बनेपा, काभ्रेपलाञ्चोकका १३ वटा स्थानीय तह मध्ये भूमि प्रशासन सम्बन्धी सेवा सञ्चालन आफ्नै कार्यालयबाट गर्न बाकी पालिकाले अब भूमि प्रशासनसम्बन्धी सेवा आफ्नै कार्यालयबाट सञ्चालन गर्नुपर्ने भएको छ । भूमि प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका पाँच नगरपालिका र पाँच गाउँपालिकालाई तोकिएको समयभित्र सेवा सञ्चालन गर्ने आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८३ कात्तिक १६ गतेको पत्रअनुसार सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र सम्बन्धित स्थानीय तहले भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट प्राप्त पत्रका आधारमा भूमि प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मंसिर २ गते जिल्लाका १० स्थानीय तहलाई पत्राचार गर्दै सेवा सञ्चालनका लागि आवश्यक तयारी गर्न आग्रह गरेको छ । निर्देशनअनुसार धुलिखेल, बनेपा, पनौती, पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा बेथानचोक, तेमाल, चौरीदेउराली, खानीखोला र महाभारत गाउँपालिकाले भूमि प्रशासन सेवा सञ्चालन गर्नुपर्नेछ ।
सेवा सञ्चालनका क्रममा आवश्यक समन्वय तथा सहजीकरणका लागि भूमि प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहअनुसार कर्मचारीलाई फोकल पर्सनसमेत तोकेको छ । जसमा बेथानचोक गाउँपालिकाका लागि जयबहादुर वाइवा, तेमालका लागि देवीदत्त घिमिरे, धुलिखेलका लागि रामभक्त हुमागाईं, बनेपाका लागि सम्झना लुइँटेल, खानीखोलाका लागि सुरेन्द्र अधिकारी र राजेशकुमार बजगाईंलाई, पाँचखालका लागि जयबहादुर वाइवा र मण्डनदेउपुरका लागि कुलबहादुर बस्नेत, चौरीदेउरालीका लागि कुमार लुइँटेल, पनौतीका लागि पूर्णबहादुर खड्का तथा महाभारतका लागि उमेश राई र चन्दन पुन मगरलाई फोकल पर्सनको जिम्मेवारी दिइएको छ । बाँकी ३ पालिकामा भने यसअघि नै स्थानीय तहबाटै भूमि प्रशासन सेवा सञ्चालन भएको छ ।