३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने भएका छन । चक्रीय कोषमार्फत बचत फिर्ता गर्दा पाउने सहकारी पीडित बचतकर्ता करिब ३८ हजार छन् । सरकारले १ लाखसम्मका साना बचतकर्ताको रकम फिर्ता गर्दा ती बचतकर्ताले आफ्नो पूरै बचत रकम पाउने भएका हुन ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रस्ताव सहित चक्रीय कोषको परिकल्पना गरेको छ । उक्त कोषमा सरकारले २ अर्ब रुपैयाँ राख्ने र त्यसको परिचालन कार्यविधि मार्फत साना बचतकर्तालाई फिर्ता गर्ने प्रस्ताव मन्त्रालयले गरेको छ । सोही अनुसार मन्त्रालयले कार्यविधि तयार गरी अर्थ मन्त्रालयमा पठाएको छ । अर्थमा अध्ययन क्रममा रहेको उक्त कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि साना बचतकर्ताले रकम फिर्ता पाउनेछन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले तयार गरेको तथ्यांक अनुसार समस्याग्रस्त सहकारीका साना बचतकर्ताको संख्या ३७ हजार ८ सय ६ जना छ । उनीहरुले समस्याग्रस्त सहकारीमा जम्मा गरेको १ लाख रुपैयाँसम्म फिर्ता पाउनेछन् ।
समस्याग्रस्त सहकारी कार्यलयका अनुसार समस्याग्रस्त २० सहकारी संस्थाका १ लाखभन्दा थोरै बचत गर्ने ३७ हजार ८ सय ६ बचतकर्तालाई १ अर्ब ८६ करोड ८४ लाख ९६ हजार रुपैयाँ भुक्तानी दिनुपर्ने देखिएको छ । त्यसमध्ये ५ सहकारीमा १ लाखसम्म बचतकर्ता नै नभएको समितिको कार्यालयले जनाएको छ । प्रभु बचत तथा ऋण सहकारी संस्था, स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र भेगास बचत तथा ऋण सहकारी संस्थामा १ लाखसम्म बचत गर्ने बचतकर्ता नभएको कार्यालयले जनाएको छ ।
सरकारले १ लाखसम्म बचत भएका पीडितलाई मात्रै दिने गरी प्रक्रिया अघि बढाए पनि आन्दोलनरत सहकारी पीडितले त्यसमा सहमति जनाइसकेका छैनन् । सहकारी पीडित बचतकर्ता महासंघले भने सबै बचतकर्तालाई १ लाखसम्मको रकम फिर्ता दिनुपर्ने माग गर्दै आएको छ । समस्याग्रस्त कार्यलयका अनुसार शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा १ लाखसम्मको मात्रै बचत राख्ने बचतकर्ताको संख्या २० हजार ४ सय ८३ छ । उक्त संस्थामा साना बचतकर्ताको मात्रै ६९ करोड ७ लाख ३४ हजार रुपैयाँ बचत रहेको कार्यालयले जनाएको छ ।
त्यसैगरी आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीमा ८ हजार ७९ साना बचतकर्ता छन् । उक्त संस्थामा साना बचतकर्ताको मात्रै २७ करोड ३ लाख ४४ हजार छ । प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट कोअपरेटिभमा १ लाखसम्म बचत गर्नेको संख्या १५ छ भने सोसाइटल बचत तथा ऋण सहकारीमा १० जना छन् । त्यस्तै लुःनिभा बहुद्देश्यीय सहकारी संस्थामा २ जना, ओरेन्टल कोअपरेटिभमा ६ सय २८, पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभमा २ सय ६४, तुलसी बहुमुखी सहकारी संस्थामा ३ हजार ३ सय ७, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थामा ८ सय ३८, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्थामा १ हजार ९ सय ५, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा १ हजार ६ सय ७८, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थामा ३ सय २२, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्थामा ६ र नेपाल सहकारी वित्तीय संस्थामा २ सय ६९ जनाको १ लाखसम्मको बचत छ । सरकारले उक्त चक्रीय कोषमार्फत रकम फिर्ता गर्दा प्रदेशहरूमा रहेका समस्याग्रस्त सहकारीको समेत १ लाखसम्मका बचत फिर्ता गर्नुपर्ने हुन्छ । प्रदेश तथा स्थानीय तहमा समस्याग्रस्त घोषणा भएका सहकारीको समेत जोड्दा उक्त कोषबाट भुक्तानी दिनुपर्ने रकम २ अर्ब पनि थोरै हुने छ ।








