निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेशसभाको चुनाव गर्न प्रस्ताव गरेको छ । शुक्रबार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा आयोगले यस्तो प्रस्ताव गरेको हो ।
शुक्रबार आयोगसँगको छलफलपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आयोगले स्थानीय तहको निर्वाचन बैशाखभित्र र प्रदेशसभाको निर्वाचन मङ्सिरमा गर्ने गरी प्रस्तुत गरेको समयतालिका उपयुक्त देखिएको उल्लेख गरे । यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो भने प्रदेश सभाको निर्वाचन २०७९ मंसिर ४ गते भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल २०८४ साल वैशाख ३० मा सकिँदैछ । गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुन्छ । अघिल्लो निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिन अब करिब पाँच महिना बाँकी छ । प्रदेशसभाको भने केहि समय बढी बाकी रहेको छ ।








