बनेपा, सरकारले देशभर कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु गरेको छ । गत वर्ष छुटेका कक्षा ७ देखि १० सम्मका किशोरी र ११ देखि १४ वर्षका विद्यालयबाहिरका किशोरीलाई पनि यसपटक खोप दिइनेछ ।
नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख कारण भएकाले खोप अभियानलाई प्रभावकारी बनाउन सबैलाई आग्रह गरिएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार हिजोदेखि फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको छ । अभियानकै क्रममा गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरी पनि सोही अभियानअन्तर्गत खोप लगाउने र हिमाली तथा हिउँ पर्ने जिल्लामा भने चैतमा सञ्चालन हुने छ ।
पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध एचपिभी खोप लगाउनुपर्ने हुन्छ । सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरी खोप लगाएको थियो । महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको छ ।
यसैक्रममा काभ्रेपलाञ्चोक जिल्लामा ३ हजार २ सय ९० जना बालिकालाई खोप लगाउने अपेक्षा गरिएको छ । जसमा धुलिखेलमा २५९, बनेपामा ९५५, पनौतीमा ५००, पाँचखालमा २८४, मण्डनदेउपुरमा २३०, नमोबुद्धमा १८७, भुम्लुमा ८३, चौरीदेउरालीमा ९८, तेमालमा ७८, रोशीमा २०३, महाभारतमा १६६, खानीखोलामा १३१ र बेथानचोक गाउँपालिकामा ११६ जना गरी ३ हजार २ सय ९० जना बालिकाहरुलाई खोप लगाईनेछ । २८ गतेसम्म चौरीदेउराली गाउँपालिकाले अभियान सम्पन्न गर्नेछ । पनौतीले माघ २५ देखि शुरु गरी २९ गत समापन गर्नेछ । पाँचखालमा २६–२९, धुलिखेलमा २७–२९, बनेपामा २७–फागुन २, मण्डनमा २८–२९, नमोबुद्ध २८–३०, भुम्लुमा २६–२८, तेमाल २८–फागुन १, रोशी २६–फागुन १, महाभारतमा फागुन ४–५, खानीखोलामा फागुन ५–७ र बेथानचोकमा माघ २८ देखि फागुन १ गतेसम्म खोप अभियान संचालन हुनेछ ।