बनेपा, बनेपा नगरपालिकाले आर्थिक वर्ष २०८१/२०८२ मा सम्पादन गरेका सेवा प्रवाह सम्वन्धी कार्यक्रमहरुको शुक्रबार सार्वजनिक सुनुवाई गरेको छ ।
नगर प्रमुख शान्तिरत्न शाक्यले नागरिकहरुले उठाएका जिज्ञासाको सम्बोधन गर्दै नगरपालिकाको आन्तरिक श्रोतबाट नागरिकहरुका असिमित चाहना पुरा गर्न असहज भएको बताए । झनै भाद्र २३ र २४ गते भएको आन्दोलनका नाममा नगरपालिकाको प्रशासनीक भवन लगायत नगरपालिकाको इतिहास देखि संरक्षित संरचना तथा अन्य सामाग्री नस्ट भए पछि श्रोतको समेत अभाव हुने चिन्ता ब्यक्त गरे । नागरिकले उठाएको सडक, शिक्षा, खानेपानी, स्वास्थ्य, करिडोर तथा उद्योग ब्यवसायका सन्र्दभमा क्रमशः तत्कालिन र दीर्घकालिन रुपमा सम्बोधन गर्दै जाने शाक्यले बताए । बनेपा नगरपालिका प्रशासनिक भवन ध्वस्त भएसँगै वडा नम्वर १० को भवनमा अस्थायी संरचना निर्माण गरेर कार्यालय संचालन गरिरहेको छ । प्रदेश र संघ सरकार बजेट कटौती गर्ने, स्थानीय श्रोत संकलन हुन नसक्ने अनि नागरिकहरुले खोजे जस्तो सेवा कसरी सम्भव छ ? नगर प्रमुख शाक्यले भने–‘नागरिकहरुका हरेक समस्या सम्बोधन गर्न जनप्रतिनिधि र कर्मचारी निरन्तर सक्रिय छन् ।’
उपप्रमुख विमला सापकोटाले करिडोर निर्माणमा सर्वाेच्च अदालतले दिएको फैसला, स्थानीयहरुको चाहना र नगरपालिकाको सोचका बारेमा संयुक्त छलफल गरिने बताईन् । शिक्षाको गुणस्तरका लागि विद्यालय एकीकरण, स्वास्थ्य सेवामा प्रभावकारिताका लागि चिकित्सकिय ब्यवस्थापन, घर जग्गा ब्यवस्थापन, करको क्षेत्र र उद्योगी ब्यवसायीको समस्याको सम्बोधन गरिने उनले बताईन् । प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेले स्वागत सहित कार्यक्रमको आवश्यकता र नगरका गतिविधिका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिनाले गरेका थिए ।