युवाहरूलाई रोजगारमुखी तथा व्यावसायिक सीप प्रदान गर्ने उद्देश्यले पाँचखाल नगरपालिकाको आयोजना तथा इन्नोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टर, बनेपाको समन्वयमा १६० घण्टे बारिस्टा तालिम दिईएको छ ।
तालिमको शुरुवात पाँचखाल नगरपालिकाकी उपप्रमुख सूर्यमाया दनुवारको प्रमुख आतिथ्यता तथा इन्नोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरका प्रोप्राइटर कमदेव शाह ठाकुरीको विशेष उपस्थितिमा गरिएको हो । तालिम कार्यक्रम मार्फत सहभागीहरूलाई कफी बनाउने कला, ग्राहक सेवा, कफी मेसिन सञ्चालन, खाद्य तथा पेय पदार्थ सम्बन्धी आधारभूत ज्ञानलगायत बारिस्टा पेशासँग सम्बन्धित व्यवहारिक तथा सैद्धान्तिक सीप प्रदान गरिने इन्नोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरका प्रोपाइट कामदेव शाह ठकुरीले बताए । तालिमले सहभागीहरूलाई स्वदेशमै रोजगारी तथा आत्मरोजगारका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख दनुवारले युवाहरूलाई समयको मागअनुसार सीपयुक्त बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताउँदै यस्ता तालिमले युवाहरूको क्षमता अभिवृद्धि गर्नुका साथै आर्थिक सशक्तीकरणमा समेत टेवा पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि कमदेव शाह ठाकुरीले आतिथ्य तथा सेवा क्षेत्रको बढ्दो सम्भावनालाई दृष्टिगत गर्दै दक्ष बारिस्टाको माग दिनप्रतिदिन बढिरहेको उल्लेख गरे। उनले तालिममा सहभागी युवाहरूले सिकेका सीपलाई व्यवहारमा उतार्दै सफल व्यवसायी तथा दक्ष जनशक्तिका रूपमा स्थापित हुन सक्ने बताए ।








