सरकारले स्वीकृत गरेको ‘राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३’ मा आगामी दश वर्षभित्र आधा घण्टाको पैदलयात्राको दुरीमा सुरक्षित तरितराउको सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ । नीतिले स्थानीय तहमा ‘झोलुङ्गे पुल मर्मत–सम्भार कोष’ स्थापना गरी अनिवार्य रूपमा ‘पुल हेरालु’ नियुक्त गरिने व्यवस्था गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गर्ने निर्णय गरेको हो । यसअघि झोलुङ्गे पुल निर्माण तथा व्यवस्थापनका लागि २०६२ को रणनीतिमात्र कार्यान्वयनमा रहेकोमा पहिलो पटक स्पष्ट राष्ट्रिय नीति जारी गरिएको पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागले जनाएको छ । विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर कमल कुमार अधिकारीले विभागमार्फत मस्यौदा तयार पारी पेस गरिएको पहिलो नीति मन्त्रिपरिषद्बाट स्वीकृत भएको जानकारी दिए । भौगोलिक विकटता रहेका दुर्गम तथा ग्रामीण भेगमा आवागमन सहज बनाउन, नदी–खोलाका कारण हुने जोखिम न्यूनीकरण गर्न र संघीय शासन प्रणालीअनुरूप तीनै तहका सरकारको कार्यक्षेत्र तथा दायित्व स्पष्ट पार्न यो नीति महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।
प्रवक्ता अधिकारीका अनुसार २०८२ असारसम्म देशभर ११ हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेका छन्, जसबाट दैनिक करिब १३ लाख नेपाली नागरिक लाभान्वित भइरहेका छन् । मौजुदा कानुनमा झोलुङ्गे पुलका विषयमा संघ, प्रदेश र स्थानीय तहको भूमिका तथा जिम्मेवारी स्पष्ट नहुँदा योजना छनोट र कार्यान्वयनमा दोहोरोपन देखिने गरेको थियो । आवश्यकता पहिचान, प्राथमिकीकरण, योजना, तथ्यांक र अभिलेखीकरणमा अन्योलता रहनुका साथै सडकपुल बनेपछि प्रयोगविहीन बनेका पुराना झोलुङ्गे पुलको व्यवस्थापनसमेत हुन सकेको थिएन । यी यावत् समस्या समाधान गर्दै तीन तहका सरकारको आपसी क्षेत्राधिकार र कार्यजिम्मेवारी स्पष्ट पार्न तथा संघीय शासन प्रणाली अनुकूल नयाँ कार्यविभाजन तय गर्न यो नीति अपरिहार्य बनेको विभागले जनाएको छ । साथै, सोह्रौँ आवधिक योजनाले लिएको ३ हजार ५ सय झोलुङ्गे पुल निर्माणको लक्ष्य हासिल गर्नसमेत नयाँ नीतिले मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ ।
नेपालमा परम्परागत रूपमा तुइन, बाँस वा काठेपुल, फड्के र फलामे साङ्लाको प्रयोग हुँदै आएकोमा राणा प्रधानमन्त्री चन्द्र शमशेरको समयमा स्कटिस प्रविधिमा आधारित आधुनिक झोलुङ्गे पुल निर्माण सुरु भएको इतिहास छ । २००७ सम्म करिब ३० वटा पुल निर्माण भएकोमा सुरुवाती चरणमा एसियाली विकास बैंक (एडीबी), बेलायत सरकार र स्वीस सरकारलगायतका विकास साझेदारबाट सहयोग प्राप्त भएको थियो । समग्र झोलुङ्गे पुल क्षेत्रलाई निर्देशित गर्न कुल ७ वटा नीति र १९ वटा रणनीति समेटिएका छन् । जसमा तीनै तहका सरकारबिच भूमिका स्पष्ट पारी समन्वय र नियमन प्रभावकारी बनाउने, ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि र पर्यटकीय स्थलहरूको प्रवद्र्धनमा टेवा पुग्ने गरी पुल निर्माण गर्ने तथा सरोकारवालाबिच पारदर्शिता र एकरूपता ल्याउन क्षेत्रगत अवधारणालाई निरन्तरता दिने विषय समेटिएका छन् ।
नयाँ नीतिले ‘आधारभूत पहुँचमा सुधार, ग्रामीण समृद्धिको आधार’ भन्ने दुरदृष्टि राखेको छ । त्यस्तै, आगामी दश वर्षभित्र आधा घण्टाको पैदलयात्राको दुरीमा सुरक्षित तरितराउको सुविधा उपलब्ध गराउँदै झोलुङ्गे पुलसम्बन्धी ज्ञान, सिप र प्रविधिलाई प्रवद्र्धन गर्ने दीर्घकालीन लक्ष्य तय गरिएको छ । नागरिकलाई आधारभूत वस्तु, सेवा र अवसरमा सहज पहुँच अभिवृद्धि गर्न आधा घण्टाभन्दा बढी पैदल यात्रा गर्न नपर्ने गरी पुल निर्माण गरिने नीतिमा उल्लेख छ ।
यसैगरी निर्माण तथा मर्मतसम्भारमा स्थानीय श्रम, सिप, सामग्री र जलवायु उत्थानशील प्रविधिको उच्चतम प्रयोग गरी कार्यलाई लागतप्रभावी र दिगो बनाउने, प्रयोगविहीन पुलको उचित व्यवस्थापन गर्ने तथा संलग्न निकाय र जनशक्तिको संस्थागत क्षमता अभिवृद्धि गर्ने विषयलाई नीतिले प्रमुख प्राथमिकता दिएको छ । निर्माणपछिको मुख्य मर्मतसम्भारको दायित्व स्थानीय सरकारकै हुने नीतिमा उल्लेख छ । नियमित मर्मतका लागि स्थानीय तहमा ‘झोलुङ्गे पुल मर्मत–सम्भार कोष’ स्थापना गरी अनिवार्य रूपमा ‘पुल हेरालु’ (ब्रिज वार्डेन) नियुक्त गरिनेछ । विविध कारणले प्रयोगविहीन भएका पुलको पहिचान गरी अन्यत्र स्थानान्तरण गर्ने, स्थानीय समुदायलाई हस्तान्तरण गर्ने वा पत्रु बनाएर लिलाम गर्ने अधिकार पनि स्थानीय तहलाई नै दिइएको छ । साथै, मेला, जात्रा तथा अन्य भिडभाडका समयमा पुल उपयोग गर्दा आइपर्ने सुरक्षा जोखिम व्यवस्थापन गर्न स्थानीय तहले स्थानीय प्रशासनको समन्वयमा विशेष सुरक्षा विधि अपनाउनुपर्नेछ ।








