानीय तहको जिम्मेवारीमा आंशिक रुपमा खुलेका छन्। तथा ४८ वटा देशहरुले सुरक्षा प्रबन्धसहित विद्यालय सञ्चालनमा लगाएका छन्। हामी पनि यी उपाय अपनाएर विद्यालय खोल्न प्रयास गर्नु आवश्यक छ। निर्देशिका बनाएर जारी गरेर सूचना अनलाइन अफलाईनमा राखेर र बोझिला तथा झुसिलो डकार आउन ेजस्ता अन्तर्वार्ता पस्केर मात्रै यस क्षेत्रमा काम गर्ने सघीय मन्त्री, प्रादेशिक मन्त्री, विभागका निर्देशक, महानिर्देशक ,केन्द्रीय समन्वय इकाई र जिल्ला समन्वय इकाइका पदाधिकारी स्थानीय तहका शिक्षा युवा तथा खेलकुद शाखा हेर्ने पदाधिकारी प्रधानाध्यपक शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी अभिभावकले उम्कन पाइदैन। यसका लागि ठोस कार्ययोजना बनाएर तत्काल विद्यार्थीै र शिक्षकलाई परिचालन गर्नु आवश्यक भइसकेको छ।
अबको उपाय काम रोक्नु, विद्यालय बन्द गर्नु र लकडाउनलाई निरन्तरता दिनु तथा निषेधाज्ञा जारी गर्नु समस्याको समाधान अवश्य होइन। वास्तवमा समाधान यही कामलाई फरक ढंगले गर्नु हो। यसका लागि तत्काल विज्ञ समूह बनाएर अर्थात एउटा विज्ञ समूह गठन गरी संकटकालिन पाठ्यक्रम समायोजन गर्नु आवश्यक छ। परम्परागत १०२४ घण्टे पाठ्यक्रमलाई कटाएर ५०० घण्टामा सीमित विषयवस्तु, उद्देश्य, क्रियाकलाप तथा मूल्यांकन सबै वैकल्पिक शिक्षण विधि तथा प्रविधिमैत्री बनाउन आवश्यक छ। कोरोनाको शिक्षा क्षेत्रसँग सम्बन्धित सबैलाई सबैलाई स्पष्टरुपमा दुई धारमा विभाजन गरेको छ। एउटा धारले विद्यालय बन्द गर्नुलाई समधान देखिएको छ भने अर्र्काे धारले शिक्षण सिकाइको विकल्प खोजिरहेको छ। यिनीहरुको बिजुली र नेट नभएको ठाउँमा सानो समुहमा पढाइ क्रियाकलापलाई विकल्प मानिरहेका छन्।
सर्वप्रथम यी दुबै धारलाई समायोजन गर्नु आवश्यक छ। मेक ग्रेगरको एउटा सिद्धान्त छ ,काम नगरी पैसा मात्र प्राप्त गर्ने यसलाई यक्स सिद्यदान्त भनिन्छ। अर्र्र्को छ काम गरेर पैसा लिन चाहने, यसलाई वाइ सिद्दान्त भनिन्छ। हालको हाम्रो शिक्षा प्रणालीमा यिनै दुई सिद्धान्तका प्रतिनिधीहरुको सक्रिय छन्। सरकार पनि यस विषम परिस्थितिमा यस्ता समूहको पहिचान नगरी काम गर्न थाल्यो भने मुलुकको शिक्षामा दुरगामी असर पर्न सक्छ। अतः शिक्षकले पनि अरूको मात्र बाटो नहेरी आफ्नो भूमिका आफै खोजी गरी कोरोनाविरुद्धको चेतना र सामाजिक परामर्शदाताको भूमिका निर्वाह गरी आफ्नो ओजपूर्ण व्यक्तित्वलाई जोगाउनु आवश्यक छ।
अन्त्यमा आज लाखौ शिक्षकहरु कामविहीन भएको अवस्था सबैलाई स्वतः अवगत छ। आज बाँचे मात्रै भोलि काम गर्न सकिन्छ। यस गुढ रहस्यलाई राम्ररी मध्यनजर गरी निजी विद्यालय सञ्चालकहरूको छाता संगठनसँग अनिबार्य अविलम्ब सरकारले आफै पहल गरी शिक्षक राहत कार्यक्रम ल्याउनु नितान्त आवश्यक भइसकेको छ। यसका लागि सम्बन्धित सबैको ध्यान पुगोस समाजको सबैभन्दा चेतनशील र निर्दोष शिक्षक भोकै मर्ने अवस्था नहोस सबैलाई चेतना होस। लेखक भगवती मा वि खरेलथोकका काभ्रेका शिक्षक हुन्।








