स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले चिसोले गर्दा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियालगायत लक्षण भएका बिरामीको सङ्ख्या बढ्ने भएकाले चिसोमा बाहिर ननिस्कन अनुरोध गरेका हुन ।
जाडोयाम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीतलहर, हुस्सु, कुहिरो र हिमपात जस्ताले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मिया जस्ता लक्षण भएका बिरामीहरू बढ्ने गरेको भन्दै उनले चिसोका कारण देखिने समस्या रहिरहे वा बढेमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा हेलो स्वास्थ्य कल सेन्टर १११५ बाट परामर्श लिनसमेत अनुरोध गर्नुभएको छ ।
मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्कलगायत अङ्गमा गम्भीर असर पार्नाका साथै दम, क्यान्सरजस्ता दीर्घरोगको जोखिम र मृत्युदर बढाउने बताए । चिसोका कारण उत्पन्न हुन सक्ने लक्षण वा रोगलाई न्यून गर्न तथा लाग्न नदिन, धुवाँधुलोबाट बच्ने, पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने, भिटामिनसी पर्याप्त मात्रा भएका सुन्तला, कागती र अमला खाने, मौसम अनुसारको ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा ध्यान दिने र प्रशस्त मात्रामा झोल पदार्थ खाने गर्नुपर्ने हुन्छ ।