काठमाडौँ – कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।

नेपाल बार एशोसिएनको आज हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी निकट कानून व्यवसायीको समूह ‘प्रगतिशील, पेशागत तथा समावेशी समूह’ र नेपाली काङ्ग्रेस निकटका कानून व्यवसायी समूह ‘बृहत् लोकतान्त्रिक समूह’ बीच चर्को प्रतिस्पर्धा देखिएको हो ।

निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी निकट कानून व्यवसायीको समूह ‘प्रगतिशील, पेशागत तथा समावेशी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र  बृहत् लोकतान्त्रिक समूहको नेतृत्व अधिवक्ता सुनील पोखरेलले  गरेका छन् ।

बारमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक जना र सातै प्रदेशबाट एक/एक जना गरी आठ जना उपाध्यक्ष निर्वाचित हुनेछ । बारको २५ कार्यसमितिका लागि ६३ जनाको उम्मेदवारी परेको छ ।  देशभर रहेका १० हजार ३१३ मतदाताले ३५ मतदान केन्द्रबाट मतदान गर्नेछन् । केन्द्रीय कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।