बनेपा, बिगतमा आलुबाट राम्रै दाम र बजार पाएका किसानले यो पटम राम्रो मुल्य नपाउदा निराश बनेका छन । यतिबेला किसानहरु खेतबारीबाट आलु खनिरहेका छन् ।
तर उत्पादन बढे पनि आलु बिक्री गर्न बजार अभाव भएका कारण किसान चिन्तित बनेका छन् । काभ्रे जिल्लामा प्रमुख रूपमा आलु उत्पादन हुने पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा अहिले किसान धमाधम आलु खनिरहेका छन् । खेतका गह्राभरि आलुका बोरा ठडिएका छन् । सडक छेउमा पनि आलुको चाङ लागेको देखिन्छ । तर किसान भने खुसी देखिएका छैनन् । बजार मूल्य खस्किँदो छ । खेतबारीमै पुग्ने व्यापारी पनि आउन छाडेका छन् । अहिले आलु प्रतिकिलो रु सातदेखि रु १० सम्ममा बिक्री भइरहेको छ । जबकी गतवर्ष यो बेला रु ३० सम्ममा बिक्रि हुने गर्दथ्यो ।
आलु सस्तोमा बिक्री गर्नुपर्दा किसान आलु ‘खन्ने या नखन्ने’ अलमलमा किसान देखिन्छन् । “खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ ।” यस वर्ष आलुको मूल्य घटेकाले लागत उठ्न हम्मेहम्मे हुने एक किसानको भनाई छ । अन्य बालीको तुलनामा आलुखेतीमा लागत खर्च बढी हुने गर्दछ । जमिन तयारी, प्राङ्गारिक तथा रासायनिक मल, आलुको बीउ, सिँचाइ, औषधि तथा जनशक्ति खर्च हिसाब गर्दा प्रतिकिलो रु १८ देखि रु २० सम्म पर्छ । छिप्पेको आलु नखन्दा खेतमै कुहिने डरले घाटा खाएरै भए पनि खनेर बेचेको किसानहरु बताउछन ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार काभ्रेपलाञ्चोकमा हरेक वर्ष नौ हजार १६३ हेक्टर जमिनमा वार्षिक एक लाख ८९ हजार ७८ मेट्रिक टन आलु उत्पादन हुन्छ । यहाँका किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुमध्ये उपभोगलाई छुट्याएर सङ्घीय राजधानी काठमाडौँको बजारमा पुर्याउँदासमेत तरकारीको ३५ प्रतिशत हिस्सा काभ्रेपलाञ्चोकबाटै थेगिएको तथ्याङ्क छ । यसमध्ये आलुको मात्रा अग्रस्थानमा रहेको छ ।








