नमोबुद्ध नगरपालिमा रहेको जनक माध्यमिक विद्यालयमा सञ्चालन गरिएको पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विद्यालयका विद्यार्थीहरूले रोपेको आलु उत्पादन गरी त्यसलाई दिवा खाजाका रूपमा प्रयोग गर्न थालेका छन ।
विद्यार्थीहरूले खेतमा उत्पादन गरेको आलु उसिनेर नुन–खुर्सानीसँग दिवा खाजा खाने गरेको विद्यालयले जनाएको छ । आफ्नै पसिनाले फलाएको आलुको स्वादले विद्यार्थीहरूमा खुसी मात्रै होइन, श्रमप्रतिको सम्मान र आत्मनिर्भरताको भावना समेत बढाएको विद्यालयले जनाएको छ । कार्यक्रममार्फत विद्यार्थीहरूमा सहकार्य, जिम्मेवारी र उत्पादनमुखी सोचको विकास भइरहेको छ । खेतमा गरेको सानो प्रयासले विद्यालयभर खुसी फैलिएको भन्दै विद्यालयले यसलाई शिक्षासँगै व्यवहारिक सीप सिकाउने अभियानका रूपमा लिएको जनाएको छ । विद्यालयका अनुसार यस वर्ष करिब ६ हजार केजी आलु उत्पादन भएको अनुमान गरिएको छ । उत्पादित आलुमध्ये केही दिवा खाजा तथा विद्यालयको छात्रावासका लागि प्रयोग गरिने र बाँकी आलु बिक्री गरिने विद्यालयले जानकारी दिएको छ ।







