नेपाल डेरी एसोसिएसन कोशी प्रदेशको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनाल रहनु भएको थियो ।
विशिष्ट अतिथिका रूपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख पुष्पराज राईको उपस्थिति रहेको थियो। नेपाल डेरी एसोसिएसन केन्द्रको तर्फबाट मनोज यादव र योगेन्द्र चिमरियाले सहभागिता जनाउनु भएको थियो । कार्यक्रम सञ्चालन कोशी प्रदेशका उपाध्यक्ष गुरु प्रसाद दाहालले गर्नु भएको थियो । साधारण सभामा विभिन्न क्षेत्रबाट सम्मान प्रदान गरिएको थियो ।
नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशको आयोजनामा ‘दुग्ध क्षेत्रको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको प्यानल डिस्कसनमा दुग्ध क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे आ–आफ्ना धारणा राखेका छन् ।
कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रलाद दाहालले दुग्ध क्षेत्र देशको अर्थतन्त्र र ग्रामीण जीविकोपार्जनको महत्वपूर्ण आधार भए पनि पछिल्लो समय लागत वृद्धि, बजार अस्थिरता र नीतिगत अन्योलले उद्योग दबाबमा परेको बताए । पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरीयाले स्थानीय सरकार दुग्ध क्षेत्रको विकासप्रति संवेदनशील रहेको उल्लेख गर्दै महानगरपालिकाले सहुलियत, प्रवद्र्धन कार्यक्रम र सहकार्यका माध्यमबाट सहयोग गर्न सक्ने बताए । भेटनरी अस्पताल तथा पशुसेवा कार्यालय कास्कीका वरिष्ठ पशु विकास अधिकृत डा. गृष्म न्यौपानेले पशु स्वास्थ्य, गुणस्तरीय दूध उत्पादन र रोग नियन्त्रणमा चुनौती रहेको औंल्याए ।
नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशका अध्यक्ष शिवहरी आचार्यले गण्डकी प्रदेशमा दुग्ध क्षेत्रको ठूलो सम्भावना भए पनि आयातित दूध र प्रशोधित दुग्धजन्य पदार्थका कारण स्थानीय उद्योग प्रभावित भएको बताए । कार्यक्रमका सहजकर्ता तथा आर्थिक आवाजका सम्पादक सुरेन्द्र पौडेलले दुग्ध क्षेत्रका समस्या बहुआयामिक रहेको उल्लेख गर्दै समाधानका लागि सरकार, निजी क्षेत्र र किसानबीच समन्वय अपरिहार्य रहेको निष्कर्ष निकाले ।








