
काठमाडौं- बारा र पर्सामा आइतबार साँझ वर्षासँगै आएको भीषण हावाहुरीमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ । एक्कासि आएको हावाहुरीका कारण बारा र पर्सामा गरी ३१ जनाको मृत्यु भएको हो । ५०० भन्दा बढी मानिस घाइते छन् ।
हावाहुरीले बारामा मात्रै २७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको छ । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।
यसैगरी, पर्सामा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ । हावाहुरीका कारण कैयौं घाइते भएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ । हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।







