धुलिखेल, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दल, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधिहरुसँग छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले निर्वाचन तयारी, सुरक्षा अवस्था, मौन अवधिका विषयमा जानकारी गराउँदै निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्लाबासीहरुमा अनुरोध गरेका छन ।
अधिकारीले मौन अवधिमा कुनै पनि प्रकारका अन्र्तक्रिया, छलफल, सभा सम्मेलन, कार्यशाला, गोष्ठी भोजभतेर गर्न पाईदैन । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न गराउन बर्जित गरिएको भन्दै
मौन अवधिमा निषेध गरिएका विषयहरु पूर्ण रुपमा पालना गराउन, निर्वाचनको समयमा पनि दल, दलका कार्यकताहरुले त्यसको परिपालना गर्न अनुरोध गरे । क्षेत्राधिकार बाहिर गएमा निर्वाचन ऐन अनुसार कारवाही हुने उनले बताए । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले मतदान केन्द्रमा कर्मचारी खटिएर जाने क्रम शुरु भएको बताए । १८ गते साँझसम्म सबै मतदान केन्द्रमा कर्मचारीहरु सामग्री सहित पुगिसक्ने छन ।
क्षेत्र नम्वर १ का निर्वाचन अधिकृत टिकाभुषण घिमिरे, सुरक्षा निकायका प्रमुखहरु, सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई लगायतले जिल्लाको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए । आचार संहिता अनुगमन समितिका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी गुरागाईले जिल्लामा आचार संहिता उल्लंघन सम्वन्धि आएका मौखिक तथा लिखित उजुरीहरुको अध्ययन गरि अधिकांश फछ्र्याैट भएको बताए । मौन अवधीमा समेत आचार संहिता पूर्ण रुपमा पालनाका लागि उनले अनुरोध गरे । जिल्ला निर्वाचन कार्यालयका प्रमुख जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले निर्वाचन आयोग मार्फत जिल्लामा भईरहेको तयारीका बारेमा जानकारी गराए । आईतबार साँझसम्म २ सय मतदान केन्द्रका मतदान अधिकृतहरुले निर्वाचन सामग्री बुझेर लगेको उनले बताए । बाँकी सामग्री सोमबार विहान ७ बजे देखि ५ बजेसम्म वितरण गरिने उनले बताए ।