सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवद्र्धनमा सबै जुट्नुपर्ने बताएका छन । १३औँ राष्ट्रिय पोसाक दिवस तथा अन्तरराष्ट्रिय टोपी दिवस–२०८२ को अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले बिहिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले राष्ट्रिय पहिचानको प्रवद्र्धन अभियानलाई सरकारको साथ रहने बताएका हुन ।
मन्त्री खरेलले राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने र उत्सवको रुपमा दिवस मनाउने सन्दर्भमा आफू अभियानको साथमा रहेको बताए । नवजवान युवाहरुले विहे, व्रतवन्ध, भोज र औपचारिक कार्यक्रम तथा भव्य र सभ्य समारोहमा दौरा, सुरुवाल, कोट, टोपी, साडी, चोलो लगाएर कार्यक्रममा उपस्थित हुँदा राष्ट्रिय महत्व बढेको खरेलको भनाई थियो ।
प्रतिष्ठानका अध्यक्ष राजानन्द माण्डव्यले राष्ट्रिय झण्डा र राष्ट्रिय पोशाकको गरिमा र ओझ बढाउने कार्यमा सबै जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए । उनले २०७० सालमा नेपालको राष्ट्रिय औपचारिक पोशाकको माग गर्दै सुरु भएको पोशाक दिवस १३ बर्षमा प्रवेश गरेको बताए ।
कार्यक्रममा राष्ट्रिय झण्डाका पुनः ढाँचाकार वरिष्ठ इन्जिनियर शंकरनाथ रिमाल, नेपाल जेसिजका बर्ष २०२६ का अध्यक्ष जीवन कार्की, मिस नेपाल २०२५ कि ताज बिजेता लुना लुइँटेल, अन्तर्राष्ट्रिय टोपी अभियान्ता शंकर बन्जाडे, गीतकार लोकराज अधिकारी, शिक्षासेवी दीपक शर्मा, पत्रकार राजन नेपाल, पत्रकार भोजराज थापा, तेक्वान्दो रेफ्री दीपेन्द्र ढकाल, लेखिका अर्चना झा, आध्यात्मिक प्रवाचकहरु संजेलजी महाराज, दिपकिशोर भट्टराई, कबिन्द्र न्यौपाने(बामन)लगायतलाई विभिन्न बिधा अन्तर्गत अभिनन्दन गरिएको थियो ।








