नेपालमा कफी उत्पादन २८ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २१ औँ राष्ट्रिय कफी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा कफी उत्पादन वृद्धि भएको जानकारी दिएको हो ।
बोर्डका कृषि विकास अधिकृत गौरव लुईटेलले आर्थिक वर्ष २०८१÷८२ मा नेपालले ६ सय ४१ दशमलव ९ मेट्रिक टन ग्रीन बीन कफी उत्पादन भएको जानकारी दिए । उनकाअनुसार आर्थिक वर्ष २०८०÷८१ मा ५०१ दशमलब ३ मेट्रिक टन कफी उत्पादन भएको थियो । बोर्डका अनुशार पछिल्लो समय कफी रोपणको क्षेत्रमा पनि वृद्धि भएको छ । पछिल्लो ५ वर्षमा कफीको उत्पादन र कफी रोपण क्षेत्रमा पनि वृद्धि भईरहेको उहाँले बताउनु भयो । यद्यपि नेपालको मागअनुसार भने उत्पादन हुन नसकेको उनको भनाइ छ ।
उनले नेपालले कफी आयात र निर्यात दुवै गर्ने बताए । मंहगो कफी निर्यात गरेर सस्तो मूल्यको कफी आयात गर्ने गरेको उनको भनाइ छ । उनले आर्थिक वर्ष २०८१÷८२ मा नेपालले १४ करोड ४१ लाख रुपैयाँ बराबरको २३० मे.टन कफी आयात गरेको जानकारी दिए । सोही अवधिमा ११ करोड ४३ लाख रुपैयाँ बराबरको ६४ मे. टन कफी निर्यात भएको छ ।
बोर्डकाअनुसार नेपालमा कफी उत्पादन २०७०÷७१ को ४२९ मे.टनबाट २०८१÷८२ मा ६४१ दशमलव ९ मे.टन पुगेको छ । तर त्यही अवधिमा कफी आयात झनै तीव्र रूपमा बढेको देखिन्छ । २०८१÷८२ मा कफी आयात २३४ मे.टन रहँदा आयात मूल्य १४ करोड नाघेको छ । निर्यात भने अघिल्लो वर्षको तुलनामा घट्दै ६३ हजार ९९८ किलोमा झरेको छ । अघिल्लो वर्षमा ८८ हजार ८५६ किलो कफि निर्यात भएको थियो । बोर्डले अबदेखि लागू हुनेगरी कच्चा कफीको न्युनतम मूल्य पनि तोकेको छ । मूल्य गत वर्षकै दर कायम गरिएको हो । बोर्डकाअनुसार फ्रेस चेरी कफी ग्रेड ए को मूल्य प्रतिकेजी १०५ रुपैयाँ र ग्रेड बी को ९५ रुपैयाँ तोकिएको छ । पार्चमेन्ट कफीको भने ग्रेड ए को प्रति केजी ५३५ रुपैयाँ र ग्रेड बी को प्रति केजी ४८२ रुपैयाँ ताकिएको छ । ड्राइ चेरी कफीको ग्रेड ए को प्रतिकेजी २८० र ग्रेड बी को प्रति केजी २४७ रुपैयाँ तोकिएको बोर्डले जनाएको छ ।








