भारतको बिहार राज्य अन्तर्गत मधुबनीमा ३१ जनवरीदेखि २ फेब्रुअरी २०२६ सम्म “विश्व खाद्य सुरक्षाका लागि जलवायु–स्मार्ट खेती” विषयक अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।
सम्मेलनका क्रममा बिहार राज्यका कृषि मन्त्री रामकृपाल यादवज्को करकमलबाट नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल सम्मानित हुनु भएको छ । उक्त सम्मान हरेक वर्ष कृषि तथा उद्योग क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका विशिष्ट उद्योगपतिहरूलाई प्रदान गरिँदै आएको प्रतिष्ठित सम्मान हो ।

एस.के. चौधरी शैक्षिक फाउन्डेसनद्वारा आयोजित यस अन्तर्राष्ट्रिय सम्मेलनमा २७ देशका कृषि, स्वास्थ्य तथा शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपालबाट पूर्व सचिव डा. योगेन्द्र कार्कीको नेतृत्वमा एक भ्रमण टोली सम्मेलनमा सहभागी भई अनुभव आदानप्रदान तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा सक्रिय छलफल गरिएको थियो ।
सम्मेलनले बदलिँदो जलवायु अवस्थामा पनि उत्पादन वृद्धि, किसानको आम्दानी सुरक्षित गर्ने उपाय र दीर्घकालीन खाद्य सुरक्षा सुनिश्चित गर्न जलवायु–स्मार्ट खेतीलाई नीतिगत र व्यवहारिक रूपमा अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।