दक्ष इन्टरनेशनलको आयोजनामा विगत लामो समयदेखि सञ्चालन हुँदै आएको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल–२०२६ को नयाँ संस्करण घोषणा गरिएको छ । राजधानीस्थित सिटी सेन्टरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको औपचारिक जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष तथा सेलिब्रेटी मेकअप आर्टिस्ट टेकराज पाण्डेले यस वर्षको संस्करणलाई अघिल्ला वर्षहरूको तुलनामा अझ भव्य, व्यवस्थित र प्रभावकारी बनाइने बताए ।
सौन्दर्य प्रतियोगिता केवल ताज जित्ने प्रतिस्पर्धा मात्र होइन, व्यक्तित्व निर्माण, आत्मविश्वास अभिवृद्धि र जीवनका नयाँ सम्भावनाहरूको ढोका खोल्ने एउटा सशक्त मञ्च भएको उल्लेख गर्दै पाण्डेले दक्ष इन्टरनेशनलले विगत एक दशकदेखि महिलाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको बताए । उनले प्रतियोगिताले धेरै युवती तथा महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । यस वर्ष मिस व्यूटिफुल नेपालको ११औँ तथा मिसेस व्यूटिफुल नेपालको १०औँ संस्करण आयोजना हुन लागेको हो । प्रतियोगिताको अडिसन तथा छनोट प्रक्रिया आगामी असार २० गतेबाट सुरु हुनेछ भने भव्य ग्राण्ड फिनाले श्रावण ३० गते राष्ट्रिय नाचघरमा आयोजना गरिनेछ ।
पत्रकार सम्मेलनमा वरिष्ठ अभिनेता धिरेन शाक्य, वरिष्ठ गायक आनन्द कार्की, अफिसियल कोरियोग्राफर आश्विनी कान्त झा, सामाजिक अभियन्ता रमेश बुढाथोकी, स्वास्थ्य व्यवसायी तथा समाजसेवी प्रह्लाद चौहान, अफिसियल मेकअप पार्टनर चन्दा पुन, फेसन डिजाइनर दिना गुरुङ, फोटोग्राफर बद्री थापा तथा कानुनी सल्लाहकार स्वागत नेपाललगायतको उपस्थिति रहेको थियो । विशेषगरी विवाहित तथा अविवाहित दुवै महिलाहरूका लागि खुला रहेको यस प्रतियोगिताले उनीहरूलाई आफ्नो पहिचान निर्माण गर्न, सामाजिक तथा व्यावसायिक सञ्जाल विस्तार गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई स्थापित गर्न मद्दत पु¥याउने विश्वास गरिएको छ । धेरै महिलाहरूका लागि यो प्रतियोगिता आत्मविश्वास जागृत गर्ने, सपनाहरूलाई नयाँ उचाइ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउने अवसर बन्ने गरेको आयोजकको अनुभव छ ।








