यस वर्ष तिहार लक्षित गरी ३० करोड रुपैयाँभन्दा बढीको कुचोे किनबेच हुने आकलन गरिएको छ । विशेषगरी १ गते धनतेरस र आज लक्ष्मीपूजाको दिन कुचोको अत्यधिक व्यापार हुने गर्दछ ।
तिहारका बेला फूलमाला र माटोका पालाजस्तै कुचोको माग पनि अत्यधिक हुने गर्दछ । तिहारमा प्रयोग हुने झिलिमिली बत्ती, भाइमसला, पाला, फूलमाला र कुचोको माग अन्य समयको तुलनामा दोब्बर हुन्छ । तिहारका बेला मुख्य सहरहरूमा कुचोको माग उच्च हुने कारण कुचो व्यवसायीलाई यो समयमा बजार आपूर्ति धान्न हम्मेहम्मे पर्ने गरेको छ । नेपालमा मात्र नभई भारतीय बजारमा पनि तिहारको समयमा कुचोको माग उच्च हुने व्यवसायीहरू बताउँछन् ।
जेनजी आन्दोलनका कारण बजारमा सामानको सहज आपूर्ति नहुँदा ३० करोडभन्दा माथिको किनबेच लक्ष्य भेट्टाउन चुनौती रहेको नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले बताए । अध्यक्ष कार्कीका अनुसार देशव्यापी रूपमा ३० करोडभन्दा बढीको कुचो किनबेच अनुमान गरिए पनि काठमाडौं उपत्यकामा मात्रै ८ देखि १० करोड रुपैयाँ बराबरको खपत हुने आकलन छ । उनका अनुसार काभ्रे, काठमाडौं लगायत ठाउँमा व्यावसायिक रूपमा वर्षैभरि कुचो उत्पादन गर्ने कारखानामा उत्पादित कुचो र धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, दोलखाजस्ता पहाडी जिल्लाबाट बनेर आउने कुचोको समग्र कारोबार यो आँकडामा समेटिएको छ ।
कुचोको मूल्य कुचो संघले कुनै पनि बिक्री मूल्य तोक्ने नभई उपभोक्ताको हितलाई ध्यानमा राख्दै अधिकतम मूल्यका लागि आग्रह गर्ने गरेको छ । कारखानामा उत्पादित कुचोको उत्पादन लागत ४० देखि ४५ रुपैयाँ पर्ने गरेको छ । उत्पादन स्थलबाट बजारसम्म पु¥याउन हिँडाएर लानुपर्ने, ढुवानी खर्च तथा कुचो बेच्ने व्यक्तिहरूको ठूलो श्रम र मिहिनेत जोडिने भएकाले मूल्यमा भिन्नता आउने भएपनि चलनचल्तीमा आउने सबैभन्दा सानो कुचोलाई उपभोक्ताले अधिकतम ८० देखि १ सय रुपैयाँसम्ममा खरिद गर्न सक्छन् । बजारमा कुचोको साइज र प्रकार अनुसार २ सयदेखि २ सय ५० रुपैयाँसम्मका कुचो पनि उपलब्ध हुन्छन् ।