सवारीसाधन खरिद–बिक्री गर्दा नामसारीका लागि यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने बाध्यता हट्ने भएको छ । यातायात व्यवस्था विभागले सवारीसाधन दर्ता तथा नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै संशोधित व्यवस्थाअनुसार सेवा प्रवाह गर्न सम्बन्धित सबैलाई जानकारी गराएको हो । विभागका अनुसार अब निजी तथा सार्वजनिक सवारीसाधनको पहिलो पटक नामसारी गर्दा डिलरले यातायात व्यवस्था कार्यालयमा गराएको चेकजाँचलाई नै मान्यता दिइनेछ । यससँगै पुनः यातायात व्यवस्था कार्यालयमा गएर चेकजाँच गराउनुपर्ने व्यवस्था हटाइएको छ । त्यसैगरी, सवारीसाधन बिक्री गर्ने डिलरले खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि नामसारी प्रक्रिया पूरा गर्न सक्नेछन् । यसका लागि खरिदकर्ताको बायोमेट्रिक विवरण, नेपाल सरकारबाट जारी भएको सक्कल परिचयपत्र र खरिदकर्ताको फोटोसहितको सक्कल परिचयपत्र वारेसनामामा प्राप्त भएको हुनुपर्ने छ ।
विभागले सवारीसाधनको बीमा गर्ने वा बीमा नवीकरण गर्ने प्रयोजनका लागि समेत सवारीधनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटाएको छ । अब सवारीधनीको अनुपस्थितिमै बीमा तथा नवीकरणसम्बन्धी काम गर्न सकिनेछ । यसैगरी, निजी तथा सार्वजनिक सवारीसाधनको नामसारी गर्दा विभागबाट विद्युतीय प्रणाली सम्बन्धी प्राविधिक व्यवस्था गरिएको सूचना जारी भएपछि सवारी विक्रेता, वितरक वा कम्पनीले उक्त प्रणालीमा आबद्ध हुन सक्नेछन् । नयाँ व्यवस्थाले सवारीसाधन खरिद–बिक्री, नामसारी तथा बीमा नवीकरणका क्रममा सेवाग्राहीले व्यहोर्दै आएको झन्झट कम गर्नुका साथै समय र खर्च बचत हुने अपेक्षा गरिएको छ ।