विदेश जानको लागि संघर्षरत एक नेपाली नारीको घरदेशदेखि परदेशसम्मको प्रेम र उतारचढावलाई कौतुहलमय रूपमा देखाइएको प्रेम कथामा आधारित उपन्यासमा परदेशमा गलत संगत र आचरण भएको युवकसँगको प्रेमले जीवन तहसनहस भएको विषयलाई समेटेर आकर्षक ढङ्गले प्रस्तुत गरिएको बताइएको छ ।

चर्चित साहित्यकार एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष गोवर्द्धन पूजाका अनुसार नेपालदेखि युरोप महादेशीय भूभागलाई छोएको भए पनि घर छोड्ने आम नेपाली युवाको ब्यथा सो उपन्यासले बोकेको छ । नेपाली पात्रका जीवनका अनेक मोडहरूको सटिक चित्रण पाइने उपन्यासले आजको जीवन र परदेशी परिवेश सोचेजस्तो सरल छैन भन्ने सारलाई मूल चुरो बनाएको र पात्र पात्राका जीवनका अनेक घुम्तीहरूका कारण उपन्यास रोचक एवं पठनीय भएको कुरा अनेसासका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले उल्लेख गरेका छन् ।

परदेश बसाइको लामो अनुभव र दर्जनौँ घटनाका भुक्तभोगी आफैँ भएकाले पनि उपन्यासमा उठान गरेको विषय यथार्थको नजीक बग्दै गएको हुँदा कतिपयलाई आफ्नै कथा जस्तो वा कतै देखेको, कतै सुनेको घटना जस्तो लाग्न सक्ने र नसुनेकाहरूका लागि पनि ज्ञातव्य भएको उपन्यासकार सापकोटाले बताए ।

डेनमार्क निवासी साहित्यकार प्रकाश सापकोटाको यो दोश्रो उपन्यास र छैठौँ प्रकाशित कृति हो । शिखा बुक्सका आधिकारिक विक्रेता मार्फत विक्री वितरण भइरहेको ३९५ रूपैयाँ मूल्यको उक्त उपन्यास अनलाइन खरिदका लागि पनि उपलब्ध रहेको जनाइएको छ ।