पनौती, पनौती नगरपालिका वडा नम्बर १० स्थित खोपासीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर निर्माण शुरु हुने भएको छ । जसका लागि तत्काल वागमती प्रदेश सरकारले यस आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरेको छ ।
नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा भृकुटी स्मृति प्रतिष्ठानको सहकार्यमा राष्ट्रिय विभूति राजकुमारी भृकुटीको जन्म कुर्पासी (खोपासी) मा भएको ऐतिहासिक तथ्य आधिकारिकरूपमा पुष्टि गरिएको छ । भृकुटी स्मृति प्रतिष्ठानले जन्मघरको पुरानो फोटोसहित पेश गरेको निवेदनअनुसार, पनौती नगरपालिका, वडानम्बर १० बाट माग भएअनुसार भृकुटी जन्मघर पुनर्निर्माणका लागि वागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयसँग तीन करोड माग गरिएको थियो । सो अनुरोधलाई मन्त्रालयको क्रमागत बहुवर्षीय योजना शीर्षकमा दर्ता भई आ.व. २०८२÷८३ को बजेटमा एक करोड विनियोजन भएको छ ।
प्रतिष्ठानको माग अनुसार, शहरी विकास तथा भवन कार्यालय, काभ्रेपलाञ्चोकको सहभागितामा पनौती नगरपालिकाको व्यवस्थापन सहयोगमा जनप्रतिनिधिहरू, इतिहासविद्हरू, संस्कृतिविद्हरू, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीेहरू, भौतिक पूर्वाधार विकास मन्त्रालयका सम्बद्ध निकायहरू, सम्बन्धित विज्ञ तथा पत्रकारहरूबीच शुक्रबार एक बृहत छलफल र गोष्ठी आयोजना गरिएको हो । कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले स्वागत गर्दै पनौती ऐतिहासिक शहर भएकाले यहाँ राष्ट्रिय विभूति भृकुटीको जन्मघर तथा भृकुटी पार्क निर्माण हुनु निकै गौरवको कुरा भएको बताउनुभयो । कार्यक्रममा भृकुटी स्मृति प्रतिष्ठानका अध्यक्ष विश्व उलकले भृकुटीको जीवनी र यससँग सम्बन्धित ऐतिहासिक प्रमाणहरुका बारेमा उल्लेख गर्नुभयो ।
यस्तै कृष्ण इञ्जिनियरिङ एण्ड डिजाइन कन्सल्टेन्सीका निर्देशक इञ्जिनियर पारस महतले भृकुटी जन्मघर र पार्क निर्माणका लागि लाग्ने खर्चका बारेमा जानकारी दिनुभयो । उहाँका अनुसार जन्मघर निर्माणका लागि १३ करोड ३९ लाख तथा पार्क र अन्य संरचना निर्माणको समग्र खर्च २५ करोड ५५ लाख लाग्नेछ ।








