बनेपा, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको साधारणसभा शाखा अध्यक्ष विनोद कुमार न्यौपानेको अध्यक्षता तथा महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा शनिबार बनेपामा सम्पन्न भएको छ ।
साधारणसभाले सचिव नगेन्द्र अधिकारीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष केशवराज पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सदस्यहरूको सुझावसहित पारित गरेको छ । सो अवसरमा स्व भरतराज श्रेष्ठ पत्रकारिता पुरस्कारबाट बरिष्ठ संचारकर्मी मधुसुधन गुरागाईलाई सम्मान गरिएको कार्यक्रममा केन्द्रीय अध्यक्ष शर्मा, बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर लगायत जिल्लाका पूर्वअध्यक्षहरू, प्रेससँग सम्बद्ध संघ–संस्थाका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।
साधारणसभाले श्रमजीवी पत्रकारहरूको ट्रेड युनियन अधिकार सुनिश्चित गर्न महासंघको प्रदेश तथा केन्द्रीय कार्यसमितिलाई स्पष्ट नीति तथा कानुन निर्माण गरी अघि बढ्न अनुरोध गरेको छ । त्यस्तै, सूचनाको हकलाई अक्षरशः कार्यान्वयन गर्दै समान रूपमा सूचना उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । एकद्वार प्रणालीका नाममा सञ्चारमाध्यम बन्द गराउने सरकारी कदमको भत्र्सना गर्दै मिडियामैत्री विज्ञापन नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकारसँग आग्रह गरिएको छ ।
साधारणसभाले लोककल्याणकारी विज्ञापन नीतिमा सुधार गर्दै विज्ञापनबापत उपलब्ध गराइने रकम दोब्बर बनाउन तथा समानुपातिक वितरणको व्यवस्था गर्न माग गरेको छ । त्यसैगरी सूचना तथा सञ्चारसँग सम्बन्धित निकायका पदाधिकारीको निलम्बन तथा बर्खास्ती गर्ने प्रक्रिया तत्काल बन्द गर्न माग गरिएको छ । सञ्चार क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरोकारवालाको सहभागितामा सर्वपक्षीय भेला आयोजना गरी संविधान प्रदत्त हक, अधिकार तथा सुरक्षालाई सुनिश्चित गर्नेगरी कानुन निर्माणको पहल गर्न महासंघलाई अनुरोध गरिएको छ । साधारणसभाले काभ्रेपलाञ्चोक जिल्लाका सम्पूर्ण स्थानीय तह तथा सरकारी निकायलाई लोककल्याणकारी विज्ञापन तथा सूचनाहरू जिल्लामा सञ्चालित सम्पूर्ण सञ्चारमाध्यममा समानुपातिक रूपमा वितरण गर्न माग गरेको छ । यस्तै, प्रेस स्वतन्त्रता, प्रेसमाथिको नियन्त्रण तथा सञ्चारसम्बन्धी कानुन संशोधनजस्ता संविधान र सञ्चारमाध्यमविरोधी गतिविधिविरुद्ध केन्द्रीय समितिले सञ्चालन गरेका आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनका कार्यक्रममा सक्रिय सहभागिता जनाउन सम्पूर्ण सञ्चारकर्मी तथा सरोकारवालासमक्ष आह्वान गरिएको छ ।