(कुरा बि .स. २०६१ तिरको)
छिटो गर्नुसन ममी हामी एकैछिन मामाघर गएर टिका लगाएर आइहालौन । हजुरबा, हजुरआमा, काका काकीहरु, ठुला बा ठुलीआमाहरु हुँदै हुनुहुन्छ, उहाँहरुले खाना खाउन्जेल त हामि पुगेर आइहाल्छौ नी । भुमि खुशी हुँदै उसको ममीको हात तान्न आइपुग्छ । दशैको टिकाको दिन आज भूमिको घरमा रमाइलो छ । उसका घरमा टाढा टाढाबाट काकाकाकी, ठुलो बा ठुलीआमा, दादादिदी ,भाईबैनीहरु दशैँ मनाउन भनि दुइ चार दिन अगाडी नै भेला भइसकेका छन् । सबै भेला भएर आ–आफ्नो तरिकाले रमाइलो गरिरहेका छन् । केटा केटीहरु चल्ने, दगुर्ने गरिरहेका छन्,अधबैसे केटा मानिसहरु तास खेलिरहेका छन्, महिलाहरु पकाउन र घर धन्दामै व्यस्त छन् । भुमीले दशैको यो दुइ चार दिनको सुनौलो अबसरमा आफ्ना ठुला बा र काकाका छोरा छोरीहरुसंग आफ्नो बाल सुलभ गुणहरु साटासाट गर्ने अबसर पाएका छन् । उ भर्खर छ बर्ष पुरा गरि सात बर्ष लागेको छ । उसको काकाको छोरो पनि झन्डै उ संगैको छ्र ठुला बाका छोराछोरीहरु पनि कोहि अलिक ठुला छन् त कोहि उ संगैका दौतरी छन् । यस अबसरमा उनीहरुले आ–आफ्नो घर, स्कुल, साथिभाई, मामा घर, मनपर्ने खेल आदि थुप्रै बिषयहरुमा कुरा गर्न भ्याईसकेका छन् । दशै भएकोले होला बिशेष गरि उनीहरु मिठो मिठो खानेकुराहरु,नयाँ नयाँ लुगा लगाउने, पिङ्ग खेल्ने आदिका बारेमा धेरै कुराहरु गरिसकेका छन् । दशैको टिकाको दिन घरमा टिका लगाई सकेपछि सबै आ–आफ्नो मामा घर जाने र मामा माइजुले दिएको दक्षिणा अरुको भन्दा आफ्नो धेरै हुने बिसयमा पनि कुरा गरि रहेको सुनिन्थ्यो ।
एकछिन पछि भुमि फेरी ममी छेउमा आइपुग्छर कर–कर गर्न थाल्दछ “खै त अहिले सम्म तयार पर्नु भको छैन ? छिटो जाउँन ।” त्यतिकैमा उसको कान्छी काकीले भन्छिन “होइन दिदी तपाईका माइती खाल त कोइपनि यता हुनुहुन्न भनेको होइन र ! फेरी तपाईहरु कस्कोमा टिका लगाउन जानलाग्नु भएको त ?” भूमिको ममीले सहमतिको टाउको हल्लाउदै भन्नुभयो, “हो नी ! कोइ हुनुहुन्न यो केटा त्यसै के के भन्छ केके्र” एउटा बुढी फुपू मात्र हुनहुन्थ्यो, उहाँ पनि यसपाली भिनाजु आएर लिएर जानु भो रे । मेरो त अहिले साल कतै जाने ठाउ नै भएन । भूमिलाई ममीले सम्झाउदै भन्छिन “बाबु अर्को साल मामा, माइजु, हजुरबा, हजुरआमा, सबै आउनु हुन्छ रे अनि जाउला है ल ।” भुमि निराश हुँदै भाई काकाको छोरौ संग खेल्न थाल्छ । फेरि एकैछिन पछि भुमि खुशी हुँदै ममी भएको ठाउँमा आउदछ र भन्छ, “ममी जेठी बोजुको घरमा जाउन, मामाले मलाइ टिका लगाएर कति धेरै पैसा दिनुहुन्छ । पोहोर साल त बाबा र हजुरलाई हजार हजार र मलाइ ५०० दिनु भाथ्यो नी । ” मेरो त एउटा मामा घर जादा नै तिम्रो भन्दा कत्तिधेरै पैसा भाको नी तिमीलाई के थाहा ! भुमि भाईसंग धक्कु दिदै भन्छ । “जाउँ न ममी छिटो गर्नुस नमामा घर ! छिट्टो गर्नुसन ममी” भुमि अझै ढिपी गर्दछ । “होइन बाबु कत्ति जिद्दी गरेको ! बाजे बोजुहरु पनि यसपाली यहा हुनुहुन्न, उहाहरु पनि बेलायतगइसक्नु भयो ।” “कैले जानु भो ? त्यसो भए माइली बोजुको घरमा जाउ न त ममी !” फेरी उही ढिपी “के भाको भुमि तिमिलाई ! माइलि बोजु पनि कहाँ यता हुनुहुन्छ त ! पोहोर नै जानु भाको होइन र !”“ल सबै जनालाई किन जानु परेको ?” भुमी प्रस्न गर्दछ ।“अ ! ममी त्यसो भए महांकालको मामा घर जाउन त । ”“बाबु त्यता पनि यसपालि जान नपाइने भो, मामाको सन्तान नै बा आमाको हातको टिका लगाउन नपाएको धेरै भो भनेर, टिका लगाउन र संगै दशैँ मनाउने भनेर भिषा अप्लाइ गरेको बल्ल भिषा दियो रे, अनिउहाँहरु पनि जानु भयो नी अस्ति भर्खर दशैको मुखमा ।” अब आफुले सम्झेको र जानेगरेको सबै ठाउँमा जान नपाउने भए पछि भुमि एकदम निराश भइ आखाबाट ठुल्ठुला आशुका ढिका झार्दै रुन थाल्द्छ । उ सुत्ने कोठाको खाटको कुनामा गएर धकिधकि रुन थाल्दछ । घरका सबै खाना खान व्यस्त हुन्छन । खाना खान कति बोलाउदा पनि भुमि आउदैन । लगाएका नयाँ लुगा पनि सबै फुकाएर फ्याकिदिन्छ र रोइमात्र रहन्छ्र उसको भाईले उसलाई जिस्काउदै भन्छ “म त भोलि बिहानै पोखरा मेरो मामा घर जान्छु ,मेरो पैसा तिम्रो भन्दा धेरै हुन्छ भन्थेउ नी खै त ? तिमि काहा जाने र अब तिमीलाई कस्ले टिका लगाई दिन्छ ?” भूमिको दाई, दिदी, ठुलाबा, काकाहरु सबैले उसलाई पैसा दिन्छन् र फकाउन थाल्दछन् तर उ मान्दै मान्दैन । खाना पनिखाएन र दिनभरि नै रोएर बसी रह्यो । घरमा बुढा बुढी भएकोले टिका लगाउन आउने जानेहरुको चहल पहल भइरहन्छ । भूमिलाई फुल्याउन उसको ममीलाई फुर्सद पनि छैन । साझ परि सकेको छ । उसका काका, ठुलाबा,दिदिदाईहरु आ–फाफ्नो नातेदार, मामाघर तिर टिका लगाउनगइसकेका हुन्छन् । घरमा अब पाहुनाको चाप पनी कम भइ सकेको छ । भुमिको बाबा र ममिभुमिलाई लिएर भूमिको घर पट्टिको काका हजुरबा को मा टिका लगाउन जानलाई तयार पर्दछ । भूमिको कान्छा काका, काकी र भाई पनि उनीहरुसंगैजान तयार परिसकेका छन्, तर भुमि मान्दै मान्दैन । उ अहिले सम्म रुदै बसीरहेको छ । भूमिको काकाको छोरा भाई भोलि बिहान मामा घर जाने खुशियालीमा गदगद छ, फुरुंग हुँदै एताउता दगुर्दछ र भूमिलाई भन्छ ‘जाउँन भुमिउठन,म पनि जान्छु नीकाका हजुरबाकोमा टिका लगाउन, बाबाले भन्नु भाको मामा घर तिरको हजुरबा, हजुरआमा ,मामा, माईजुले टिका लगाएर दक्षिणादिनु हुन्छ तर घर तिर त आशिर्बाद मात्र दिनु हुन्छरे । “ ‘भो म जान्न तिमिहरु मात्र जाउ’भुमि रुदै भन्छ । ‘कत्ति फकाउदा सम्झाउदा पनि भुमि मान्दै मान्दैन रोइ मात्र रहन्छ । उ जान नमाने पछि उसको ममी पनि काकाबाकोमा टिका लगाउन नगई भुमिलाइ फकाएर घरमै बस्छिन् । घरमा सुनसान भइ सकेको छ, त्यहि बेला भूमिको ममीको मोबाएलमा फोन घन्टी बज्दछ । उसको मामा घरको बोजुको फोन रहेछ । उहाँहरु बेलायत गएर बस्नथाल्नु भएको पनि ४,५ बर्ष भइ सकेकोछ । भुमिका मावली पट्टिका सम्पूर्ण आफन्तहरु ब्रिटिश आर्मी, भू पु ब्रिटिश आर्मी भएको हुँनाले बेलायत सरकारले उहाँहरुको परिवारलाई बेलायतमै बस्न पाउने साथै सिटिजनसिप दिने निर्णय गरिसकेकोले भूमिका मावलीखाल सबै बेलाएत बसाइ सरेका छन् । कतिले तआफ्नो नेपालको घर जग्गाहरु समेत बेची पैसा लिएर बेलायत गई त्यहि नै स्थाई बसोबास गर्न थालिसकेका छन् । भूमिको ममीले भुमिको बारेमा सम्पूर्ण कुरा उसको बोजुलाई फोनमा बताउनुहुन्छ्र भुमिको बोजु भुमिसंग फोनमा बोल्न खोज्नुहुन्छ तर उ बोल्न मान्दै मान्दैन । उसको ममीले धेरै बेर ललाई फकाई,सम्झी बुझाइ गरेपछि मात्र उ बोजु संग बोल्दछ र सुरुमै प्रश्न सोध्छ किन तपाईहरु सबैजना जानु भाको ?, भुमि दशैमा टिका लगाउन आउछ भन्ने तपाईलाई थाहा थिएन आमा? आज भुमिको ममीलाई बेलायतबाट सम्झेर फोन गर्ने जति सबैलाई भुमि यही प्रश्न दोहोर्याउछ सोधिरहंछै । भुमि जस्तो अबोध बालकलाई के थाहा,किन सम्पूर्ण नेपालीहरु विदेश जान चाहन्छन, गइ रहेकाछन् ?,किन सबैलाई विदेशको मोह बढेको छ ? नेपालमा त्यसताका २४ घण्टामा १८ घण्टासम्म लोडसेडिंग हुने कुरा भूमिलाई के थाहा ?, काम गर्न चाहनेलाई काम नहुनु, नियम कानुन गरिबलाई मात्र लागु हुनु, गाउँ गाउँमा हत्या हिंशा, लुटपाट, राजनैतिक खिचातानि, गरि खाने भन्दा लुटेर, ढाटेर, चोरेर र ठगेर खानेहरुको मान सम्मान, इज्जत हुनथालेको कुरा भूमिलाई के थाहा । वुद्धकोदेश, शान्तिको देशमा, बारुदको, हत्याहिंसाको गन्ध आउन थालेको भूमिलाई के थाहा ? आफ्नो जन्म भूमिको माया कस्लाई हुँदैन होला र ! रहर र खुशी भन्दा बढी बाध्यताले मानिसहरु परदेश लाग्छन भन्ने कुरा भुमिलाई के थाहा । मौका, अबसर, शान्ति, अमन चयन र खुशी खोज्दै मानिसहरु कहाँबाट कहाँ पुग्छन । त्यो अबोध भुमिलाई के थाहा ? आफ्नै देशमा सुख शान्ति र अबसर पाए को बिदेसिन्थ्यो होला भन्ने कुरा भूमिलाई के थाहा ? भुमिको यि र यस्तै प्रश्नहरुले उसका सम्पूर्ण आफन्तहरु आज सम्म मौन छन, स्तब्ध छन् र खै कसरी उसलाई बुझाउने हो भनि उत्तर खोजिरहेछन ।








